नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्तव्यस्त अवस्थामा रहेको पार्टीलाई व्यवस्थित बनाउने आफूहरूको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
जनकपुरधाममा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्ताे बताएका हुन् ।
उनले भने,‘लोकतन्त्रमाथि समेत खतरा बढ्दै गइरहेको छ । अहिले मेरो पार्टी अस्तव्यस्त छ, पार्टी व्यवस्थित भए लगत्तै लोकतन्त्र पनि आफै व्यवस्थित हुँदै जान्छ ।’
पार्टीलाई व्यवस्थित बनाउनका लागि पुस्तान्तरणभन्दा पनि रूपान्तरणको आवश्यकता रहेको उनले बताए ।
‘पार्टीभित्र पुस्तान्तरणको चर्चा चलिरहेको छ तर अहिले आवश्यकता रूपान्तरणको हो । सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनु पर्दछ’,उनले भने, ‘पार्टीको सभापतिको जिम्मेवारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबण्डाको आधारमा दिइनु पर्छ ।’
वरिष्ठ नेता पौडेलले मंसिर २४ गतेभित्रै पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने दावी समेत गरे ।
नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङकाे आधारमा प्रधानमन्त्री नबनेको बताए । उनले देउवा संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको जिकिर गरे । यद्यपि सरकारले गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।
उनले भने,‘ सरकारले गति लिन सकेको छैन । सरकारले पूर्णता पाएको छ । विश्वास गरौं चाँडै नै कामले पनि गति लिन्छ ।’
वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने पनि बताए ।
न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।