टी-२० विश्वकप : सेमिफाइनल पुग्ने टोलीको हालसम्मको प्रदर्शन

सन् २००७ बाट सुरु भएको टी–२० विश्वकपको सातौँ संस्करण युएईमा जारी छ । प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइसकेको छ ।

बुधबार हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दा बिहीबारको दोस्रो सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया आमनेसामने हुनेछन् । 

यस्तो छ सेमिफाइनल पुग्ने टोलीको प्रदर्शन

 पाकिस्तान

सुपर–१२ को समूह ‘२’ मा रहेको पाकिस्तान जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । उसले समूह चरणका पाँचै खेलमा जित हात पारेको थियो ।

पहिलो खेलमा भारतमाथि १० विकेटको शानदार जित हात परेको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा अफगानिस्तानलाई ५ विकेट पराजित गरेको पाकिस्तानले चौथो खेलमा नामिबियालाई ४५ र पाँचौँ खेलमा स्कटल्यान्डलाई ७२ रनले हराएको थियो ।  



सन् २००९ टी–२० विश्वकप उपाधि हात पारेको पाकिस्तान दोस्रो उपाधिको खोजीमा हुनेछ । कप्तान बाबर आजम पाकिस्तानका प्रमुख ब्याटर हुन् । प्रतियोगिताको सर्वाधिक रनकर्तासमेत रहेका उनले ५ खेलमा ४ अर्धशतकसहित २६४ रन बनाएका छन् । 

ब्याटिङमा आजमलाई मोहम्मद रिजवान, शोएब मलिक, आसिफ अलीलगायत खेलाडीले साथ दिइरहेका छन् । बलिङमा पाकिस्तानका लागि हरिस रौफ प्रमुख हतियार हुन् ।



उनले ५ खेलमा २० ओभर बलिङ गर्दा १३६ रन खर्चिएर ८ विकेट हात पारेका छन् । रौफलाई शाहिन शाह अफ्रिदी, शाहद खान, इमाद वसीमलगायतले साथ दिइरहेका छन् ।  

न्युजिल्यान्ड  

न्युजिल्यान्डले सुपर–१२ का ५ खेलमा ४ जित र १ हारको नतिजासहित समूह ‘२’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले हार बेहोरेको न्युजिल्यान्डले दोस्रो खेलमा भारतलाई ८ विकेट, तेस्रो खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गरेको थियो ।

न्युजिल्यान्डले चौथो खेलमा नामिबियालाई ५२ रन तथा पाँचौँ खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्‍यो ।

न्युजिल्यान्ड पहिलो टी–२० विश्वकप उपाधि उचाल्ने प्रयासमा छ । मार्टिन गुप्टिल न्युजिल्यान्डका प्रमुख ब्याटर हुन् । उनले ५ खेलमा १अर्धशतक सहित १७६ रन बनाएका छन् । गुप्टिललाई कप्तान केन विलियम्सन, डेरिल मिचेल जस्ता खेलाडीले साथ दिइरहेका छन् ।  

ट्रेन्ट बोल्ट न्युजिल्यान्डका प्रमुख बलर हुन् । उनले समूह चरणका पाँच खेलमा १९.४ ओभर बलिङ गर्दा ११५ रन खर्चिएर ११ विकेट हात पारेका छन् । बोल्टलाई इश सोधी, टिम साउदीलगायतको साथ छ ।

इंग्ल्यान्ड

इग्ल्यान्डले ५ खेलमा ४ जितको नतिजासहित सुपर १२ को समूह ‘१’ बाट विजेताका रूपमा सेमिफाइनमा स्थान बनाएको हो । उसले समान अंक भएपनि नेट रन रेटमा अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई पछि पार्‍यो । 

इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेट तथा दोस्रो खेलमा बंगलादेश र तेस्रो  अस्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो । चौथो खेलमा श्रीलंकालाई २६ रनको हराएको इंग्ल्यान्ड पाँचौँ खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको थियो । 

सन् २०१०को टी–२० विश्वकप उपाधि उचालको इंग्ल्यान्ड दोस्रो उपाधि हात पार्ने दाउमा हुनेछ । जोस बटलर इंग्ल्यान्डका प्रमुख ब्याटर हुन् ।​ बटलरले ५ खेलमा समान १ शतक र अर्धशतकसहित २४० रन जोडेका छन् । उनलाई जेसन रोय, कप्तान इयान मोर्गनलगायतको साथ छ । 

बलिङतर्फ आदिल राशिद  इंग्ल्यान्डका प्रमुख हतियार हुन् । उनले ५ खेलमा १८.२ ओभर बलिङ गर्दा १०७ रन खर्चिएर ८ विकेट हात पारेका छन् ।
 
राशिदलाई मोइल अली, टाइमल मिल्स जस्ता खेलाडीले साथ दिइरहेका छन् । यद्यपि मिल्स र रोयले सेमिफाइनल गुमाउने सम्भावना बढी छ । उनी दुवै घाइते छन् । 

अस्ट्रेलिया

अस्ट्रेलिया ५ खेलमा ४ जितको नतिजासहित सुपर–१२ को समूह ‘१’ बाट उपविजेताको रूपमा सेमिफाइन पुगेको हो । उसले समान अंक भए पनि नेटरनरेटमा दक्षिण अफ्रिकालाई पछि पार्यो । 

अस्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको थियो । उसले इंग्ल्यान्डसँगको तेस्रो खेलमा ८ विकेटले हारको सामना गर्दा   चौथो खेलमा बंगलादेश तथा पाँचौँ खेलमा वेस्ट इन्डिजलाई ८/८ विकेटले हराएको थियो ।  

अस्ट्रेलिया पहिलोपटक टी–२० विश्वकप उपाधि हात पार्ने दाउमा हुनेछ । डेविड वार्नर अस्ट्रेलियाका प्रमुख ब्याटर हुन् । उनले ५ खेलमा २ अर्धशतकसहित १८७ रन बनाएका छन् । 

जारी विश्वकपमा उनलाई कप्तान आरोन फिन्च, स्टिभ स्मिथलगायत खेलाडीले साथ दिइरहेका छन् । एडम जम्पा अस्ट्रेलियाका प्रमुख बलर हुन् । उनले ५ खेलमा १९ ओभर बलिङ गर्दा १०९ रन खर्चिदै ११ विकेट लिएका छन् ।  बलिङमा जम्पालाई जोस हेजलउड, मिचेल स्टार्च, प्याट कमिन्सले साथ दिइरहेका छन् । 

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १९:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया