तिहारमा प्रयोग हुने फल-फूल दीर्घायुको प्रतीक

दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने पर्व हो- तिहार । उज्यालो र खुसीको पर्व तिहारकाे आफ्नै महत्व र विशेषता छन् । तिहार सम्झँदा सबैको दिमागमा झिलिमिली बत्तीको प्रकाश, घरआँगनमा फुलेका मखमली र सयपत्री, देउसीभैलोको टोली, हरेकजसो घरमा पाक्ने सेलरोटीको स्वाद आउँछ । 

तिहारमा प्रयोग गरिने भाइ मसला तथा फूलहरूको छुट्टै महत्त्व छ । तिहारमा विशेष गरेर मखमली फूलको माला लगाउँने चलन छ । कटुस, ओखर लगायतका सामग्री तिहारमा प्रयोग गरिन्छन् । जुन लामो समयसम्म बिग्रँदैनन् । तिहारमा अनिवार्य जस्तै प्रयोग गरिने फल र फूलहरू लामो समय नबिग्रने खालका हुन्छन् । 

एकले अर्काको दीर्घायुको कामना सहित मनाइने पर्व भएकाले पनि तिहारमा प्रयोग गरिने सामग्री त्यस्तै किसिमका हुने संस्कृतिविदहरू बताउँछन् । तिहार मनाउनुको उद्देश्यसँग मेल खाने फलफुलमा प्रयोग गरिने संस्कृतिविद तुलसी दिवस बताउँछन् । 

उनी भन्छन्, ‘तिहार दीर्घायुको कामना गर्दै मनाइने पर्व हाे । भाइटीका र म्हपूजा दुबैमा लामो आयुको कामना गरिन्छ । पूजामा दीर्घायुको प्रतिकको रूपमा लामो समय नबिग्रने कटुस, ओखर, बयर र बिमिरो लगायतका फलहरू प्रयोग गरिन्छ ।’

तिहारमा कहिल्यै नसुक्ने तेलको धारा, दुबो र मखमली प्रयोग गरिन्छ । यी सबै सामग्री गाउँघरमा सजिलै उपलब्ध हुन्छन र लामो समय बिग्रँदैनन् । यी सबै सामग्री लामो आयुका प्रतीक मानिन्छन् । 

तिहारको भाइ मसलामा लामो समय नबिग्रने काजु, बदाम, किसमिस लगायतका सामग्री प्रयोग गरिन्छ । लामो समय नबिग्रनुका साथै तिहारमा प्रयोग गरिने फलहरू स्वास्थ्यका हिसावले निक्कै फलदायी रहने पोषणविद् बताउँछन् ।  भन्छन्, ‘ओखर र कटुस धेरै पोषण भएका गुणकारी फल हुन् । ओखर मस्तिष्कका लागि पनि निकै राम्रो मानिन्छ ।’



तिहारमा प्रयोग गरिने फल तथा फूलहरू हाम्रै देशका विभिन्न स्थानमा पाइन्छन् । त्यसैले पनि लामो समयसम्म यी फल र फूलहरूको प्रयोग हुँदै आएकाे वनस्पतिविद कमल मादेन बताउँछन्।  

तिहारमा दीर्घायुको कामना गरिन्छ । पोषणयुक्त मसला दिइन्छ । दीर्घायुका लागि पोषणयुक्त आहार चाहिने सन्देश तिहारमा प्रयोग गरिने मसलाले दिन्छ । तिहारमा प्रयोग गरिने बिमिरोले मानिसलाई तनावरहित बन्न मद्दत गर्ने संस्कृतिविद तुलसी दिवस बताउँछन् । 



लामो आयु बाँच्नका लागि तनावरहित हुनु पनि उत्तिकै महत्वपूर्ण रहको उनको तर्क छ । भन्छन्, ‘बिमिरोको बोक्रामा एक प्रकारको तेल हुन्छ र मानिसलाई तनावमुक्त पार्न गरिने थेरपीमा यसको प्रयोग गरिएको पाइन्छ ।’ बिमिरो कोठामा राख्दा यसको बास्नाले सकारात्मक ऊर्जा प्रदान गर्ने जनविश्वास रहिआएको छ । 

तिहारमा प्रयोग गरिने मखमली पनि ओइलाउँदैन । मखमली फूल नओइलिने भएकाले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रूपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुकाे कामना गर्दै गलामा मखमलीको माला लगाइदिन्छन् । सेता, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ ।  

निधारमा लगाइने सप्तरंगीको महत्त्व

तिहारको अन्तिम दिन भाइटीका लगाइन्छ । भाइटीकामा सप्तरंगी टीकाको प्रयोग गरिन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा लगाउने सप्तरंगी टीकामा पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो रंगको प्रयोग गरिन्छ ।

दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । पूजापाठपछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ ।

शास्त्रमा तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच प्रकारको भनिएको छ । तिहारमा सात प्रकारका रंगको टीका लगाउने कि पाँच प्रकारको भन्नेमा शास्त्र र संस्कृतिका जानकारहरूको मत बाझिएको बताइन्छ । यद्दपि रंगकाे महत्त्व भने वैज्ञानिक रहेको छ । टिकाका रंगहरूले प्राकृतिक इन्द्रेणीसमेत झल्काउँछ ।

भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गरिन्छ ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ९:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया