बैंकहरूको नगद रित्तियो, कर्जा प्रवाह लगभग ठप्प

पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाहरू ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । वित्तीय प्रणालीमा तरलताको चाप बढ्दै गएकाले यो अवस्था निम्तिएको हो । 

बैंकिङ प्रणालीमा रहेको तरलताको आकार खुम्चिँदै लगानीयोग्य पुँजी १४ अर्ब ४१ करोडमा सीमित भएको छ, जसका कारण अधिकांश बैंकहरू कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा छन् ।
    
यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जा-पुँजी-निक्षेप अनुपात (सिसिडी) रेसियोलाई हटाएर कर्जा-निक्षेप अनुपात (सिडी) रेसियो लागू गरेको थियो । यसको अर्थ कूल निक्षेप संंकलनको १० प्रतिशत रकम जगेडा राख्दै बाँकी ९० प्रतिशतमात्रै लगानी गर्न पाइन्छ । 

राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा सिडी रेसियो ९० प्रतिशत कायम राख्नुपर्नेछ । यही नीतिका कारण अहिले बैंकहरू कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

गत असोज मसान्तसम्मको तथ्यांकअनुसार औसत सिडी रेसियो ८८.७४ प्रतिशत थियो भने आठवटा बैंकको यस्तो रेसियो ९० प्रतिशत नाघिसकेको छ । ती बैंकहरुले कर्जा प्रवाह रोकी नै सकेका छन् । सिडी रेसियो सबैभन्दा बढी हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । उक्त बैंकको सिडी रेसियो असोज मसान्तमै ९५.३७ प्रतिशत पुगेको थियो । 

यसैगरी नेपाल एसबिआई बैंकको ९५.०८ प्रतिशत, हिमालयनको ९३.५४ प्रतिशत, कु्मारीको ९२.१३ प्रतिशत, एनएमबीको ९१.२७ प्रतिशत, मेगाको ९१.२१ प्रतिशत, बैंक अफ काठमान्डूको ९०.४८ प्रतिशत र प्राइम बैंकको ९०.२५ प्रतिशत सिडी रेसियो पुगेको थियो ।

अन्य बैंकहरुको सिडी रेसियो पनि लगभग तोकिएको बिन्दुमा पुग्न लागेको छ । तथ्यांकअनुसार कृषि विकास बैंकको ८८.९९, ग्लोबल आइएमईको ८९.१४, लक्ष्मीको ८८.९४, माछापुच्छे«को ८८.१०, नबिलको ८८.६४, नेपाल बंगलादेशको ८७.३८, नेपाल बैंकको ८६.२३ प्रतिशत पुगिसकेको छ । यसैगरी सेञ्चुरी बैंकको ८८.७०, सिटिजन्सको ८७.३९, सिभिलको ८७.९४, एभरेस्ट बैंकको ८६.३९ सिडी रेसियो पुगिसकेको छ । 



यस्तै एनसिसी बैंकको ८९.९६, एनआईसी एसियाको ८५.३२, प्रभुको ८२.६४, राष्ट्रिय वाणिज्य बैंकको ८५.११, सानिमाको ८५.२५, सिद्धार्थको ८७.७५, स्ट्यान्डर्ड चार्टर्डको ८८.०६ र सनराइज बैंकको ८४.६५ प्रतिशत सिडी रेसियो पुगेको छ ।

घट्दो निक्षेप बढ्दो कर्जा 



बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि असोज लागेपछि केही दिन बैंकिङ प्रणालीमा निक्षेप बढिरहेको थियो । तर कात्तिक महिना सुरु भएपछि बैंकिङ प्रणालीमा आएको नगद एकाएक ‘गायब’ भएको अवस्था छ ।  गत असोज १९ गते मंगलबार एकैदिनमा ११ अर्ब नगद घटेको देखिएको छ । उक्त दिन कमर्सियल बैंंकिङ प्रणालीमा ४२ खर्ब ५४ अर्ब निक्षेप रहेकोमा भोलिपल्ट बुधबार ४२ अर्ब ४३ अर्ब मात्रै रहन गयो । त्यसको एक महिना अर्थात् कात्तिक १६ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ४२ खर्ब ४० अर्ब रुपैयाँ मात्रै निक्षेप छ ।
 
गत आवको अन्तिम अर्थात् गत असार मसान्तमा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो । त्यसपछि गत साउन मसान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपैयाँ पुगेको थियो भने भदौ मसान्तमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ थियो । असोजको पहिलो सातासम्म यस्तो निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ थियो । त्यसपछि गत असोज ११ गतेसम्म आइपुग्दा त्यस्तो रकम ४१ खर्ब ४६ अर्ब संकलन भएको थियो । असोज तेस्रो सातामा चालू आवमा भएको घाटा परिपूर्ति गर्दै १ खर्ब ३ अर्बले निक्षेपमा बृद्धि हुँदै ४२ खर्ब ४९ अर्ब पुगेको थियो ।  

बैंकिङ प्रणालीमा रकम अभाव भएको बेला कर्जा लगानीमा भने उच्च चाप परेको छ । गत असोज २० गते बुधबारसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ३९ खर्ब ९६ अर्ब रुपैयाँ थियो । अहिले कात्तिकको १६ गतेसम्मको तथ्यांकले वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४० खर्ब २६ अर्ब देखाएको छ ।

गत आवको असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो । यस्तो कर्जा लगानी साउन मसान्तमा ३७ खर्ब ६४ अर्ब पुगेको थियो । भदौ मसान्तमा बैंकहरूले ३८ खर्ब ७२ अर्ब मात्रै कर्जा प्रवाह गर्न सकेका थिए । 

असोजको पहिलो सातासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूले ३९ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेका थिए । दोस्रो साताको मंगलबारसम्म आइपुग्दा यस्तो कर्जा ३९ खर्ब १८ अर्ब रुपैयाँ पुगेको थियो । तेस्रो सातासम्ममा बैंकहरूले प्रवाह गरेको कर्जाको आकार ४३ अर्बले बढ्दै ३९ खर्ब ६१ अर्ब पुगेको थियो ।
 

  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १५:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया