नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे दम्भकै कारण एमालेले केन्द्रीय र प्रदेश सरकारमा आफ्नाे पार्टीकाे हैसियत गुमाएकाे बताएका छन् ।
आज (बिहीवार) नेकपा (एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् ।
उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरूले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी पनि गरे ।
एमाले पार्टीले गलत बाटाे लिन थालेपछि पार्टीभित्र आफूहरू निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खाेल्न बाध्य भएकाे उनकाे भनाइ थियाे ।
उनले भने, ‘दुई तिहाई बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरूले भोट दिएछन् ?’
अध्यक्ष नेपालले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए ।
यसैगरी उनले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही गरी मन्त्री पदबाट हटाउने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।