ए डिभिजन लिगको तयारीमा व्यस्त एनआरटी र सातदोबाटो

आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि अहिले क्लब तयारीमा व्यस्त छन् । २९ कात्तिकबाट हुने लिगमा यो संस्करणमा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

सातदोबाटो युथ क्लब यो संस्करणमा नयाँ टोलीको रूपमा प्रतिस्पर्धा गर्दैछ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ तयारीलाई तिव्रता दिएका हुन् ।  

अखिल नेपाल फुटबल संघले गत साता ए डिभिजन लिगको टाइसिट पनि सार्वजनिक गरिसकेको छ । जसअन्तर्गत पहिलो खेलमा यही सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बढुवा भएको टोलीलाई अनुभवी प्रशिक्षक मेघराज केसीले सम्हाल्दै छन् । अनुभवी ए डिभिजन लिग क्लबसँग प्रतिस्पर्धा गर्न केसीले टोली राम्रो बनाउन निकै मिहिनेत पनि गरिरहेका बताए ।

अन्य क्लबको तुलनामा सातदोबाटो युथले केही महिना अगाडिबाट तयारीलाई तिव्रता दिइरहेको छ । प्रशिक्षक मेघराज केसीले चुनौती स्विकार गर्दै ए डिभिजनमा राम्रो फुटबल खेल्ने टोली बनाउन मिहिनेत गरेको बताए । 



टोलीको टिमवर्क राम्रो भएको भन्दै आसन्न लिगमा राम्रो प्रदर्शन गर्ने प्रशिक्षक केसीको विश्वास छ । उनले भने जस्तै सातदोबाटो युथ क्लबका खेलाडी मनबहादुर तामाङले पनि लिगका लागि भनेर टोलीले राम्रो तयारी गरिरहेको र राम्रो फुटबल खेल्ने बताए । केही अनुभवी र नयाँ खेलाडीको सम्मिश्रण भएको टोलीले विगत तीन महिनादेखि एकै ठाँउमा रहेर प्रशिक्षण गरेको र निश्चित लक्ष्य भएकाले भेटाउनका लागि सफल हुने तामाङले बताए । 

त्यसो त सातदोबाटो युथ क्लबमा ‘बी’ डिभिजन लिगबाट बढुवा भएको छुट्टै जोस छ । २६ बर्से इतिहासमा पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मानजनक प्रतिस्पर्धा गरेर ए डिभिजन लिगमा बलियो टोली सावित गर्ने लक्ष्यमा छ । तर काठमाडौंबाट इतिहास बोकेको न्युरोड टिम भने खेलाडी भेला पार्नेमा अझै व्यस्त छ ।   



केही खेलाडीलाई समावेश गरेर तयारी थालेको टोलीमा केही राष्ट्रिय टोलीका खेलाडी भए पनि अभ्यासमा आइपुगेका छैनन् । लिग हुनेकीनहुने दुविधा भइरहेको अवस्थामा सार्वजनिक तालिका र खेलाडी उपत्यकाभन्दा बाहिर भएकाले तयारीलाई तीव्रता दिन नसकेको प्रशिक्षक राजुकाजी शाक्यले बताए । क्लबलाई अभ्यास गर्ने स्तरीय स्थान नभएको उनको गुनासो छ ।

लिग आयोजनाको मिति नजिकिँदै गर्दा सबै जसो क्लब तयारीमा व्यस्त छन् । कोरोना महामारीले असर पारे पनि क्लबले लिग खेल्ने योजना बनाएका छन् । 

१४ क्लबले सहभागिता जनाउने लिगमा यस संस्करण रेलिगेसन रहेको छ । लिगको पुछारमा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुने छन् ।   

  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १४:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया