टि-२० विश्वकप : लगातार तेस्रो जितको खाेजीमा अस्ट्रेलिया र इंग्ल्यान्ड

आइसिसी टि-२० विश्वकप सुपर १२ अन्तर्गत शनिबार समूह ‘१’का २ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सारजाह क्रिकेट मैदानमा हुनेछ ।

एक अर्का विरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य दोस्रो जित निकाल्नु हुनेछ । पहिलो खेलमा अस्ट्रेलियासँग ५ विकेटले पराजित दक्षिण अफ्रिकाले दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।

पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको श्रीलंका दोस्रो खेलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । 

यसअघि टि-२० विश्वकपमा यी दुईले ३ खेलमा एक अर्काको सामना गर्दा दक्षिण अफ्रिकाले २ र श्रीलंकाले १ खेल आफ्नो पक्षमा पारेका छन् ।

सन् २०१२ मा दक्षिण अफ्रिका ३२ रनले विजयी हुँदा २०१४ मा श्रीलंकाले ५ रनको जित हात पारेको थियो । सन् २०१६ को पछिल्लो भेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे हुने दोस्रो खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डकाे सामना गर्नेछ । 



एक अर्का विरुद्ध मैदान उत्रिँदा दुवै टोली लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछन् ।  
अस्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ तथा दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको थियो ।

इङ्ग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ तथा दोस्रो खेलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।



टि-२० विश्वकपमा यी दुईले २ खेलमा एक अर्काको सामना गर्दा अस्ट्रेलिया र इङ्ग्ल्यान्ड १-१ खेलमा विजयी भएका छन् ।

सन् २००७ मा अस्ट्रेलिया ८ तथा सन् २०१० मा इंग्ल्यान्ड ७ विकेटले विजयी भएका थिए ।  

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ८:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया