ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

आइतबार समाजवादी इन्जिनियरिङ एसोशिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताएका हुन् । 

नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको पनि आरोप लगाए । उनले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैलाई सोच्न आग्रह गरे ।

नेपालले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनको आरोप छ ।

‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दासुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरूले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, गफ,  यस्ता गफाडीहरूको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ,’ नेपालले भने, ‘नयाँ सोच, विचारको खाँचो छ,हामी यो देशलाई राम्रो दिशामा लैजान चाहन्छौँ, हाम्रो देश किन्न बन्न सकेन सोच्नुपर्छ । हामीले एजेण्डा बनाएर काम गरौँ, कहाँ हाम्रो समस्या छ, खोजौँ, काम गरौँ देश बनाऔँ ।’ 

उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान सुरु गर्नुपर्ने पनि बताए । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १९:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया