पाँच दलीय सत्ता गठबन्धन निर्वाचनसम्म जाने आधार कमजोर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई पुनःस्थापना गर्न र उनलाई सत्ताच्युत गर्न बनेको पाँच दलीय सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म जाने गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । 

सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्म गठबन्धन जानेमा शंका नरहेको बताइसकेका छन् ।

गठबन्धनकै अन्य घटकहरू नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू पनि निर्वाचनसम्म जाने बताउँछन् ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा हुँदैछ । अर्को मंसिरमा भने प्रदेश र संघको निर्वाचन हुने भनिएको छ । 

यद्यपि, यी पाँच दलीय गठबन्धनका नेताहरूले एकैपटक तीनवटै तहको निर्वाचन गर्नुपर्ने धारणा पनि व्यक्त गर्दै आएका छन् । त्यसबारे गठबन्धनका दल र प्रमुख विपक्षी दल एमालेसहितका अन्य विपक्षी दलहरू टुंगोमा पुगेका छैनन् ।   

तै पनि एकैपटक वा चरणबद्ध निर्वाचन भएको अवस्थामा के यी पाँच दलबीच चुनावी गठबन्धन हुन्छ? कि आवश्यकताअनुसार निश्चित नेतालाई जिताउन तालमेल हुन्छ? चासोपूर्वक हेरिएको छ ।



फेरि, यी दलहरूको गठबन्धन सैद्धान्तिक विषयमा मेल भएर भएको होइन । राजनीतिक मुद्दामा समान धारणा र कार्यक्रम भएकोले मात्रै हो । अथवा तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन पुनःस्थापना गर्न र उनलाई सिंहदरबारदेखि बालकोट पुर्‍याउन भएको हो । त्यसमा गठबन्धन सफल भएको पनि छ । 

परिणामतः अप्रत्याशित रूपमा तीन वर्ष बढी प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेका देउवा प्रधानमन्त्री बन्न पुगे । जसको ‘ग्रान्ड डिजाइनर’ हालका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल हुन् । 



यसरी गठबन्धनले ओलीलाई बालकोट मात्रै पुर्याएनन्, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट एमाले मुख्यमन्त्रीहरूको बहिर्गमनसमेत गर्‍यो । 

यस्तो अवस्थाबीच गठबन्धनका नेताहरू गठबन्धनलाई निर्वाचनसम्म पुर्‍याउने दाबी गरिरहेका बेला राजनीतिक विश्लेषक दुर्गा सुवेदी भने गठबन्धनको निरन्तरता नहुने ठोकुवा गर्छन् । अर्थात् गठबन्धन निर्वाचन अघि टुट्छ । त्यसबारे उनी भन्छन्, ‘सैद्धान्तिक धरातल नमिलेको कांग्रेस–कम्युनिस्ट गठबन्धन चुनावसम्मै हुनु संगतिपूर्ण होइन ।’

सुवेदीका अनुसार कांग्रेस–कम्युनिस्टको आर्थिक कार्यक्रमदेखि राजनीतिक कार्यक्रममा भिन्नता छ । कम्युनिस्टहरू बढी ‘रिजिट’ हुँदा कांग्रेसीहरू ‘लिबरल’ हुन्छन् । र, बहुदलीय व्यवस्थाविरुद्धको विचार कम्युनिस्टहरू बोक्छन् । जबर्जस्त एक दलीय व्यवस्था छाडेर आएको सुवेदी बताउँछन् । जसले गर्दा पनि निर्वाचनसम्मै गठबन्धन हुन सक्ने स्थिति सुवेदी देख्दैनन् । 

‘पहिले कम्युनिस्टहरूकै गठबन्धन थियो । खै त? गठबन्धन टुटेन? विचार मिल्नेबीच त टुट्छ भने काहीँ कांग्रेस–कम्युनिस्ट गठबन्धन सम्भव हुने कुरा हो?,’ सुवेदीले भने ।

विवादास्पद अमेरिकी सहयोग परियोजना एमसिसीले गठबन्धनमा खटपट निम्त्याउन सक्ने उनलाई लाग्छ । हुन पनि सत्ता नेतृत्व दल कांग्रेस एमसिसीको पक्षका छ । साझेदार दलहरू माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा एमसिसी सम्झौताको केही प्रावधानहरू संशोधन गराउनुपर्ने पक्षमा छन् ।
जनमोर्चा भने एमसिसीको पहिलेदेखि नै विरोधमा छ । अब सम्झौतालाई अनुमोदनको प्रक्रिया संशोधनविना अघि बढाएको खण्डमा गठबन्धनमा दरार पैदा हुन सक्ने देखिन्छ ।
वाम राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि निर्वाचनमा गठबन्धन भएर पाँच दलीय गठबन्धन जान्छ कि जाँदैन भन्न नसकिने बताउँछन् । कांग्रेसले एक्लै बहुमत ल्याउने अवस्था आए गठबन्धन तोडिन सक्ने उनलाई लाग्छ । नजित्ने अवस्थामा मात्रै गठबन्धन हुन सक्ने बताए ।

उनी थप भन्छन्, ‘चुनावमा के गर्छन् भन्ने म अहिल्यै भन्न सक्दिनँ । तर, मिलेर जानुको म चाहिँ विकल्प देख्दिनँ । तर, नेपालको राजनीतिक हो, के होला भन्ने ठम्याउन सकिन्नँ ।’ श्रेष्ठले पनि एमसिसीले गठबन्धनको निरन्तरतामा असर गर्न सक्ने बताए । 

‘एमसिसी परियोजनाले गठबन्धनको निरन्तरतामा कतै असर त गर्दैनन् ? यसै भन्न सकिन्नँ । यद्यपि, राष्ट्रिय सहमति भयो भने पारित गर्ने कांग्रेसको सोचाइ देख्छु र नभए ‘लिङ्गरिङ’ गर्ने देखिन्छ । यदि पारित गर्छु भन्ने लाग्छ भने कांग्रेसले गठबन्धन तोड्न सक्छ ।’

निर्वाचनमा पनि गठबन्धनको विषयमा देउवाबाहेक अन्य नेताहरूमा रुचि छैन । कांग्रेस एक्लै चुनावी मैदानमा जाने वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले बताउँदै आएका छन् । देउवालाई चुनावी गठबन्धनप्रति सकारात्मक नहुन चर्को दबाब पौडेलसहित सभापति पदका दाबेदार नेता प्रकाशमान सिंह, सहमहामन्त्री डा. प्रकाशशरण महत, गगनकुमार थापालगायत नेताहरूले दिइरहेका छन् ।

केही दिन अगाडि डा. महतले केही निश्चित नेताहरूलाई जिताउने गरी मात्रै गठबन्धन हुन सक्ने बताएका थिए । कांग्रेसी नेताहरूलाई कांग्रेस एक्लैले बहुमत ल्याउँछ भन्ने लागेको छ । 

हुन पनि २०४८ पछिको निर्वाचनलाई हेर्ने हो भने एउटा निर्वाचनमा कांग्रेस पहिलो शक्ति भएको अवस्थामा कम्युनिस्ट पार्टी दोस्रो हुने र कम्युनिस्ट पार्टी पहिलो हुँदा कांग्रेस दोस्रो शक्ति हुने गरेको देखिन्छ । 

अघिल्लो पटक नेकपा ठूलो दल भएको थियो । स्वाभाविक रूपमा अब कांग्रेस हुने उक्त पार्टीका नेताहरूलाई लागेको हुन सक्छ । फेरि, अघिल्लो पटक दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी गठबन्धन हुँदै पार्टी एकतासम्म भएको र हाल छिन्नभिन्न अवस्थामा पनि छ । यसको फाइदा पनि कांग्रेसलाई हुने देखिन्छ । 

यी कारणले पनि निर्वाचनसम्म पाँच दलबीच गठबन्धन हुनेमा प्रशस्त शंका गर्न सकिने अवस्था छ । 
 

  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार १९:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया