यू–२३ एसियन कप छनोटमा नेपाली टोलीले दाेहाेर्‍याएका गल्ती

नेपाली यू–२३ टोली एसियन कप छनोट खेलेर स्वदेश फर्कंदै छ । टोली जितविहीन स्वदेश फर्कंन लागेको हो । यो संस्करणमा पनि नेपालले एउटा म्याचमा पनि गोल गर्न सकेन । 

यसपालि पनि प्रतियोगितामा नेपालको पुरानो रोग अर्थात् अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्न नसक्ने स्थिति दाेहाेरियो। नेपालले एसियन कप छनोट खेल्नुअघि इन्डोनेसिया यू–२३ सँग मैत्रीपूर्ण म्याच खेलेको थियो । जहाँ नेपाल २–० गोल अन्तरले पराजित भयो ।  

एसियन कप छनोटको पहिलो खेलमा नेपालले इरानसँग ४–० को हार बेहोर्‍यो । दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानविरुद्ध नेपाल ६–० ले पराजित हुन पुग्यो । लगातार पराजय भएको नेपाल अन्तिम खेलमा लेबनानसँग ४–० ले हार्‍यो ।

पहिलो हारपछि कप्तान अपर्ण कार्की र प्रशिक्षक बालगोपाल महर्जनले कमजोरी औंल्याएका थिए । तर, ती कमजोरी दोस्रो खेलमा बढी देखिए ।  

कप्तानले औंल्याएका गल्ती 

कप्तान अर्पण कार्कीले पहिलो खेलमा इरानसँगको हारपछि एक भिडियोमार्फत आफ्नो गल्ती औंल्याएका थिए ।



‘इरानविरुद्धको पहिलो हाफमा शून्यको बराबरीमा खेल राम्रै चलेको थियो । त्यसपछि भने दोश्रो हाफमा नेपालले सुरुवाती मिनेटमा नै गोल खान पुगेको थियो,’ उनले भनेका छन्, ‘दोस्रो हाफमा राम्रो समन्वय हुन सकेन । जसकारण हामी फर्कंन सकेनौँ ।’ पहिलो खेलमा हारको सामना गरे पनि दोस्रो खेलबाट नेपाली टोली लयमा फर्कंने सोचमा थियो । तर दोस्रो र तेस्रो खेलमा पनि पहिलो खेलकै गल्ती दोहोरिए । 

यसपालि सिनियर टिमका केही खेलाडी पनि यू-२३ खेल्न ताजिकिस्तान गएका थिए । तर, उनीहरू कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।  



प्रशिक्षकले औंल्याएका गल्ती

पहिलो खेलमा हारको सामना गरेपछि प्रशिक्षक बालगोपाल महर्जनले टिमको कमजोर पक्ष औंल्याएका थिए । ‘इरानको टोली एसियाको मात्रै नभइ विश्वकै उत्कृष्ट हो । त्यस्तो टोलीलाई पनि हामीले पहिलो हाफमा गोलरहित बराबरीमा रोक्यौँ,’ महर्जनले भनेका थिए । 

उनले मैत्रीपूर्ण खेल, क्याम्पको अवधि बढी र तयारी पर्याप्त भएको भए यो प्रतियोगितामा थप उत्कृष्ट गर्ने मौका रहेको समेत बताएका थिए । उनले भनेको केही कुरा खेलाडीको प्रदर्शनमा पनि देखियो । लामो समयदेखि ठूलो प्रतियोगिता नखेलेका नेपाली खेलाडी लयमा देखिएनन् । 

विगतको नतिजा हेरेर अहिले नेपाली टोलीले मिडफिल्डमा बल होल्ड गरेर नेपाली यू–२३ का खेलाडीमा पनि आक्रमण गर्नसक्ने क्षमता बढेको प्रशिक्षक महर्जनले बताए ।  

विश्लेषकको विश्लेषण
                                                           
नेपाली टोलीले म्याच खेल्नुअघि पर्याप्त तयारी गरेको पाइँदैन । यो समस्या यसपालि पनि दोहोरियो । का फुटबल विश्लेषक सञ्जीव मिश्र पनि यो कुरा स्वीकार गर्छन् । 

