जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् ।
काठमाडौंसहित देशभर चिसो बढेसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्नेतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन् ।
मंगलवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने उनले जनाए । यस्तो समस्याबाट जोगिन चिसोबाट टाढै रहन, तातो र न्यानो कपडा लगाउन, बाहिर नहिँड्न, धुवाँ र धुलोबाट बच्न र मर्निङ वाकमा ननिस्कन डा ढुंगेलले सुझाएका छन् ।
यस्ता फ्लूबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक, कान, मुख नचलाउन पनि उनले आग्रह गरेका छन् । भाइरसबाट बच्नको लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउन पनि उनले सुझाएका छन् ।
‘चिसो मौसम बढेकोले साना बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले एकदमै सतर्कता अपनाउन पर्ने हुन्छ,’ डा. ढुंगेलले भने, ‘अहिले फ्लूको सिजन हो, कोभिड पनि छ । यो बेलामा बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुलाई अलिकति अफ्ठ्यारो बनाउने गर्छ । श्वासप्रश्वासमा समस्या बनाउने हुनाले चिसोबाट जोगिन तातो, न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ–धुलो बिहानको समयमा हुने गरेकोले बिहान मर्निङ वाकमा ननिस्कँदा राम्रो हुन्छ ।’
डिनो, राइनो भाइरसले बच्चाहरूमा धेरै रुघाखोकी गराउने उनले बताए । चिसोको समयमा विशेष गरी बालबच्चा, वृद्धवृद्धा, सुत्केरी, दीर्घरोगीहरु– किड्नी, सुगर, मुटु, बाथ रोग, क्यान्सर वा न्यूरोलोजिकल केही समस्या भएका मानिसहरुले विशेष गरी जोगिनु पर्ने उनले जनाए ।
‘जोगिने उत्तम उपाय भनेको भ्याक्सिन पनि हो । नोभेम्बरमा २०२२ को लागि नयाँ इन्फ्लुएन्जाको भ्याक्सिन आउँदैछ, अहिलेसम्म सायद बजारमा आइसकेको छैन होला । तर नयाँ फ्लूको भ्याक्सिन आइसकेपछि सबै ६ महिना माथिका मानिसहरुले लाउनै नमिल्ने मेडिकल कन्डिसन छैन भने सबैले अनिवार्य रुपमा फ्लूको भ्याक्सिन लगाउनु होला, त्यसले मौसमी रुघाखोकीबाट पनि जोगिन्छ,’ उनले भने ।
डा. ढुंगेलले सबै नागरिकहरुले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । उनका अनुसार कोभिड–१९ का बेला गरिरहेका आचरणलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।