स्मार्ट सिटीको आशामा बसेका जनकपुरधामबासी दीपावलीको पूर्वसन्ध्यामा पनि नगरक्षेत्रभित्रको दुर्गन्धले आजित बनेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगरक्षेत्र दुर्गन्धित बन्दै गइरहेको हो ।
फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि व्यापारीले आफ्नो पसलबाट निस्कने फोहोर सडक किनारमा फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहोरसमेत उपमहानगरले नउठाउँदा दीपावलीमा समेत समस्या बढेको हो ।
जनकपुरधामको प्रमुख चोकहरू पुरानो बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पुलचोकसहितका स्थानहरूमा फोहोर व्यवस्थापन नहुँदा शहर कुरूप देखिन थालिएको छ ।
जनकपुरधाम उपमहागरपालिकाले सरसफाइमा ध्यान नदिएकाले शहर कुरूप बनेको स्थानीय युवा सरोज मिश्रले बताए । उनले भने, ‘शहरको सन्दरतासँग मेयर साहबलाई कुनै मतलब छैन, उहाँ त कमिसनमै व्यस्त र मस्त हुनुहुन्छ । बस र जेसिबी किन्न पैसा छ तर नगरलाई सुन्दर बनाउने कुनै योजना नै छैन ।’
बर्साैँदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आए पनि सुनुवाइ भने अहिलेसम्म पनि भएको छैन । स्थानीय बासिन्दाले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
स्मार्ट सिटीको परिकल्पना गरेको जनकपुरधाम बजारमा दुर्गन्ध बढ्दै गएको भएपनि उपमहानगरपालिकाको ध्यान नगएको बताउँदै अर्का स्थानीय रमेश साहले भने,‘चुनाव जितेपछि मेयर साहबले स्मार्ट सिटी बनाउँछु भन्थे जनकपुरलाई । तर, अहिले यो शहर फोहोरको सिटी बन्दै गइरहेको छ ।’
नगरप्रमुख लालकिशोर साहको ढिलासुस्तीको कारण दीपावलीको पूर्वसन्ध्यामा पनि जनकपुरधाम नगरक्षेत्रको फोहोर उठ्न नसकेको स्थानीय बताउँछन् ।
सर्वसाधारणले दीपावलीमा आफ्नो घर, आँगन, सडकलगायत सरसफाइ गर्छन् तर जनकपुरधाम उपमहानगरपालिकाले अहिले सडकबाट फोहोर मैला नउठाउँदा नगर क्षेत्र नै दुर्गन्धित बनेको छ । उपमहानगरले फोहोर नउठ्दा प्रदेशको राजधानीकै चोक चोकमा थुप्रो जम्मा भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइको नाममा लाखौँ खर्च गरे पनि नगरक्षेत्र भने दिनदिनै दुर्गन्धित बन्दै गइरहेको छ । जबकी उपमहानगरमा सरसफाइ शाखामै ६ जना कर्मचारी तथा प्रत्येक वडामा २ जना गरी २५ वटै वडामा ५० जना र उपमहानगरको मातहतमा ६० जना गरी कुल ११० जना सरसफाइकर्मी कार्यरत छन् ।
उनीहरूले मासिक २१ हजार रुपैयाँ तलब उठाउँछन् । यस हिसाबले सरसफाइकर्मीको तलबमै उपमहानगरले मासिक २३ लाख १० हजार रुपैयाँ नगरबासीले तिरेको करको पैसा खर्च गरिरहेको छ ।
उपमहानगरले सरसफाइका लागि ट्रयाक्टर ४ थान, टिपर ४ थान, डोजर २ थान, सानो भ्यान २ थान र ब्रुमर १ थान गरि कुल १४ वटा गाडी खरिद गरे पनि नगरभित्र नघुमाइ अतिथि गृहमा थन्काएर राखेको छ ।
उपमहानगरले आर्थिक वर्ष २०७६/७७ मा तिहार, छठ र विवाहपञ्चमीको लागि विशेष सरसफाइको नाउँमा २० लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई दिएको महालेखापरीक्षकको प्रतिवेदनमा नै उल्लेख रहेको देखिन्छ ।
यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले आफूले फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकासँग ट्याक्टर माग गर्दा पनि नदिएको बताइन् ।
जनकपुरधाममा च्याउझैँ सञ्चालन गरिएका औषधि पसलहरूले समेत सरसफाइ अभियानलाई चुनौती दिँदै सहर कुरूप हुने गरी फोहोर जथाभावी फाल्दा नगरक्षेत्रभित्र दुर्गन्ध फैलाउन थालेका छन् ।
प्रादेशिक अस्पताल रोडमै औषधि पसल र क्लिनिकबाट निस्किएका मेडिकलजन्य फोहोर र सिरिन्ज जथाभावी रूपमा फालिएका देखिन्छन् ।
यहाँका औषधि पसल, निजी क्लिनिक र अस्पतालहरूले प्रयोगमा ल्याइसकेका मेडिकलजन्य फोहोर जथाभावीबीच सडकमै फाल्दै आएकोले सडक भएर हिँड्ने यात्रु बढी मारमा परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा उदासिनता देखाएको नगरवासीको गुनासो छ । नगरमा फोहोर गर्नेलाई कारबाही गरी फोहोर व्यवस्थापनमा सक्रिय हुने उद्घोष गरेको उपमहानगरपालिका भने विगतदेखि नै उदासिन बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।