गाउँ/नगर अधिवेशनपछि उत्कर्षमा पुग्यो एमाले सुनसरीको विवाद

गाउँ/नगर अधिवेशनले एमाले सुनसरीमा देखिएको विवाद साम्य हुनुको साटो थप उत्कर्षमा पुगेको छ ।

समानान्तर दुई कमिटी रहेको सुनसरीमा गाउँ/नगर अधिवेशनले विवाद झन् बल्झाएको हाे । सुनसरीमा रेवतीरमण भण्डारी र रमेश बस्नेतको अध्यक्षताको दुईवटा छुट्टाछुट्टै कमिटी सक्रिय छ। दुई कमिटी सक्रिय हुँदा गाउँ/नगरमा समेत समानान्तर कमिटी गठन भएका छन् ।

धरानमा नारायण सुवेदी र हर्कजंग एभेङको समानान्तर कमिटी बनेको छ । नारायण रमेश बस्नेत समूहका र हर्क रेवतीरमण समूहका हुन् ।

बस्नेत नेकपा बन्नुअघि जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष भएका थिए । पछि उनी नेकपा विभाजनमा लागेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भण्डारीलाई अध्यक्ष बनायो ।
१० बुँदे सहमतिपछि अन्य नेतासँगै बसे पनि एमालेमै फर्किएपछि जिल्लामा एकैपटक दुई अध्यक्ष भएका हुन् ।  यसको असर अहिले पार्टीको तल्लो तहको कमिटीसम्मै देखापरेको छ ।

पार्टीलाई संकटमा पुर्‍याएकाे भन्दै भण्डारी समूहले बस्नेतलाई अध्यक्ष मानेका छैनन् । बस्नेतले १० बुँदे सहमतिपछि पार्टी जेठ २ मा फर्किएको भन्दै आफू नै जिल्ला अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।

दुवै समूहले आफू अनुकूल जिल्ला अधिवेशनको तयार पनि गरेका छन् । भण्डारीले हालै सर्कुलर जारी गर्दै अधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।



निर्वाचन कात्तिक २७ गते तोकिएको छ । निर्वाचनमा उम्मेदवार तथा मतदाताका लागि नियमसहितको कार्यतालिका निकालिएको छ । अध्यक्ष भण्डारीद्वारा जारी सर्कुलरमा प्रतिनिधिका लागि २७ गते ८ बजेदेखि ३ बजेसम्म मतदान हुने भएको हो ।

विधानको धारा ६३ बमोजिम दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्ति र महिला उम्मेदवारको हकमा पार्टी सदस्य भएको ७ वर्ष कायम गरिएको छ । 
अन्य उम्मेदवारको हकमा पार्टी सदस्यता लिएको १० वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था लागू गरिएको छ ।



निर्वाचन प्रक्रियामा सहभागी मतदाताले नागरिकताको प्रमाणपत्र वा पूरा परिचय खुल्ने कागजात लिएर जानुपर्ने भनिएको छ । 

उता बस्नेत पक्षले भने यो कार्यतालिका अस्वीकार्य भएको जनाएको छ । विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले आफूलाई जिल्ला सम्मेलन आयोजक समितिको संयोजक तोकेको बस्नेतले दावी पनि गरेका छन् ।

उनले भीम आचार्य र सुवास नेम्वाङको हस्ताक्षर भएको पत्र सार्वजनिक गरेका छन् । तर, भण्डारीले भने पत्रबारे थाहा नभएको बताउँदै आएका छन् ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार ९:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया