मनोमानी शुल्क लिँदै विदेशी सम्बन्धन प्राप्त कलेज

नेपालको निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनका लागि सोच्दै हुनुहुन्छ ? सोच्न त सोच्नुहोस्, एक पटक होइन्, कैयौं पटक सोच्नुपर्ने अवस्था आउन सक्छ । किनकि निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाको शुल्क नै निकै चर्को छ । त्यसमा पनि मनोमानी शुल्क लिने गरेका छन् । 

सरकारी शिक्षण संस्थामा एक किसिमको शुल्क तोकिएको हुन्छ । तर निजी शिक्षण संस्थाले भने जो कोहीले पढ्नै नसक्ने गरी शुल्क लिइरहेका हुन्छन् । त्यसमा अझ विदेशी विश्वविद्यालयबाट सञ्चालित शिक्षण संस्थाले त विदेशकै बराबर शुल्क लिने गरेका छन् । 

निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाको तुलनामा विदेशी विश्वविद्यालयबाट सञ्चालित शिक्षण संस्थाले दोब्बर तेब्बर शुल्क लिने गरेका छन् । उनीहरूलाई कति शुल्क लिन पाउने भन्ने विषय सरकारले समेत मापदण्ड बनाएको देखिँदैन । 

जसले गर्दा उनीहरूले आफ्नै ढंगले शुल्क लिने गरेका छन् । शुल्क विश्वविद्यालयकै आधारमा लिने गरेका छन् । तर, त्यही अनुसारको गुणस्तरीय शिक्षा भने प्रदान गर्न सकिरहेका छैनन् ।

हामीले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्था र नेपाली विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाले लिने शुल्कको तुलना गरेका छौं । 

इस्लिङ्टन कलेज 



बेलायतमा रहेको लण्डन मेट्रोपोलिटेन विश्वविद्यालयबाट सम्बन्धन लिएको इस्लिङ्टन कलेजले स्नातक तह र स्नातकोत्तर तहमा आईटी र बीबीएका कक्षाहरू सञ्चानल गर्दै आएको छ । यस कलेजले बीबीए अन्तर्गतका कार्यक्रमहरू साँढे तीन वर्षे कोर्स अन्तर्गत चलाइरहेको छ भने आईटीका कक्षाहरू तीन वर्षे कार्यक्रम अन्तर्गत चलाइरहेको छ । 

आईटी अन्तर्गत बिएस्सी (अनर्स) कम्प्युटिङ, बिएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी तथा बिएस्सी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी अन्तर्गतका कोर्षहरूको लागि तीन वर्षको १३ लाख ३८ हजार शुल्क लिने गरेको छ भने बिएस्सी (अनर्स) मोबाइल एप्लिकेशन डेभलपमेन्ट र बिएस्सी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्सका लागि १४ लाख ३४ हजार शुल्क तोकिएको छ । 



त्यस्तै बिबिएतर्फ १३ लाख ३७ हजार शुल्क तोकिएको छ भने दुई वर्षे एमएस्सी आईटीका लागि साढे ६ लाख शुल्क तोकिएको छ । 

यस कलेजले स्नातकोत्तरमा दुई विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने गरेको छ भने स्नातक तह अन्तर्गतका कार्यक्रमका लागि १० प्रतिशत छात्रवृत्ति दिने गरेको कलेजले जनाएको छ । 

अन्य कलेजको तुलनामा दोब्बरी बढी शुल्क लिइरहेको यस कलेजले विद्यार्थीहरूलाई भने सतप्रतिशत जागिरको ग्यारेन्टी गर्दै आएको छ । तर, कैयौं विद्यार्थीहरू भने अझै पनि जागिर नपाएर बेरोजगार बस्नु परिरहेको छ । 

एलबीईएफ कलेज  

मलेसियाको ए.पी.यू. विश्वविद्यालय (एसियन प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन) बाट सम्बन्धन प्राप्त कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशन (एलबीईएफ कलेज) ले तीन वर्षे (६ सेमेस्टर) बीबीएम (बीए अनर्स बिजनेस म्यानेजमेन्ट) को ७ लाख २४ हजार शुल्क लिन्छ । त्यस्तै बीबीएम ई–बिजनेशको पनि ७ लाख २४ हजार नै शुल्क तोकिएको छ ।  

तीन वर्षे बिएस्सी आईटीका लागि भने ८ लाख २३ हजार शुल्क तोकिएको छ ।  बिएस्सी आईटी विथ स्पेशियलिज्म इन नेटवर्क कम्प्युटिङ र बिएस्सी आईटी विथ स्पेशियलिज्म इन क्लाउड कम्प्युटिङको लागि भने ९ लाख २९ हजार शुल्क तोकिएको छ । यी सबै १२३ क्रेडिट आवर छुट्याइएको छ । 

त्यस्तै दुई वर्षे (चार सेमेस्टर) एबीएको ५ लाख २६ हजार शुल्क तोकिएको छ । त्यस्तै दुई वर्षे एमस्सी आईटीएमको लागि लाख ६१ हजार शुल्क तोकिएको छ । यस कलेजले पनि विद्यार्थीहरूसँग सतप्रतिशत रोजगार ग्यारेन्टी गर्ने गरेको छ । नयाँ भर्ना हुन आउने विद्यार्थीहरूलाई पढाई सकिने बित्तिकै रोजगारी पाउने भन्दै विद्यार्थीहरूलाई झुठा आश्वासन दिने गरेको छ । 

सफ्टावेरिका कलेज  

युकेको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सले बिएसी (अनर्स) कम्प्युटिङ र बिएस्सी (अनर्स) इन इथिकल ह्याकिङ एण्ड साईबरसेक्यूरिटीका कोर्सहरू पढाउँदै आएको छ । 

उक्त कलेजले बिएस्सी (अनर्स) इन कम्युटिङमा तीन वर्षे कोर्षका लागि ११ लाख २२ हजार ४०० रूपैयाँ शुल्क तोकेको छ । 

त्यस्तै तीन वर्षे नै बिएस्सी (अनर्स) इन इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटीका लागि ११ लाख ८९ हजार १०० रूपैयाँ शुल्क तोकेको छ । जसमा भर्ना शुल्क ४५ हजार रूपैयाँ तोकिएको छ । 

त्यस्तै प्रत्येक वर्षको वार्षिक शुल्क ३५ हजारका दरले तोकिएको छ । त्यस्तै इसीए/सीसीए शुल्क भनेर प्रत्येक वर्ष २० हजार दरले छुट्याएको छ । प्रत्येक सेमेस्टरको ९४ हजार शुल्क तोेकिएको छ । 

युनिभर्सिटीको शुल्क भनेर पहिलो वर्ष १०६० स्टर्लिङ पाउण्ड (एक लाख ४८ हजार ४००) तथा दोस्र्रो र तेस्रो वर्षमा ८०० पाउण्डका दरले (एक लाख १२ हजार) शुल्क तोकिएको छ । यसरी हेर्दा पहिलो वर्ष चार लाख ३६ हजार ४००, दोस्रो र तेस्रो वर्षको तीन लाख ५५ हजार रूपैयाँ शुल्क तोकिएको छ । 

त्यस्तै बिएस्सी (अनर्स) इन इथिकल हाईकिङ एण्ड साईबर सेक्युरिटीको तीन वर्षे कोर्षका लागि ११ लाख ८९ हजार १०० शुल्क तोकिएको छ । 

नामी कलेज  

जोरपाटी नारायणटारमा रहेको नामी कलेज बेलायतको युनिभर्सिटी अफ नर्थह्याम्प्टनबाट सम्बन्धन प्राप्त कलेज हो । सन् २०१४ मा स्थापना भएको यो कलेजको सञ्चालक समितिको अध्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा.आरजु राणा (देउवा) हुन् ।

क्याप्टेन रामेश्वर थापा, सुरेशराज घिमिरे, उमा राज्यलक्ष्मी शाह, सोनी जोशी, सीता बाँस्कोटा (कोइराला) र योगराज कँडेल शर्माको लगानी रहेको यो कलेजले स्नातक तह र स्नातकोत्तर तहको कोर्सबाहेक कलेजमा ए लेभल र प्लट–२ का कक्षा सञ्चालन गर्दै आएको छ । 

तीन वर्षे बीबीए (ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन) का लागि ९ लाख शुल्क तोकिएको छ । त्यस्तै बिएस्सी सफ्टवेयर इन्जिनियरिङ तथा बिएस्सी नेटवर्क इन्जिनियरिङ पढ्नका लागि ११ लाख शुल्क तोकिएको छ । तीन वर्षे बिएस्सी कम्प्युटिङका लागि १० लाख खर्च लाग्छ भने एमबीए (मास्टर अफ बिजनेश एडमिनिस्ट्रेसन) का लागि पाँच लाख रूपैयाँ शुल्क तोकिएको छ । 

भेदाज कलेज  

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भेदाज कलेजले बिएस्सी सीएसआईटी, बिसिए, बिबिएम, बिबिए र एमबीएसका कक्षाहरू सञ्चालन गर्दै आएको छ । चार वर्षे बिएस्सी सीएसआईटीका लागि कलेजले प्रतिसेमेस्टर ७६ हजार २५० रूपैयाँ शुल्क तोकेको छ । चार वर्षमा बिएस्सी सीएसआईटीको लागि विद्यार्थीहरूलाई जम्मा ६ लाख १० हजार शुल्क तोकिएको छ । 

एट्लान्टिक इन्टरनेसनल कलेज  
 
ठमेलमा रहेको एट्लान्टिक इन्टरनेसनल कलेजले बिबिए र बिबिए–बिआई अध्यापन गराउँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले निजी अन्य निजी कलेजको तुलनामा कम शुल्कमा अध्यापन गराउँदै आएको छ । 

चार वर्षे बिबिएका लागि ४ लाख ५० हजार र बिबिए–बिआईको ४ लाख ७५ हजार शुल्क तोकिएको छ । कलेजका निर्देशक ध्रुब सुबेदीका अनुसार विद्यार्थीको परीक्षाफल अनुसार शुल्क छुट समेत हुने गरेको छ । 

अन्य कलेजको कस्तो छ ? 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको मध्यबानेश्वरमा रहेको आर्यन स्कूल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले बिआईटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी), बिएसी (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) र बिबिए (ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेसन) का पढाई गर्दै आएको छ । 

बिआईटीका लागि ६ लाख ६० हजार, बिसिएका लागि ८ लाख ८१ हजार र बिबिएका लागि ४ लाख ३ हजार शुल्क निर्धारण गरिएको छ । अनामनगरमा रहेको लिबर्टी कलेजले चार वर्षे बिबिएका लागि ४ लाख ७७ हजार शुल्क निर्धारण गरेको छ भने बिएचएमका लागि ४ लाख शुल्क तोकेको छ । 

बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसिरबाट सम्बन्धन लिएको पाटन कलेज, कुपण्डोल ललितपुरले बिबिए बिए (अनर्स) का लागि ८ लाख शुल्क निर्धारण गरेको छ । त्यस्तै बिएससी (अनर्स) इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङका लागि ९ लाख रूपैयाँ शुल्क निर्धारण गरेको छ । 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नर्भिक बिजनेश स्कुल, हात्तिसार काठमाडौंले चार वर्षे बिबिएका लागि ५ लाख ३० हजार रूपैयाँ शुल्क निर्धारण गरेको छ । 

बेलायतको युनिभर्सिटी अफ उल्भरह्याम्टनबाट सम्बन्धनप्राप्त हेराल्ड कलेजले बिए र बिएस्सी कम्प्युटर साइन्सका कक्षा चलाइरहेको छ । बिएस्सी (अनर्स) कम्प्युटर साइन्सका लागि चार लाख ५२ हजार कलेज शुल्क र विश्वविद्यालयलाई तिर्नेपर्ने १५०० पाउण्ड (२ लाख ४० हजार) गरी ७ लाख शुल्क निर्धारण गरेको छ । 

त्यस्तै बिए (अनर्स) इन इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका लागि ३ लाख ८८ हजार कलेजको शुल्क र २ हजार पाउण्ड विश्वविद्यालय शुल्क गरेर सात लाख १० हजार शुल्क तोकिएको छ । 

मन्त्रालय मुकदर्शक बन्दा शुल्कमा मनोमानी  

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थालाई नियमन तथा नियन्त्रण गर्नका लागि विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ छ । उक्त निर्देशिकाले शिक्षण शुल्कका विषय केही पनि बोलेको छैन । 

जसले गर्दा यस्ता शिक्षण संस्थाहरूले आफ्नो मनपरी ढंगले शुल्क लिने गरेका छन् । शिक्षा मन्त्रालयले शुल्कको विषयमा केही पनि नबोल्दा यस्ता शिक्षण संस्थाले अत्यधिक शुल्क लिने गरेको हिसान उपाध्यक्ष युवराज शर्मा बताउँछन् ।
 
‘विदेशी विश्वविद्यालयले कति शुल्क लिन पाउने भनेर तोकिदिएको हुन्छ । तर, शिक्षा मन्त्रालयले यसबारे निगरानी नगर्दा शुल्कमा मनपरी भइरहेको छ । एउटै विषयको पढाई शुल्क कलेजपिच्छै फरक–फरक छ’, उनले भने । 

शिक्षाको गुणस्तरको आधारमा शुल्क निर्धारण गर्नुपर्ने भएपनि नेपाली शिक्षण संस्था सरह नै पढाईरहेका विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाले एकदमै बढी शुल्क लिइरहेको उनको आरोप छ ।

शिक्षा मन्त्रालयअन्तर्गत उच्च शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले शुल्कका विषयमा कुनै मापदण्ड नभएको प्रष्ट पारे । 

‘विश्वविद्यालयसँग गरिएको सम्झौता अनुसार नै शुल्क लिनुपर्छ । त्यसमा हामीले यति लिनुपर्छ भन्न मिल्दैन । उनीहरूले दिने शिक्षाको गुणस्तरको आधारमा नै शुल्क निर्धारण गरिएको हुन्छ’, उपसचिव खड्काले भने । 

याे पनि पढ्नुहाेस्–

विदेशी सम्बन्धनका कलेजकाे मनाेमानी: विदेशी विश्वविद्यालयको पढाई नेपालमै, तर पढ्न विदेशिनेको लर्को उस्तै

मन्त्री र उच्च अधिकारीको मिलमतोमा हुँदैन विदेशी सम्बन्धनप्राप्त कलेजको अनुगमन

विदेशी सम्बन्धनप्राप्त कलेजमा छात्रवृत्ति कार्यान्वनयमा समस्या, अन्यौलमा शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनको नाममा नेपालमा कलेजहरु गर्दैछन् मनोमानी

विदेशी सम्बन्धनको नाममा नेपालमा कलेजहरु गर्दैछन् मनोमानी

 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ९:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया