बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । 

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । 

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । 

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेकोसभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

बाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । सभामुख श्रेष्ठका अनुसार बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका हुन् । 



प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन् । 

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका नेता हुन् । 



  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १७:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया