आइसिसी टि-२० विश्वकप सुपर १२ अन्तर्गत शनिबार समूह ‘१’का २ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सारजाह क्रिकेट मैदानमा हुनेछ ।
एक अर्का विरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य दोस्रो जित निकाल्नु हुनेछ । पहिलो खेलमा अस्ट्रेलियासँग ५ विकेटले पराजित दक्षिण अफ्रिकाले दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।
पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको श्रीलंका दोस्रो खेलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।
यसअघि टि-२० विश्वकपमा यी दुईले ३ खेलमा एक अर्काको सामना गर्दा दक्षिण अफ्रिकाले २ र श्रीलंकाले १ खेल आफ्नो पक्षमा पारेका छन् ।
सन् २०१२ मा दक्षिण अफ्रिका ३२ रनले विजयी हुँदा २०१४ मा श्रीलंकाले ५ रनको जित हात पारेको थियो । सन् २०१६ को पछिल्लो भेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो ।
प्लेयर्स टु वाच
एडेन मार्करम (दक्षिण अफ्रिका)
ओपनर मार्करमले जारी विश्वकपमा गजबको लय समातेका छन् । उनले सुरुवाती २ खेलमा ६२ बलको सामना गर्दा समान ५ चौका र छक्काको मद्दतले १ अर्धशतकसहित ९१ रन प्रहार गरेका छन् ।
मार्करमले अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा ३६ बलको सामना गर्दै ३ चौका र १ छक्कासहित ४० रन बनाएका थिए ।
वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा अर्धशतकिय पारी खेलेका मार्करमले २६ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ५१ रन बनाए ।
सुरुवाती २ खेलको लयलाई आज पनि कायम राख्न सके मार्करम श्रीलंकन बलरका लागि प्रमुख समस्या बन्न सक्छन् ।
मार्करमले दक्षिण अफ्रिका लागि १७ टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ५ अर्धशतकसहित ५१७ रन प्रहार गरेका छन् ।
चारिथ अस्लंका (श्रीलंका)
अलराउन्डर अस्लंका जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका छन् । उनले सुपर १२ को सुरुवाती २ खेलमा ८६ बलको सामना गर्दा ९ चौका र ६ छक्काको मद्दतमा १ अर्धशतकसहित ११५ रन प्रहार गरेका छन् ।
बंगलादेशविरुद्धको पहिलो खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएका अस्लंकाले ५९ बलको समान गर्दै समान ५ चौका र छक्कासहित ८० रन प्रहार गरेका थिए ।
अस्लंकाले अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा २७ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाए ।
अघिल्ला २ खेलमा जस्तै आफ्नो लय कायम राख्न सके अस्लंकालाई रोक्न दक्षिण अफ्रिकन बलरलाई मुस्किल पर्न सक्छ ।
अस्लंकाले श्रीलंकाका लागि ६ टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दा १ अर्धशतकसहित १८५ रन प्रहार गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।