एन्फा लिग कमिटीका सदस्य समेत रहेका फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘नेपाली टोलीले तयारी एकदमै कम गरेको हुन्छ, जसकारण पनि नतिजा सोचेअनुरूप आउँदैन । पर्याप्त अभ्यास र मैत्रीपूर्ण म्याच खेलेर ठूला प्रतियोगिता खेलेमा नतिजा पनि राम्रो आउँछ ।’

एसियाको राम्रो टोली प्रतिस्पर्धीको रूपमा पाएका कारण नेपालका लागि कम तयारी घातक बनेको उनले बताए । नेपालले यू–१६ मा राम्रो प्रदर्शन गर्दै आएको छ । सिनियर टोलीमा पनि नेपालको प्रदर्शन सन्तोषजनक छ । तर, यू–२३ मा भने नेपालले सोचे अनुरूप प्रदर्शन गर्न गरिहेको छैन ।

‘खेलाडीले यू–१६ मा राम्रो प्रदर्शन गर्छन् । नेपालको सिनियर टोलीले पनि पनि राम्रो प्रदर्शन गर्दै आएको छ । तर यू–२३ टोलीको इतिहास हेर्ने हो भने पनि खासै राम्रो प्रदर्शन छैन,’ मिश्रले भने ।  

उमेर समूहको छुट्टै प्रतियोगिता नहुँदा पनि यू–२३ टोलीको प्रदर्शन कमजोर हुनु हो । ‘राष्ट्रिय टोलीमा परेका र उमेर समूहमा खेलेका खेलाडीलाई मिलाएर टोली बनाइएको हुन्छ । जसकारण टिममा समन्वय गर्न समस्या भइरहेको हुन्छ,’ मिश्रले भने ।

उनले एसियन कप छनोटमा प्रशिक्षक महर्जन केही कुरामा चुकेको पनि बताए । प्रशिक्षकले कुन समयमा को खेलाडी उपयुक्त हुन्छ भन्ने कुरामा सही छनोट नगर्दा पनि नेपाल यू–२३ टोलीको प्रदर्शन कमजोर रहेको मिश्रले बताए ।

‘प्रशिक्षकले विपक्षी हेरेर कुन खेलाडीलाई कति बेला मैदानमा उतार्दा ठीक हुन्छ त्यो विश्लेषण गरेर खेलाडीलाई खेलाउनुपर्छ, बाल गोपाल महर्जन यो कुरामा केही चुकेको देखिए,’ उनले भने ।  

यो प्रतियोगितामा कप्तान तथा गोलरक्षकको जिम्मेवारी पाएका अर्पण कार्कीबारे पनि विश्लेषक मिश्रले प्रतिक्रिया दिए । उनी एसियन कप छनोटको केही खेलमा अर्पणको स्थानमा अर्को गोलरक्षकलाई जिम्मेवारी नदिइएकोमा सन्तुष्ट छैनन् । 

‘यो कुरामा प्रशिक्षकले ध्यान दिनुपर्छ । ताजिकिस्तानसँगको खेलमा अर्पणले ६ गोल बेहोर्न पुगे । यस अवस्थामा गोलरक्षक परिवर्तन गर्नसक्ने क्षमता प्रशिक्षकले राख्नुपर्ने थियो, ’ मिश्रले भने, ‘खेलाडीको मनोविज्ञानले खेलमा निकै फरक पार्छ, अर्पणले अहिले १४ गोल खाएका छन् । के थाहा अर्को गोलरक्षकलाई मौका दिएको भए, उनले राम्रो खेल्थे कि?,’

कुनै खेलाडीले कमजोर प्रदर्शन गरे उसलाई केही समय विश्राम दिनुपर्ने खेल विश्लेषक तथा खेलाडीले बताउँदै आएका छन् । यस्तो भएमा खेलाडीबीच पनि प्रतिस्पर्धा हुने गर्छ ।  

‘खेलमा र खेलाडीमा जहिले पनि प्रतिस्पर्धा हुनु पर्दछ । यस्तो भएमा नयाँ खेलाडीको आगमन र टोलीको संरचनामा समेत सुधार हुने गर्छ,’ मिश्रले भने । 

  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १६:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया