यसरी खुल्यो राजेन्द्र राईलाई मुख्यमन्त्री बन्ने बाटाे, २ बजे शपथ

मंगलबार दिउँसोबाट प्रदेश–१ सरकारको नेतृत्व राजेन्द्र राईले गर्दैछन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गरेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् ।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले मंगलबार २ बजेका लागि सपथ खुवाउने कार्यतालिका सार्वजनिक गरेको छ । 

नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेसँगै राई बुहमतका आधारमा मुख्यमन्त्री बन्दै प्रदेश १ सरकारको नेतृत्व गर्ने छन् । 

मन्त्री बाँडफाँडका बिषयमा गठबन्धनको बैठक चल्दै 

प्रदेश–१ मा नयाँ सरकार बनेसँगै नयाँ मन्त्रिपरिषद गठनका विषयमा गठबन्धन आन्तरिक तयारीमा जुटेका छन् । 



आज २ बजेलाई प्रदेश प्रमुखको कार्यालयले सपथ खुवाउने कार्यक्रम तय भएपछि  प्रदेश १ मा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गठबन्धनका दलहरुले गरेका छन् ।

यसका लागि बैठक भइरहेको नेताहरुले बताएका छन् । गठबन्धन दल जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले कम्तिमा गठबन्धनका तर्फबाट एक एक जना मन्त्रीलाई सपथ खुवाउने तयारी भएको छ । 



तर अहिलेसम्म कस कसलाई सरकारमा पठाउने विषयमा कुरा मिलिनसकेको यादवले बताए । 

उनका अनुसार जसपाबाट भने उनी सरकारमा जाने छन् । तर कुन मन्त्रालयमा जसपाको भागमा पर्ने भन्ने छिनोफानो भइसकेको छैन ।

ठूला दलमा मन्त्री कस–कसलाई बनाउने भन्ने विषय पेचिलो रहेकाले टुंगोमा पुग्न नसकेको हो । 

स्रोतका अनुसार कांग्रेस भने उपनेता हिमाल कार्कीको नेतृत्वमा सरकार जाने तयारीमा छ । 

स्रोतका अनुसार मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु र सरिता थापामध्येबाट मन्त्रीका रुपमा अघि सारिएको छ । 

त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाँई, सूर्यराज राई र शेखरचन्द्र थापाको नाम चर्चामा छ। उनीहरू मध्येबाटै मन्त्री चयन हुने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट दलका नेता इन्द्र आङ्बो पुनः मन्त्री बन्ने तयारीमा रहेका छन् । 

प्रदेश–१ को आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका आङ्बोले भरसक आफू सरकारमा सहभागी नहुने बताउँदै आएका थिए । तर दलको तर्फबाट उनकै नाम अघि सारिएको जनाइएको छ ।

माओवादीबाट रामकुमार राई, झलकबहादुर मगर, उमिता विश्वकर्मा र सीता थेबे मध्येबाट मन्त्री बन्ने छन् । 
 
मन्त्रीको नाम अन्तिम टुंगो लगाउन अहिले १२ बजे संसदीय दलको बैठक बस्ने माओवादीका प्रदेशसभा सदस्य कुसुम श्रेष्ठले जानकारी दिइन् । 

जनता समाजवादीबाट दलका नेता जयराम यादव भने सर्वसम्मत जस्तै छन्। उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफ्नो रोजाइएको मन्त्रालय भएको बताइसकेका छन् । तर गठबन्धनभित्र सहमति हुन बाँकी रहेकोले उनको मन्त्रालय कुन भन्ने यकिन भएको छैन । 

गठबन्धनको सबैभन्दा सानो दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फेले आफू फुलमन्त्री बन्ने बताएकी छन् । तर गठबन्धनभित्र भने उनलाई राज्यमन्त्री दिने तयारी रहेको जनाइएको छ ।

यस्तो छ मुख्यमन्त्रीको राजनीतिक यात्रा 

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका राजेन्द्र राई भोजपुरबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका राजेन्द्र अनेरास्ववियूको दुई कार्यकाल अध्यक्ष भए ।

उनी ५६ देखि ५९ र ५९ देखि ६१ सालसम्म अनेरास्ववियूको २ कार्याकाल अध्यक्ष भएका थिए ।

उनी पहिलो पटक एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भए । उनले वैकल्पिक केन्द्रीय सदस्यको शपथ नलिने भन्दै सपथ कार्यक्रममा गएनन् । 

एमालेको बुटबल नवौ महाधिवेसनमा राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भए ।
एमाले नेता माधव नेपाल निकट रहेका राजेन्द्र राईलाई भिम आचार्य र शेरधन राईका बिचमा मुख्यमन्त्रीको रुपमा प्रतिस्पर्धा हुँदा विकल्पको रुपमा हेरिएको थियो ।

उनले प्रदेशसभाको निर्वाचन जितेसँगै आफू मुख्यमन्त्रीका लागि योग्य रहेको बताएका थिए ।

तर उनलाई त्यो बेला मुख्यमन्त्री बन्न भिम आचार्यले छेके । माधव झलनाथ गुटका नेताका रुपमा रहेका भिम आचार्य संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा राजेन्द्र राईले भिम आचार्यको काँध थापे ।

भिम आचार्य शेरधन राईसँग २ मतले संसदीय दलको नेतामा पराजित भएपछि एमालेको तर्फबाट शेरधन राई मुख्यमन्त्री बने ।

एउटै जिल्लाका शेरधनसँग राजेन्द्रको भने सम्बन्ध राम्रो भएन । जहिलै प्रतिस्पर्धीको रुपमा रहेका राजेन्द्रले बिचमा पनि शेरधन राई नेतृत्वको सरकार ढलाउन प्रयास गरे ।

तर त्यो बेला पनि उनले भिम आचार्यलाई मुख्यमन्त्री बनाउन उनको जोड बल थियो ।

तर एमालेमा भएको १० बुँदे सहमतिसँगै भिम आचार्य एमालेमा बसे भने राजेन्द्र राईले समाजवादी रोजे । भिम आचार्य एमालेमा रहेर अल्पमतमा परेसँगै राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १२:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया