बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आउँदो २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासको मत लिने समय भए पनि उनले कात्तिक २२ गते नै विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइसकिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
भागबन्डा मिलाउन जम्बो मन्त्रिपरिषद् गठनको तयारी
मुख्यमन्त्री पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने तयारी गरेका छन् । हाल प्रदेशमा रहेका आठवटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्याउने तयारी गरेका हुन् । अहिले बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १–१ जना मन्त्री बनेका छन् ।
साढे ३ वर्षसम्म डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाउँदै आएकोमा मुख्यमन्त्री शाक्यले ८ मन्त्री र ४ राज्यमन्त्री गरी १२ सदस्यीय मन्त्रिपरिषद् बनाएकी थिइन् । तर, पाण्डेले भागबन्डा मिलाउनकै लागि त्योभन्दा ठूलो मन्त्रिपरिषद् बनाउने तयारी गरेको नेकपा (एकीकृत समाजवादी)का एक सांसदले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका ४ दललाई भाग पुर्याउन आठ मन्त्रालयलाई फुटाएर १३ वटा बनाउने तयारी गरेका छन् भने । त्यति मात्र नभएर राज्यमन्त्री छुट्टै हुने ती सांसद बताउँछन् । यो विषयमा बुझ्ना खोज्दन मुख्यमन्त्री पाण्डेले आवश्यकताअनुसार मन्त्रिपरिषद् विस्तार हुने भन्दै खासै प्रतिक्रिया दिन चाहेनन् ।
सत्तारुढमध्ये सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले गठबन्धनमा मन्त्री बन्ने आंकाक्षी धेरै भएको स्वीकार गरे । उनले दैनिक नेताहरुको घरमा प्रदेशसभा सदस्यहरुको दबाब बढिरहेको पनि बताए । मुख्यमन्त्री पाण्डेनिकट एक सांसदका अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५–५ मन्त्री पाउने सम्भावना छ भने समाजवादीले मुख्यमन्त्रीसहित ३ जना मन्त्री पाउने गरी छलफल भइरहेको छ । जसअनुसार कांग्रेस र माओवादीबाट थप ४–४ जना र समाजवादीबाट १ जना मन्त्री बन्ने भएका छन् ।
२२ गते विश्वासको मत लिनेबित्तिकै प्रदेशमा मन्त्रालयको संख्या १२ वटा पुर्याउने तयारी गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।