एक महिनामा पर्यटनमन्त्री प्रेम आलेका सन्देशमूलक काम

अघिल्लो केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री बनेर चर्चामा आएका प्रेम आले मगरले माधव नेपालको नेतृत्वमा एमाले विभाजन हुँदा नेपाललाई साथ दिएर एकीकृत समाजवादीमा लागे । ओली नेतृत्वको सरकारका खम्बा आलेले एकाएक माधव नेपाललाई साथ दिँदा राजनीतिक वृत्तमा त्यसको राम्रै चर्चा भयो । त्यही अफ्ठ्यारोमा दिएको साथका कारण माधव नेपालले उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा संस्कति पर्यटन तथा नागरिक उड्यनमन्त्रीका लागि सिफारिस गरेर मन्त्री बनाए । 

असोज २२ गते मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेको सूचीमा प्रेम आलेको नाम निश्चित थियो । उनले आफ्नै रुची र दाबीबमोजिम पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

उनको चाहनाअनुसार नै आलेलाई नेकपा एसबाट पर्यटन मन्त्रालयको लागि सिफारिस गरिएको थियो । उनले संस्कति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पाएको ठीक एक महिना पूरा भएको छ । एक महिनामा उनले केही सकारात्मक प्रयासको थालनी गरेका छन् । 

वायुसेवा निगममा ९९ दिनको आन्दोलन स्थगित

मन्त्री नियुक्त भएलगत्तै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र कर्मचारी ट्रेड युनियनबीचको विवादलाई समाधान गर्न आले सफल भएका थिए । जबकि निगममा ९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी थियो ।  

महाप्रबन्धक र कर्मचारीबीच निगमलाई निजीकरण गर्ने या नगर्ने भन्ने विषयमा विवाद चलिरहेको थियो । कर्मचारीले कार्यालय प्रांगणमा धर्नासहित आन्दोलन थालेपछि महाप्रबन्धक पौड्याल निगमबाहिरै बसेर काम गर्नुपर्ने बाध्यतामा थिए । सोही समय नियुक्त भएका पर्यटन मन्त्रीले कर्मचारी र महाप्रबन्धकको विवाद मिलाएर निगममा सौहार्द वातावरण तय गर्न सफल भए ।  



विमानस्थलमा पिसिआर परीक्षणको शुल्क घटाए  

पर्यटनमन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भ्रमण गर्ने क्रममा विमानस्थलभित्र राखिएको पिसिआर परीक्षण ल्याबले वैदेशिक रोजगारमा जाने यात्रुलाई २ हजार शुल्क लिने गरेको थाहा पाएपछि तत्काल सो शुल्क घटाउन निर्देशन दिएका थिए । मन्त्रीले विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीलाई सो निर्देशन दिएसँगै उक्त शुल्कमा आठ सय रुपैँया घटेको थियो ।  



मन्त्रीकै ठाडो निर्देशनपछि ल्याब सञ्चालकहरुले विदेश जाने कामदारको पिसिआरमा १२ सय मात्रै लिने गरेका छन् । यो विमानस्थल सुधारको सकारात्मक सन्देश बनेको छ । 
 
गोल्डेन गेटबाट निःशुल्क माइक्रोबस

पर्यटनमन्त्रीकै निर्देशनमा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईवटा माइक्रोबस व्यवस्थापन गरिसकेको छ । 

पर्यटनमन्त्री आलेले यही सोमबार विमानस्थल पुगेर उक्त सेवाको उद्घाटन गरेका थिए । उनले सो बेला थप दुईवटा माइक्रो व्यवस्था गर्न निर्देशन दिएका थिए । ट्याक्सीले अत्यधिक शुल्क लिँदा मारमा आन्तरिक उडानका यात्रु सो व्यवस्थाबाट लाभान्वित बनेका छन् । यो आन्तरिक उडानतर्फको अर्को सकरात्मक सन्देश हो ।  

यात्रुसँग माफी मागे

असोज ३१ गते काठमाडौंबाट भोजपुर जाने सात यात्रुलाई नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सो घटनाले समाचारमाध्यममा स्थान पायो । समाचार बाहिर आउनेबित्तिकै पर्यटनमन्त्री आलेले चासोका साथ सो विषयमा विमानस्थलबाट जानकारी लिए । कात्तिक १ गते बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलमा पुगे । 

भोजपुर उडानमा सात यात्रु छुटेको घटनाबारे जानकारी लिन निगमको कर्मचारीलाई उनले बोलाए । अघिल्लो दिन छुटेका सात यात्रु भोलिपल्ट बिहान ९ बजे भोजपुर उड्दै थिए । यात्रुहरूले निगमकै कारण आफूहरु छुटेको बताएपछि पर्यटनमन्त्री आलेले यात्रुहरुसँग माफी मागे । ‘तपाईंहरूले दुःख पाउनुभयो, सरी ! अब राम्रोसँग जानुहोला, शुभयात्रा ।’ भन्दै मन्त्रीले माफी मागेपछि यात्रुहरु प्रफुल्ल बनेका थिए । यसरी मन्त्रीले जनतासँग माफी मागेको सायद यो पहिलो घटना हुन सक्छ । 

फरकधारसँग कुरा गर्दै पर्यटनमन्त्री आलेले एक महिनाभित्र देखिनेगरी सकारात्मक काम गरेको बताए । ‘नेपालको पर्यटन क्षेत्रमा ठोस कार्यहरु गर्ने योजना बनाएको छु । विवादित क्षेत्र र विषयलाई पनि टुंगोमा पुर्याउनेछु,’ उनले भने, ‘नेपालको आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा छिट्टै देखिने गरी काम गर्नेछु ।’

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार २१:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया