हेटौँडाका होटलमा खुलेआम बालश्रम र यौनधन्दा
सांकेतिक तस्बिर

बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाको सहरी क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा पछिल्लो समय भीडभाड बढ्ने गरेको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको कार्यक्रमले अहिले हेटौँडाका ठूलादेखि साना होटलसम्म भरिभराउ छन् । प्रदेशको राजधानी भइसकेपछि प्रदेशस्तरीय गोष्ठी, सम्मेलन पनि हेटौँडामा नै हुँदा यहाँको होटल व्यवसाय फस्टाउँदो छ । 

होटल व्यवसाय फस्टाउँदा आर्थिक गतिविधि बढेसँगै विकृति पनि देखापर्न थालेका छन् । यहाँका होटलहरुमा बालश्रम भइरहे पनि नियमनकारी निकाय मौन देखिन्छन् ।  बालश्रमसँगै हेटौँडाका केही होटलमा यौनधन्दासमेत हुन थालेको पाइएको छ । हेटौँडाका होटलहरुमा बालश्रम भइरहेको सरकारी अधिकारी र अधिकारकर्मीले पनि नदेखेका होइनन् । तर, यसमा उनीहरुको मौनता उदेकलाग्दो छ । 

आइतबार हेटौँडा २ मा रहेको ओशिन रेष्ट हाउसमा १२–१५ वर्षका बालकहरुले काम गरिरहँदा खाना खान पुगेका सरकारी कर्मचारी केही बोलेनन् । छेउमै रहेका एक ग्राहकले थर्काउँदै ती श्रमिक बालकलाई भने, ‘ए फुच्चे कान छैन ? छिटो सफा गर् ।’ सरकारी कार्यालयको पोसाकमा खाना खान पुगेका कर्मचारीले पनि सो थर्काइ सुने तर केही बोलेनन् । उक्त होटल मात्रै नभई हेटौँडाका अधिकांश होटलमा बालबालिका टेबल पुछ्ने, भाँडा माझ्ने काममा देखिएको बाल अधिकारकर्मी बताउँछन् । 

सिविन बाल हेल्पलाइन हेटौँडाका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बजारमा बालश्रम रहेको स्वीकार गर्दै सिविनले उजुरी आए उद्धार गर्ने बताए । स्थानीय तहले नै श्रम कार्यालयको समन्वयमा कस्तो प्रकारको बालश्रम छ भनेर अनुगमन गनुपर्ने उनले बताए । यस्तै, बालअधिकारको क्षेत्रमा काम गरिरहेका बालकल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा स्थानीय सरकारले बालश्रम न्यूनीकरणका लागि काम नगर्दा यस्तो अवस्था आएको बताउँछन् । लामो समय निकृष्ट बालश्रम मुक्तिको लागि अभियान चलाए पनि हेटौँडा उपमहानगरले खासै चासो नदेखाएको उनको गुनासो छ । 

यो विषयमा मकवानपुर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बालश्रम न्यूनीकरणका लागि सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको भूमिका प्रमुख हुने बताए । उनले भने, ‘प्रहरी र प्रशासनका सहयोग नियन्त्रणात्मक रुपमा मात्रै हुन्छ । जिल्लामा श्रम कार्यालयसहित विभिन्न निकाय छन् । सबैले अनुगमन गर्दा हामी सहयोग गर्छांै ।’ 

बालश्रम गरेको थाहा पाएमा प्रशासनले तुरुन्तै अनुगमन गर्ने भन्दै उनले बालश्रम नगर्न अनुरोध गरेको पनि बताए । उनले छिट्टै सम्बन्धित निकायसँग छलफल गरेर अनुगमनलाई तीव्रता दिने बताएका छन् । 



यौन अड्डा बन्दै छन् होटल र हाइवे  

हेटौँडाका होटलहरुमा खुलेआम यौनधन्दा हुन थालेको छ । प्रदेश २ देखि काठमाडौं, चितवनलगायतका धनाढ्यहरुको यौनअखडा हेटौँडाका ठूला होटल हुन थालेका हुन् । होटल व्यवसायी आफैँले होटलमा यौनकर्मी नराखे पनि कोठा लिएर यौनकर्मी बोलाउने गरिएको पाइएको छ । नाम नबताउने सर्तमा हेटौँडाका एक होटल व्यवसायी भन्छन्, ‘अहिले चलेको नै यौनको कारण हो । हाम्रो होटलमा आउने अधिकांश ग्राहकले जोडी ल्याउँछन्, नल्याऊ भन्न नि नमिल्ने !’ एकजनाको लागि रुम बुक गरेर जोडी आउने अनि दुई–चार घण्टामा चेकआउट हुने गरेको उनले सुनाए । ‘कोठाभित्र के–के भयो सबै हेर्न मिल्दैन,’ उनी भन्छन्, ‘हामीले ग्राहकको मागअनुसार कोठा उपलब्ध गराउने हो ।’ 



यस्तै मकवानपुरको जिल्ला ट्राफिक प्रहरी कार्यालय वरिपरि नै खुलेआम यौनधन्दा हुने गरेको स्थानीयहरु बताउँछन् । हेटौँडा ११ (राप्ती पुलपारि) रात परेपछि सवारीसाधनको जाम नै लाग्ने गरेको छ । जामको कारण त्यहाँ हुने खुलेआम यौन व्यवसाय हो । विशेषगरी तेस्रो लिंगीहरु उक्त  क्षेत्रमा यौन व्यवसायमा संग्लन रहे पनि प्रहरीले खासै चासो देखाएको छैन । 

यस्तै, हेटौँडाका चर्चित होटलदेखि साना होटलमा दिउँसै पनि यौन कार्य हुने गरेको वरपरका स्थानीयबासीले गुनासो गरेका छन् । यो विषयमा मकवानपुर प्रशासनले  गैरकानुनी र अनैतिक कार्यको जिम्मेवार होटलवाला नै हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले होटलमा हुने अनैतिक क्रियाकलापबारे गुनासो आइरहेको स्वीकार गर्दै कुनै पनि बेला छापा हान्ने र अनुगमन हुन सक्ने बताए । 

उनले भने,‘होटल व्यवसायीलाई हामीले ग्राहकको परिचय खुल्ने गरी मात्रै कोठा दिन आग्रह गरेका छौँ । यदि गलत काम भइरहेको छ भने कुनै पनि बेला सामाजिक र कानुनीय रुपमा दण्डनीय हुन्छन्, यसको जिम्मेवार सम्बन्धित होटलहरु नै हुन्छन् । ’ उनले समाजमा अपाच्य हुने गतिविधि रोक्न सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।  
 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार २१:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया