९ दिनपछि गरे न्यायाधीशले मुद्दाको सुनुवाइ

सर्वोच्च अदालतका अधिकांश न्यायाधीश इजलासमा नबसिरहेका बेला न्यायाधीश कुमार रेग्मीको इजलास भने बसेको छ । रेग्मीको एकल इजलासले सार्वजनिक प्रतिरक्षक समाज नेपाल आबद्ध अधिवक्ता नवलकिशोर साहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । 

जिल्ला अदालत मकवानपुरले गरेको आदेशमा चित्त नबुझेपछि साहले सर्वोच्चमा यही ११ कात्तिकमा पुनरावेदन गरेका थिए । प्रहरी वृत्त तीनकुने बानेश्वरलाई विपक्षी बनाउँदै पुण्यराज गौतमको हकमा मेजुना शाहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा भने सुनुवाइ भइरहेको छ । 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुँडालसँगै डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलास भने बसेको छैन । 

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलास र न्यायाधीशहरू सपना मल्ल प्रधानसँगै डा. मनोजकुमार शर्मा रहेको संयुक्त इजलास पनि बस्न बाँकी छ । 

यसअघि गत बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलास बसेको थियो । त्यसबेला जबराले पाँच मुद्दाको सुनुवाइ गरेका थिए । सर्वोच्चमा गएको आइतबारदेखि न्याय सम्पादन प्रभावित बनेको हो । 

सहकर्मी न्यायाधीशहरूले जबराले निकास (राजीनामा) दिनुपर्ने माग गर्दै आएका छन् । न्यायपालिकाको गरिमामा क्षति पुग्नेगरी जबराले गतिविधि गरेकोलगायत आरोपको सामना गरिरहेका छन् । 



सोहीकारण निकास दिनुपर्ने पक्षमा उनीहरू छन् । उनीहरूले जबरालाई भेटेरै निकास दिन सुझाए पनि नदिने अडान राखेपछि अन्ततः न्यायाधीशहरू जबराले तोकेको इजलासमा बस्न मानिरहेका छैनन् । उनीहरूले इजलासलाई बहिस्कार गर्दै आएका छन् ।



  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १५:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया