सरकारमा बस्नेहरू सेवकको रूपमा रहनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले स्रोतसाधनको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी बेहोर्नु परिरहेको बताएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिले आयोजना गरेको नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताए । ‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था ब्यहोरिरहेको अवस्था छ’, उनले भने, ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’

त्यस्तै, मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरेक नागरिकले संकल्प गर्नुपर्ने बताए । 

‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ’, मन्त्री शर्माले भने, ‘म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प गर्‍यौं र त्योअनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ ।’

उनले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्ने पनि बताए । अभियान निरन्तर गरे प्रत्येक दिन युवा विदेशिनुपर्ने बाध्यताबाट समेत मुक्त हुने उनले बताए ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १३:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया