नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतसँग गरेको सेटिङको परिणाम स्वरुप न्यायालयमा अहिले विवाद देखिएको आरोप लगाएका छन् ।
आइतबार साँझ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग पौडेलले भने, ‘उहाँले हिजो अदालतमा सेटिङ गर्नुभएको थियो, अहिले त्यसैको प्रतिफल अदालतमा देखिरहेको छ ।’
ओलीले प्रधानन्यायाधीशसहित अरु न्यायाधीशलाई पनि कारबाही गर्नुपर्छ भन्नु गलत भएको उनले बताए । उनले भने, ‘जसमाथि प्रश्न उठेको हो, उसको विषयमा बोले हुन्छ । अरुमाथि प्रश्न उठाउनुको औचित्य छैन ।’
संसद् राम्रोसँग चल्न नपाएको र अदालत पनि विवादमा फसेको भन्दै उनले मुलुकको परिस्थिति असहज बन्दै गएको बताए । राजनीतिक पार्टीले के गर्ने भनेर गम्भीर भएर सोच्नुपर्ने र छलफल गर्नुपर्ने बेला आएको उनले बताए । उनले भने, ‘अब गठबन्धनमा होस् वा संसदमा होस्, अदालतको यही स्थिति रहिरहने हो भने हामीले सोच्नुपर्ने हुन्छ । हाम्रो पार्टी, गठबन्धन र प्रतिपक्षले पनि सोच्नुपर्ने कुरा हो ।’
नेता पौडेलले आगामी आमनिर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय अहिले नटुंगिएको पनि बताए । कांग्रेस आफ्नो शक्तिमा विश्वास गर्ने पार्टी भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।