यसपालि यी चार मैदानमा हुँदैछन् ए डिभिजन लिगका खेल

यही २९ कात्तिकदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यो सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

अघिल्लो संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदैछन् । मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगको लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ ।  

नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग २९ कात्तिक त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उद्घाटन हुँदैछ । 

पहिलो खेल सातदोबाटोले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा उद्घाटन समारोह हुनेछ । उद्घाटन खेल ‘फ्लड लाइट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउने सक्ने बताएको छ ।

दशरथ रंगशालमा उद्घाटन हुने खेल ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्पपछि बनेको नयाँ रंगशालामा उद्घाटन खेलबाहेक अन्य म्याच भने दिउँसो ३ बजे हुनेछन् । 



काठमाडौंको मध्य भागमा रहेको रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन् । सुरुवाती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा तेक्निकल सेन्टरमा तोकिएको छ ।

एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ । उत्त खेल दिनको १२ बजे हुनेछ । कृतिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रिपूर्ण खेल खेलेका छन् । जुन प्रिसिजनअघिको अभ्यास खेलको रूपमा व्याख्या गरिएको छ । 



तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।

यस्तै, चौथो खेल स्थलको रूपमा पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । जसलाई मनाङ मर्स्याङ्दी फुटबल क्लबले घरेलु मैदानको रूपमा प्रयोग गर्ने योजनामा छ । 

सोहीअनुसार तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो । कोरोनाका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने बताइएको छ ।

फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेसनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछन् ।   

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १५:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया