ठूलो ब्यानरका चलचित्रको प्रतीक्षामा फिल्म उद्योग

काठमाडौंको नयाँ बानेश्वर निकै ब्यस्त देखिन्छ । बिहान झिसमिसेमै तरकारी पसलेको भीड । दिन उज्यालिँदै जाँदा पसल खोल्न सुरु गरेका व्यापारी राति अबेरसम्म पसलमै देखिन्छन् । 

यो क्षेत्रको रेस्टुरेन्ट तथा होटल पनि राम्रैसँग चलिरहेका छन् । बानेश्वरमै रहेको आइप्लेक्स मलमा मानिसको चहलपहल बाक्लै छ । भीडभाडका कारण यहाँको सडक अस्तव्यस्त जस्तै देखिन्छ ।

पार्किङमा गाडी प्रशस्तै देखिन्छन् । हरेक पसलमा ग्राहकहरूको ओहोर-दोहोर चलिरहन्छ । तर, यही मलमा रहेको चलचित्र हल भने सुनसान छ । यो हल त एक प्रतिनिधि मात्रै हो । अहिले खुलेका भनेका सबैजसो हलहरूको अवस्था उस्तै छ । 

हल खुल्दै नखुलेका होइनन्, सरकारले पनि हल खोल्न अनुमति दिएको लामो समय भइसक्यो । हल सञ्चालकहरूले केही पुराना चलचित्र लगाएर दर्शक फर्काउने प्रयत्न गरे । पुराना फिल्म लगाएर ‘एक सो’ समेत चल्न सकेन । 

भुवन केसी, शिव श्रेष्ठलगायतका कलाकारले दसैंको अवसर पारेर नयाँ चलचित्र ‘डाँडाको वर पिपल’ लगाए । तर, दर्शकले सो चलचित्र पत्याएनन् । अहिले केही हिन्दी तथा अंग्रेजी सिनेमा लगाएर दर्शक फर्काउने प्रयत्नमा छन् हल सञ्चालक । निर्माता/निर्देशक आफ्नो नयाँ चलचित्र तत्काल प्रदर्शन गर्न तयार छैनन् । 

चलचित्रको अभावमा सिंगल थिएटरहरू चल्न सकेका छैनन् । मल्टिप्लेक्समा हिन्दी तथा अंग्रेजी सिनेमा लागे पनि दर्शकको संख्या अत्यन्तै कम रहेको चलचित्र विकास बोर्डका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईं बताउँछन् । 



नेपाली चलचित्र ‘डाँडाको वरपिपल’ महानायक विवादका कारण केही दर्शक हल पुगे पनि त्यसपछि लागेका हिन्दी तथा अंग्रेजी फिल्म हेर्न दर्शक हल तानिएका छैनन् । 

नेपाली फिल्म उद्योग चलायमान हुन अझैं केही समय लाग्ने गुरागाईं बताउँछन् । उनी भन्छन्, ‘उद्योग चलायमान हुनका लागि ठूलो ब्यानरका फिल्म चल्नुपर्छ । नेपाली फिल्म मेकरहरूले आफ्ना चलचित्र प्रदर्शन गर्ने आँट गरिरहनु भएको छैन । फिल्म उद्योग ठूलो फिल्मको प्रतिक्षामा छ ।’
 
चलचित्र रिलिजका लागि वातावरण क्रेट गर्न विकास बोर्ड लागि परेको गुरागाईं बताउँछन् । भन्छन्, ‘उद्योग चलायमान हुन फिल्म चलेर मात्रै पनि हुँदैन । दर्शक हालसम्म आउनुपर्यो । दर्शक हलमा आउन आफ्नो देशका सिनेमा हलमा लाग्नुपर्यो । विकास बोर्डले गर्ने भनेको हाम्रा हल सुरक्षित छन् है भनेर दर्शकलाई प्रत्याभूति दिन प्रचार गर्ने । त्यो काम भइरहेको छ ।’



तिहारमा बलिउड चलचित्र ‘सूर्यवंशी’ प्रदर्शन हुँदैछ । यो चलचित्रले उद्योग तताउला भन्ने प्रतिक्षामा चलचित्रकर्मी रहेका छन् । यो चलचित्रले दर्शक तान्ने धेरैले अपेक्षा गरेका छन् । तर, यसै भन्न सक्ने अवस्था भने छैन । चलचित्र प्रदर्शन गर्न चाहने निर्माता निर्देशकलाई विकास बोर्डले सहयोग गर्ने जनाइरहेको छ । तर, नेपाली फिल्म मेकरले फिल्म रिलिज गर्ने आँट गर्न नसकेको बोर्डका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत गुरागाईं बताउँछन् । 

फिल्म मेकरहरूले भने सरोकारवाला निकायले प्रयाप्त पहल नगरेका कारण फिल्म उद्योग चलायमान हुन नसकेको आरोप लगाउन छाडेका छैनन् । दसैँ–तिहारमा पनि रिलिज हुन नसकेका नेपाली चलचित्र हेर्न दर्शकले फागुनसम्म कुर्नुपर्ने छ । 

ठूलो बजेट र ठूलो ब्यानरका चलचित्रका निर्माता निर्देशकले जाडो सिजन छलेर रिलिज मिति लिने गरेका छन् । त्यसैले पनि तिहारसम्म रिलिज हुन नसकेका चलचित्र फागुनसम्म चल्ने सम्भावना नभएको वितरक तथा प्रदर्शकहरू बताउन थालेका छन् । 

ठूलो लगानीमा बनेका चलचित्र फागनुयता प्रदर्शन नहुने वितरक तथा प्रदर्शक गोपालकाजी कायस्थ बताउँछन् । ‘अहिलेको अवस्था हेर्दा तिहारमा चलचित्र रिलिज नहुने देखियो । तिहार सकिँदा जाडो सिजन सुरु हुन्छ,’ उनले भने, ‘जाडो चलचित्र रिलिजका लागि उपयुक्त समय मानिँदैन । त्यसैले फिल्म उद्योग चलायमान हुन समय लाग्ने देखियो ।’

जाडो सिजन चलचित्र रिलिजको लागि अफ सिजन भएकाले ठूलो बजेटमा बनेका फिल्म रिलिजको लागि आग्रह गर्न नसकिने उनको भनाइ छ । करोडौं लगानीमा निर्माण भएका आफ्नो चलचित्रमा जोखिम लिन नखोज्नु स्वभाविक रहेको कायस्थको बुझाइ छ । ‘आफ्नो लगानी सुरक्षित गर्न सबैले चाहन्छ । हामी भए पनि गर्ने त्यही नै हो । त्यसैले तपाईं चलचित्र रिलिज गर्नुस् भनेर भन्न पनि सकिन्न,’ उनले भने ।

जाडो सिजनमा बिहान–बेलुकाको सो मा दर्शक आउँदैनन् । दिउँसोको सो मा दर्शक कम हुन्छन् । यसो हुँदा ठूलो बजेटका सिनेमाको लगानी सुरक्षित गर्न नसकिने चलचित्र उद्यमीहरूको भनाइ छ । सानो ब्यानरका चलचित्रले दर्शक तान्न नसक्ने वितरक तथा हल सञ्चालकहरू बताउँछन् । 

फागनुपछि भने ठूला ब्यानरका चलचित्रले रिलिज मिति लिएर प्रचार सुरु भएको छ । चलचित्र ‘लप्पन छप्पन-२’ ले फागुन १३ गतेलाई रिलिज मिति तोकेको छ । यस्तै, ‘ए मेरो हजुर-४’ ले चैत २५ लाई रिलिज डेट पक्का गरेको छ । ‘चिसो मान्छे’ वैशाखमा रिलिज हुने भएको छ । 

‘म यस्तो गीत गाउँछु’, ‘प्रेम गीत’, ‘चपली हाइट’ लगायतका फिल्मका सिरिजहरूले अझै रिलिज मिति लिन सकेका छैनन् । चलेका निर्देशक खगेन्द्र लामिछाने माओत्से गुरुङलगायतका फिल्म मेकरले आफ्नो चलचित्र प्रदर्शनमा हतार नगर्ने बताउँदै आएका छन् । 

झण्डै २ वर्ष चलचित्र ‘होल्ड’ भइसकेका कारण पनि आफूहरू चलचित्र प्रदर्शन गर्न हतार नगर्ने निर्माता निर्देशक बताउँछन् । लामो समय करोडौं बजेट फ्रिज भएकाले पनि उपयुक्त समयअघि चलचित्र प्रदर्शनको जोखिम लिन नसक्ने उनीहरूको भनाइ छ । 

चलचित्र उद्योग चलायमान हुन समय लाग्ने देखेपछि छायांकन सकेर पोस्ट प्रोडक्सनमा रहेका चलचित्रले पनि काम सक्न हतार गरेका छैनन् । धेरै चलचित्र मेकरहरू आफ्नो फिल्मको घोषणा गरेर पनि फ्लोरमा निस्किएका छैनन् । प्रदर्शनका लागि यस अघि नै काम सकेर बसेका थुप्रै चलचित्र भएकाले पनि निर्माण प्रक्रियामा रहेका फिल्म मेकरले हतार गर्नुको अर्थ नरहेको निर्देशक दिनेश राउत बताउँछन् । 

सरकार र चलचित्र संघले आवश्यक पहल र सहयोग नगर्दा सिने उद्योगले गती लिन नसकेको उनको आरोप छ । चलचित्र विकास बोर्ड र चलचित्र संघले राम्रो सहयोग गरेर चलचित्र रिलिजको लागि पहल गर्नुपर्ने भए पनि त्यसो नगरेको राउतले बताए ।  

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ९:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया