कैलालीका किसानको गुनासो : बाढीबाट धान जोगाए पनि उचित मूल्य पाएनौं

कात्तिक पहिलो साता आएको झरीले सुदूरपश्चिमका अधिकांश किसानको धान पनि खेतमै सखाप भयो । एक्कासि आएको झरीले भित्र्याउनै लागेको धान हेर्दाहेर्दै खेतमै कुहियो ।  

सुदूरपश्चिममा झरीले ५ अर्ब बढीको क्षति पुर्‍याएको छ । सरकारले एक महिनाअघि मूल्य तोके पनि सो मूल्यअनुसार किसानले धान बिक्री गर्न पाएका छैनन् । ‘यस वर्षको धान सबै वर्षाले ध्वस्त पा¥यो । बर्षा आउनु पहिले अलिअलि थन्क्याएको धान बिक्री गरिरहेका छौँ । तर भने जस्तो मूल्य पाइरहेका छैनौं,’ कैलालीको गौरीगंगा नगरपालिकाका किसान राजाराम चौधरीले भने, ‘सरकारले मूल्य तोक्यो भन्ने सुन्छौँ । तर हामीले कहिले पाएनौँ ।’ 

सरकारले निर्धारण मूल्य तोक्ने तर खरिद नगर्ने समस्याका कारण यहाँका किसान पीडित बन्दै आएको अर्का किसान दीलकुमार चौधरीले गुनासो पोखे । व्यापारीले १ हजार तथा १२ सय रुपैयाँमा मात्रै धान खरिद गरिरहेको उनी बताउँछन् । 

‘अलिकति बचेको छ त्यसै बिक्री गरेर तिहार खर्च जुटाउने तयारीमा छौँ,’ उनले भने, ‘व्यापारीले एक हजार, १२ सय मात्रै भनिरहेका छन् । खाद्यले समयमै खरिद गरिदिए सहज हुने थियो ।’ 

तिहारको खर्च जुटाउन भए पनि धान सस्तोमा बिक्री गर्न बाध्य भइरहेको कृषकहरू बताउँछन् । किसानको खेतबाटै धान खरिद गर्न उदासिन देखिएको सरकारले मूल्य भने प्रत्येक वर्ष निर्धारण गर्दै आएको छ ।

‘घाटा खाएरै धान बेचे, वर्षाको कारण आधा खेतको धान खेर गयो । बचेको धानको पनि उचित मूल्य पाइएन,’ कैलारी गाउँपालिकाका किसान प्रदेशु चौधरी गुनासो गरे । प्रतिक्विन्टल ६ सय ८५ रुपैयाँ घाटा खाएर ८ क्विन्टल धान बिक्री गरेको उनले बताए 



कैलाली–कञ्चनपुरका  किसानले सरकारले तोकेको मूल्यभन्दा ६ सयदेखि १ हजार रुपैयाँसम्म सस्तोमा धान बिक्री गरिरहेका बताएका छन् । किसान मोटो धान प्रतिक्विन्टल १ हजार ८ सयदेखि २ हजार ५० रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यतामा छन् ।

‘वर्षाले धानमा ठूलो क्षति पुर्यायो, धान खेतमै भिजेर उम्रिएको छ । तर किसानले त्यसलाई सुकाएर बेच्न आइरहेका छन्, सबै धान खरिद गर्न सकिने अवस्था छैन’, धनगढीका गल्ला व्यापारी विष्णुराज शाही भने, ‘दसैँअघि भित्र्याएको धान राम्रो छ । तर, त्यसपछि काटेको र भित्र्याएको धान वर्षाले बिगारेको छ । त्यसैले धान हेरेर मात्रै खरिद गरिरहेका छौँ ।’



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने गर्छ । गल्ला व्यापारीले पनि धान खरिद गर्न सुरु गरिरहेका छन् । तर, संस्थानले भने अहिलेसम्म किसानको धान खरिद गर्ने कुनै संकेत देखाएको छैन । 

‘समयमै सरकारले धान किनिदिए त हामीलाई पनि राहत हुन्थ्यो, धान बेचेरै घर खर्च चलाउँछौं । तर हामीले सस्तोमा व्यापारीलाई बेचिसकेपछि मात्र सरकारले कोटा लगाउने गर्छ, हामी लगानी पनि उठाउन सक्दैनौं,’ जिल्लाको गोदावरीका किसान प्रेम बुढाले भने । इन्जिला बस्नेतले केन्द्रीय कार्यालयबाट अहिलेसम्म धान खरिदका लागि कुनै परिपत्र नआएकाले खरिद सुरु नभएको बताइन् ।

‘हामीलाई केन्द्रीय कार्यालयले नै धान खरिदको लक्ष्य र बजेट विनियोजन गर्छ’, हामी तयारी अवस्थामा छौँ, परिपत्र आउने बित्तिकै किसानको धान हामी खरिद गर्न सुरु गर्छौँ’, उनले भनिन् ।

सरकारले मूल्य तोक्ने तर खरिद गर्न ढिलाइ गर्दा बर्सेनि आफूहरू मारमा परेको किसानको दुःखेसो छ । सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २ हजार २५२ रुपैयाँ र मध्यम धान २ हजार ८८५ रुपैयाँ तोकेको छ । तर सरकारी निकायले धान खरिद कोटा भने लगाएको छैन । जसकारण किसान सस्तोमै व्यापारीलाई बेच्न बाध्य भएका हुन् । 

  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १८:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया