नेकपा एमालेले मकवानपुरका आठ स्थानीय तहमा शनिबार अधिवेशन सम्पन्न गरेको छ । एमाले विभाजनपछि मकवानपुरमा पहिलोपटक अधिवेशन भएको हो । अधिवेशनबाट नेतृत्व तहमा पुगेका अधिकांश पुरानै अनुहार छन् । संस्थापन पक्ष हाबी भएकोे अधिवेशनले सबै पालिकाको नेतृत्व सर्वसम्मत टुंग्याएको छ ।
ओलीको प्रशंसामा शंकर पोखरेल
नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको अधिवेशन उद्घाटन गर्न आएका एमालेका स्थायी कमिटीका सदस्य शंकर पोखरेलले अधिकांश समय नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रशंसामा बिताए । उनले अध्यक्ष ओलीसँग देश विकास गर्ने नीति, नेतृत्व र योजना भएको दाबी गरे ।
ओलीकै कारण पाइपलाइनबाट पेट्रोलियम पदार्थ आएको, भारतले मिचेको भूमि फिर्ता ल्याउने कामको सुरुवात भएको, ओली सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा प्रकाशित गरेको र नेपालको संसदमा प्रस्तुत गरेर निशान छापमा सर्वसम्मत रुपमा पारित गर्ने काम गरेको बताए ।
नक्सा प्रकाशित र पारित गर्ने काम नेपालको इतिहासमा राष्ट्रियताको सवालमा शक्तिशाली कदम रहेको दाबी गर्दै त्यसको नेतृत्व ओलीले गरेको बताए । ओली सरकारकै पालामा पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाएर एसिएन हाइवेको रुपमा बनाउने प्रकियाको सुरुवात भएको, मदन भण्डारी लोकमार्ग, पुष्पलाल लोकमार्ग र हुलाकी राजमार्गको काम अघि बढेको बताए ।
एमाले एकताबद्ध : डोरमणि पौडेल
यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले एकताबद्ध ढंगले अगाडि बढेको बताएका छन् । शनिबार मकवानपुरगढी गाउँपालिकाको अधिवेशन उद्घाटन गर्दै उनले पार्टीबाट दुईजना गए पनि दुई सयजना थपिएको बताए । पार्टी फुटेको नभई पार्टीबाट नगन्य मान्छे अलग भएको भन्दै पौडेलले माधव नेपालप्रति कटाक्ष गरे ।
नेकपा एमाले कमजोर नभएको र मुलुककै सबैभन्दा शक्तिशाली पार्टी भएको समेत उनले बताए । बागमती एमाले सहइन्चार्ज समेत रहेका नेता पौडेलले पार्टी विभाजन गर्ने र पार्टीलाई यो अवस्थासम्म ल्याउनका लागि देशी–विदेशी प्रतिक्रियावादी शक्तिले नभई माधव नेपालले पार्टी टुक्र्याउने र सरकार ढाल्ने काम गरेको बताए ।
अधिकांश पुरानै नेतृत्व
नेकपा एमाले हेटौंडा उपमहानगरपालिको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन् । अधिवेशनले पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की, उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, नेकपा एमाले भीमफेदी गाउँपालिकाको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा सानु थापामगर चयन भएका छन् । यस्तै, उपाध्यक्षमा शिवराज पुडासैनी, सचिवमा शिव रुम्बा, उपसचिवमा काशिराम बज्यु र मंगलादेवी श्रेष्ठलगायत ५७ सदस्यीय कमिटी चयन गरेको हो ।
इन्द्रसरोवर गाउँपालिकाको अधिवेशनले देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनवीर स्याङ्तान, उपसचिवमा वैकुण्ठ थापा र उमा लामा चयन भएका छन् ।
राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । बिहीबार सम्पन्न अधिवेशनबाट राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भएका थिए । उनको नेतृत्वमा उपाध्यक्षमा रञ्जिता घलान, सचिवमा दिनेश चेपाङ, उपसचिवहरुमा सञ्चबहादुर चेपाङ र दिनेश वाइबा चयन भएका थिए । त्यस्तै, कैलाश एमालको अध्यक्षमा पुण्य भण्डारी चयन भएका छन् ।
शुक्रबार भएको पालिका अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्यीय पालिका कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्षमा छेकु लामा, सचिवमा राजकुमार गोले, उपसचिवहरुमा गौरी बर्तौला र ओमकुमार मोक्तान चयन भएका हुन् ।
अन्य पालिकाले भने आइतबार (भोलि)सम्ममा नेतृत्व टुंगो लगाउने एमाले मकवानपुरका जिल्ला सचिव एकलाल श्रेष्ठले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।