एनआरएनलाई देउवाको प्रस्ट जवाफ : नेपाली नागरिकता तत्काल सम्भव छैन

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीको मागबमोजिम नेपाली नागरिकता दिन सम्भव नभएको बताएका छन् । एनआरएनको मागअनुसार नागरिकता दिन संविधान नै बदल्नुपर्ने भएकाले तत्काल सम्भव नभएको देउवाको भनाइ छ । 

शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । एनआरएनए युकेले नागरिकतालगायतको माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।

नेपाली दूतावास लन्डनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको र अरू सुविधा चाहिए दिन तयार रहेको बताए । 

अब नेपालबाटै भिसा लिन सकिने र अराभल भिसाको सुविधासमेत उपलब्ध गराइसकेको भन्दै उनले भिसाका लागि झन्झट गर्नु नपर्ने बताए ।उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।

एनआरएनए युकेले भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, विदेशमा रहेका नेपालीले मतदानमा भाग लिन पाउने व्यवस्था, लगानीमैत्री वातावरण र बेलायतमा नेपाली राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि ज्ञापनपत्रमा आग्रह गरेको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाकार कुल आचार्य, महासचिव डा.हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीलगायत उपस्थित थिए । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार २०:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया