धुलाम्मे सडकले समस्यामा लुम्बिनी घुम्न जाने पर्यटक

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटक आउन थालेका छन् । पर्यटकको संख्या बढ्दै गए पनि यहाँको सडकको अवस्था भने दयनीय छ ।

लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरूमा मर्मत र विस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । 

नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको विस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडकखण्डको मर्मतसम्भार भइरहेको छ । 

सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् । काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । 

लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए । विगतमा दसैँ–तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइनभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए ।



‘लुम्बिनीमा दसैँपछि पर्यटकको आगमन, चहलपहल सुरु भएको छ, होटलहरु १५ प्रतिशत मात्रै राम्रोसँग चलिरहेका छन्, त्यही पनि शून्यमा रहेको व्यवसाय १५ प्रतिशतमा पुग्यो, विस्तारै तिहारपछि अघि जाला भन्ने अनुमान छ, सिजन त आउँदै छ तर पनि हामीले विदेशी पाहुनाहरूको आगमनको अपेक्षा छैन, आन्तरिक पर्यटक बढ्नुहुन्छ कि भन्ने आशा राखेका छौँ,’ महासचिव अर्यालले भने, ‘विद्यार्थी, संघ/संस्थालगायतको आगमन केही मात्रामा बढ्नुहुनेछ भन्ने आशा गरेका छाैँ, आशावादी छौँ तर सन्तुष्ट हुने अवस्था छैन, यो वर्ष हामी पूरै पीडित नै छौँ, गत वर्षतिरको व्यापार हेर्दा दशैँ र तिहारको बीचमा धेरै व्यापार हुन्थ्यो, सेप्टेम्बरपछि अन्तर्राष्ट्रिय पर्यटकहरूको पनि आगमनको सुरुवात हुने गर्दथ्यो, पहिला यो बीचमा पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौँ, तर यसपालि त्यस्तो देखिएन, लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौँ ।’ 



लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ । जसकारण पनि आन्तरिक पर्यटक थपिने सम्भावना बढी छ । यस्तो अवस्थामा तत्काल सडक सुधार गर्नुपर्ने आवश्यक्ता रहेको व्यवसायीले बताएका छन् । साथै लुम्बिनीलाई कोरोनामुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिनसके पर्यटकको आगमन बढ्ने सम्भावना रहको उनीहरूले बताएका छन् । 

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १५:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया