‘ए’ डिभिजन लिग : गत संस्करणभन्दा थप उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जावलाखेल

सन् १९७२ मा स्थापना भएको जावलाखेल युथ क्लबले शीर्ष डिभिजन लिग खेल्न थालेको २ दशक बितिसकेको छ । उसले यसपटकको लिगमा पनि आफ्नो चुनौती प्रस्तुत गर्दैछ । 

जावलाखेलले १ मंसिरमा मनाङ मर्स्याङ्दी क्लबसँगको खेलबाट लिगको सुरुवात गर्नेछ । लिगमा मध्यम प्रदर्शन गरिरहेको जावलाखेल यो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले बताए । 

‘हामी लिगका लागि तयार छौँ,’ क्षेत्रीले फरकधारसँग भने, ‘शीर्ष लिग खेल्न त्यति सहज हुने छैन तर हामीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मिहिनेत पनि गरिरहेका छौँ ।’

‘ए’ डिभिजनमा हालसम्म जावलाखेलको प्रदर्शन

जावलाखेलले सन् २००० देखि शीर्ष डिभिजन खेल्न थालेको हो । लिगको इतिहासलाई हेर्ने हो भने उसको प्रदर्शन मध्यम छ । सन् २०११ को सिजनमा तेस्रो स्थान हासिल गर्नु लिगमा जावलाखेलको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । 

सन् २००० को डेब्यु सिजनमा पाँचौँ स्थान हासिल गरेको जावलाखेल सन् २००३/०४ मा सातौँ, २००४ मा छैटौँ र २००५/०६ मा ११ औँ स्थानमा थियो । 



जावलाखेल २०१० मा सातौँमा रहँदा २०१२/१३ को सिजनमा १३ औँ स्थानमा रह्यो । उसले सन् २०११/१२ को राष्ट्रिय लिगमा चौथो स्थान हासिल गरेको थियो । 

सन् २०१३र१४ को सिजनमा ११ औँ स्थानमा रहेको जावलाखेलले २०१८/१९ मा १० औँ तथा सन् २०१०/२० को पछिल्लो सिजनमा छैटौँ स्थान हासिल गरेको थियो । जावलाखेलले सन् २०१५ को राष्ट्रिय लिगमा भने सहभागिता जनाएको थिएन ।



१ करोडभन्दा बढी खर्च हुने अनुमान 

जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री अहिले क्लबको बजेट खुलाउन नमिल्ने भएपनि लिगमा १ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको बताउँछन् । ‘हामीले लिगका लागि केही बजेट छुट्टाएका छौँ त्यो अहिले खुलाउन मिल्दैन, लिगमा कति खर्च लाग्छ भन्ने लिगपछि मात्र थाहा हुन्छ । तर, १ करोडभन्दा माथि खर्च हुने अनुमान गरेका छौँ,’ उनले भने ।

क्लबको मुख्य आम्दानीको स्रोत क्लब भवनबाट उठेको भाडा नै हो । योबाहेक क्लबलाई एन्फा, स्पोन्सरसिप तथा अन्य सहयोगीबाट केही रकम प्राप्त हुन्छ । जावलाखेललाई प्रभु बैंकले मुख्य प्रायोजकको रूपमा साथ दिएको छ । 

त्यस्तै खेलाडी अनुबन्धकै क्रममा रहेकाले उनीहरुले के कस्ता तलब भत्ता तथा सेवा सुविधा प्राप्त गर्छन् भन्ने अहिले बताउन नमिल्ने क्षेत्रीको तर्क छ । 

आफ्नै मैदानमा अभ्यास

नेपालका शीर्ष लिग खेल्ने थोरै क्लबले मात्र आफ्नै मैदानमा अभ्यास गरिरहेका छन् । तीनै क्लबमध्ये एक हो जावलाखेल । क्लबले जावलाखेलस्थित आफ्नै मैदानमा अभ्यास गरिरहेको छ । 

‘लिगमा हाम्रो लक्ष्य भनेको उत्कृष्ट प्रदर्शन गर्नु हो । हामीले लिगका लागि नै भनेर दैनिक ३ घन्टा अभ्यास गरिरहेका छौँ,’ क्षेत्रीले भने । 

प्रदर्शनलाई निरन्तरता दिने सोच 

जावलाखेलले अघिल्लो संस्करण छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । क्लब यो वर्ष पनि त्यही सफलतालाई दोहोर्‍याउने सोचमा छ । 

‘हामीले अघिल्लो संस्करणमा छैटौँ स्थान हासिल गरेका थियौँ’, उनले भने, ‘यो वर्ष सकेसम्म राम्रो प्रदर्शन गर्दै त्योभन्दा माथि उक्लिने सोच हो तर कम्तिमा पनि पुरानो प्रदर्शनलाई निरन्तरता दिनु हाम्रो मुख्य लक्ष्य हुनेछ ।’  

खेलाडी अनुबन्धकै प्रक्रियामा

लिग नजिकिँदै गर्दा जावलाखेललाई खेलाडी अनुबन्धको चटारो छ । क्लबले केही स्वदेशी तथा विदेशी खेलाडी भित्र्याउने प्रक्रिया सुरु गरेको भएपनि त्यो पूरा हुन केही दिन लाग्ने क्षेत्रीले बताए ।  

‘हामीले केही खेलाडीलाई अनुबन्धन गरिसकेका छौँ भने केही प्रक्रियामा छन्’, क्षेत्रीले भने, ‘अबको केही दिनमा यसको टुङ्गो लाग्छ होला ।’

जावलाखेलका चर्चित खेलाडी 

जावलाखेलले अझै केही खेलाडी अनुबन्ध गर्न बाँकी छ । हाल उसँग भएकामध्ये सबैभन्दा बढी चर्चा कमाएका खेलाडी हुन् सुरज ज्यु ठकुरी । २१ वर्षीय मिडफिल्डर सुरजले पछिल्लो समय नियमित नेपाली सिनियर टोलीमा स्थान बनाइरहेका छन् । 

उनले यही वर्ष कुवेतमा भएको विश्वकप तथा एसियन कपको संयुक्त छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले  विराटनगर सिटी फुटबल क्लबबाट नेपाल सुपर लिग पनि खेलेका थिए ।  

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १९:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया