जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान त्रुटिपूर्ण रहेकाले संशोधनमार्फत र यसमा भएका कमी–कमजोरी सच्याउनुपर्ने बताएका छन् ।
जसपा रूपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रोहिणी ३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संघीयता विरोधी कांग्रेस र कम्युनिस्ट मिलेर त्रुटिपूर्ण संविधान बनाएको आरोप लगाउँदै संविधानको संशोधन अहिलेको आवश्यकता रहेको बताए ।
संविधानमा उल्लेख भएको ७ वटा प्रदेश अव्यावहारिक र अवैज्ञानिक रहेकोले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै उचित भएको उनले बताए ।
अहिलेको संविधान मुलुकको सातौँ संविधान भएको र संविधान संशोधनतर्फ अगाडि नबढे जनताले आठौँ संविधान बनाउने उनले दाबी गरे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता यादवले अहिलेको निर्वाचन प्रणाली गलत भएको बताउँदै उनले विश्वका ७१ वटा मुलुकमा रहेको समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए ।
खर्चिलो निर्वाचन प्रणालीका कारण आमजनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।