तिहार : मानिस र जनावरको सम्बन्ध

नेपालीहरूले विशेष रूपमा मनाउने पर्व तिहारलाई प्रकृतिपूजकका रूपमा पनि लिने चलन छ । ५ दिनसम्म मनाइने तिहारमा वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पंक्षी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको समेत पूजा गरिन्छ । यमपञ्चकका नामले पुकारी तिहारका ५ दिनका बेग्लाबेग्लै पौराणिक मान्यता रही आएका छन् । 

यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पूजा गरिन्छ । 

काग पूजाको महत्त्व

तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीका दिन सन्देशवाहक पन्छीका रूपमा कागलाई पूजा गरिन्छ । कागको पूजामा फूल, अक्षताले आकाशतिर छर्किँदै पुज्दै‘ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम्’ मन्त्र उच्चारण गरेर कागलाई पुकार्ने चलन छ । पूजापछि कागलाई बोलाएर दहीभात आदि खाद्य परिकार दिनुपर्ने शास्त्रीय मान्यता रहिआएको छ । तर, हिजोआज मानिसले आफ्नो सहजता अनुकूल भात, रोटी, मिठाइँ तथा विभिन्न परिकार थाल वा दुना-टपरीमा हालेर घरको छतमा अथवा घरबाहिर आँगनमा राखिदिने प्रचलन छ । 

कागको पूजा गर्नुका विभिन्न कारण रहेका छन् । तिहारमा भने कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पूजा गरिन्छ । यमराजको अत्यन्त प्रिय भक्त मानिएको कागले सबैलाई समान दृष्टिले हेर्छ भन्ने गरिन्छ । 

गाउँघरमा काग कराउँदा ‘सुबोल बोल, ठाउँ सारी सारी बस्, शुभ समाचार दे’ भन्ने प्रचलन अहिले पनि कायमै छ । कराइरहेको काग दक्षिणमा उडे हानी हुने, पश्चिममा उडे दुःखद समाचार आउने, पूर्वमा उडे लाभ हुने र उत्तरतर्फ उडे कीर्ति फैलिने खालको समाचार आउने जनविश्वास रहिआएको छ । 



कागको सौन्दर्य समाजसँग पनि जोडिएको छ । कागले गाउँ वातावरणीय स्वच्छतामा सघाउ पुर्‍याउँछ । कागलाई जनावरहरूको पनि सूचनाको संवाहक मानिन्छ । जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ ।

कुकुर तिहार 



तिहारको दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने, कुकुरलाई मिठो परिकार खान दिने प्रचलन छ । कुकुर पूजाका सन्दर्भमा विभिन्न धार्मिक तथा सामाजिक मान्यता सुनिँदै आइएकाे छ । कुकुर तिहारको दिन आफूले घरमा पालेको कुकुर नभए पनि गाउँमा रहेको कुकुर फूल, अक्षता र मालाले पूजा गर्ने गरिन्छ । पूजा सकेर कुकुरालाई मिठामिठा परिकार खान दिइन्छ ।

कुकुर तिहारको दिनलाई ‘नरक चतुर्दशी’पनि भन्ने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा पूजा गरिन्छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान कार्यमा पनि कुकुरले सहयोग गर्दै आएको छ । मानिसलाई विभिन्न काममा सहयोग गर्दै आएको कुकुरले प्राकृतिक तथा दैवी प्रकोपका बेला पूर्वसूचना समेत दिने डा. जगमान गुरुङ बताउँछन् । 

गाई तिहार र लक्ष्मी पूजा 

यमपञ्चकको तेस्रो दिन धुमधामका साथ मनाउने प्रचलन छ । कार्तिक कृष्ण औंसीको दिन गाईको पूजा गरिन्छ । यसै दिन साँझ घरघरमा लक्ष्मी पूजा गरिन्छ । दिपावलीसहित धनधान्यकी देवी लक्ष्मी भित्राउने गरिन्छ । 

तिहारको तेस्रो दिन पूजा गरिने गाईलाई पशुधनका रूपमा लिइन्छ । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गर्ने गरेका छन् । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताकाे रूप मानी पूजा गर्छन् । 

लक्ष्मी पूजाको रातलाई सुखरात्रिका रूपमा लिइन्छ । लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जाैं, तिल, दही, पञ्चामृत, वस्त्र, सेलरोटी, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेलरोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ । 

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।  नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

गोरु तिहार, गोवर्धन पूजा

तिहारमा गोरुको र गाेवर्धन पर्वतको पनि पूजा गरिन्छ । तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको गोरुको पूजा गरिन्छ । गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएकाे छ ।

यही दिन हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने गर्छन् । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । धार्मिक मान्यताअनुसार गोकुलमा कृष्ण बस्थे । त्यहाँ गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्थे । इन्द्रले आफ्ना भक्तहरूलाई केही दिँदैनथे । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेपछि गोपालहरूले गोवर्धन पर्वतको पूजा गर्छन् । आफ्नो पूजा छोडेर गाेवर्धन पर्वतको पूजा गरेको भन्दै रिसाएर इन्द्रले गोकुलमा असिना-पानीको वृष्टि गराउँछन् । त्यही समय कृष्ण भगवानले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । त्यही बेलादेखि गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको जनविश्वास रहिआएको छ ।
 
नेवार समुदायले यही दिन आफ्नो शरीरलाई पूजा गरी म्ह:पुजा मनाउँछन् । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ। परिवारमा मुलीले परिवारका सबै सदस्यहरूको म्ह: अर्थात् शरीरकाे पूजा गरी हाँस वा कुखुराको फुल सगुनकाे रूपमा अर्पण गरिन्छ ।

भाइ-टीका

सम्पूर्ण तिहारलाई भाइ–टीकाका नामले पनि पुकारिन्छ । तिहारको अन्तिम दिन भाइ टीका मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्त्वका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

भाइ टीकाको दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गरिन्छ । बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबो र संप्तरंगी टीकाको प्रयोग गरी दाजुभाइको दीर्घायुको कामना गरिन्छ ।
 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार २०:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया