न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा, बाहिरियो भारत

न्युजिल्याण्ड क्रिकेट टोली युएईमा जारी आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज अफगानिस्तानलाई ८ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । 

समूह ‘१’ बाट न्युजिल्याण्ड र पाकिस्तान सेमिफाइनलमा पुगेका हुन् । समूह ‘२’ बाट अस्ट्रेलिया र इंग्ल्याण्डले सेमिफाइनलको यात्रा पक्का गरेका छन् । 

न्युजिल्याण्ड सेमिफाइनलमा पुगेसँगै अफगानिस्तानको साथै भारत पनि विश्वकपबाट बाहिरिएको छ । सुपर–१२ अन्तर्गत पाँचौ खेलमा अफगानिस्तानले दिएको १ सय २५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । 

उसका लागि कप्तान केन विलियम्सनले अविजित ४०, डेभन कन्वे ३६, मार्टिन गुप्टिलले २८ र डारेल मिचेलले १८ रन बनाए । बलिङमा राशिद खान र मुजीबउर रहमानले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । उसका लागि नजिबुल्लाह जद्रानले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाए । 

त्यस्तै, गुलबन्दिन नाइबले १५ र कप्तान मोहम्मद नाबीले १४ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 



बलिङमा ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १७ रन दिएर तीन विकेट लिए । त्यस्तै, टिम साउथीले दुई, एडम मिल्ने, जिमी नीशम र इश सोढीले एक/एक विकेट लिए ।
  
 



  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १९:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया