कोरोना महामारीपछि रोकिएको नेपाल-भारत मैत्रीबस सेवा पुनः सुचारु

दुई वर्षदेखि रोकिएको नेपाल-भारत मैत्रीबस सेवा आज (आइतवार)बाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः सुरु हुने भएको हो ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जानकारी दिए । दुई वर्षअघि सञ्चालनमा ल्याएको सो बस सेवा बन्द गर्नुपर्दा व्यावसायीलाई ठूलो नोक्सानी भएको उनले बताए । 

उनले यसबीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न सहर जाने यात्रीलाई मैत्रीबसले भरपर्दो र सुरक्षित सेवा दिने दाबी गरे । 

कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरि सो बस सेवा सुरु गर्न लागिएको उनले बताए । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राति ८ बजे छुट्ने छ । यसैगरी दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।

यस्तै, हरिद्वारका लागि नेपालगञ्जबाट राति ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ । लामो समयदेखि रोकिएको सो बस सेवा फेरि सुचारु भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।

रुपैडिहाबाट हरिद्वार र दिल्ली जाने नेपाली धेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल-भारत मैत्रीबस सेवाबाट ती ठाउँको यात्रा सुरक्षित र सहज हुने भेरी यातायात प्रालिले जनाएको छ । बस सेवा सुरु भएपछि दुबै देशबीच व्यापार व्यवसाय समेत बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।



उनले भने, ‘कोरोनाले थलिएको यातायात व्यवसायलाई मैत्री बस पुनः सञ्चालन हुँदा व्यवसायमा ठूलो प्रभाव पार्ने छ ।’ 

उनले यस सेवाले रुग्ण अवस्थामा रहेको व्यावसाय पुनः सञ्चालन हुने र गति लिने विश्वास व्यक्त गरे । 



-न्युज कारखाना
 

  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १२:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया