डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी

एमाले डडेल्धुराले पाँचवटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ । गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो ।  

सम्पन्न गाउँ तथा नगर अधिवेशनबाट अमरगढी नगरपालिका गणेश कठायत, परशुराम नगरपालिका ओम प्रकाश जोशी, आलिताल गाउँपालिका अमर पुन, भागेश्वर गाउँपालिका दिपक महता र अजयमेरु गाउँपालिका राजबहादुर पाल अध्यक्षमा चयन भएका छन् । 

सात स्थानीय तहमध्ये अधिवेशन सम्पन्न भएका पालिकाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रकाशबहादुर साउदले बताए । उनका अनुसार बाँकी रहेका नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तिहारपछि अधिवेशन गरिने भएको छ । 

अधिवेशनमा एमाले नेता डा. तारा जोशी समूह निर्वाचनमा सहभागी भएको छैन । जोशी तत्कालीन एमालेका अध्यक्षसमेत हुन् । साविकको एमाले अध्यक्ष जोशी रहेको उल्लेख गर्दै एमाले नेता धनबहादुर साउदले १० बुँदे सहमति कार्यान्वयन नभएसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए। 

उनले भने, ‘म एमाले डडेल्धुराको सचिव हुँ, मलाई कुनै जानकारी नगरी एकलौटी रूपमा गरिएका पार्टी गतिविधिको सन्देश नकारात्मक हुनेछ।’

केन्द्रीय कमिटीले गरेको १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने एमालेका नेता तथा नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले बताए।



पार्टी एकता र १० बुँदे कार्यान्वयनमा नेता तथा कार्यकर्ता एकमत हुनुपर्ने अध्यक्ष विष्टको भनाइ छ। जिल्लाका ५२ वटा वडा मध्ये ४८ वडामा अधिवेशन सम्पन्न भएको छ । चारवटा वडामा अधिवेशन हुन सकेको छैन ।

-न्युज कारखाना



  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १२:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया