ईश्वर पोखरेल आउने भएपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा

प्रमुख जिल्ला अधिकारीले सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी गरेका छन् । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् । 

कमलामाई नगरपालिकास्थित स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने अवस्था देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । 

सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन गर्ने र त्यहाँ नजिकै रहेको बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकद शालिक पनि अनावरण गर्ने कार्यक्रम कमलामाई नगरपालिकाले राखेको थियो । 

त्यसका लागि प्रमुख अतिथिको रूपमा एमाले महासचिव ईश्वर पोखरेललाई बोलाइएको थियो । पोखरेललाई प्रमुख अतिथि बनाइएको विरोधमा सत्ता गठबन्धनका कार्यकर्ताले विरोध जनाएका छन् । कार्यक्रममा सहभागी हुने पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेका थिए ।  

हिजो दिनभर गठबन्धनका कार्यकर्ताहरूले बाल उद्यान पार्कलाई घेरा हालेका थिए भने एमाले कार्यकर्ता समेत भेला भएका थिए ।



जसले गर्दा झडपको स्थिति बनेपछि सर्वदलीय बैठक बसेर गढीमा विजयउत्सव मनाउने र बाल उद्यान पार्कको उद्घाटनपछि गर्ने सहमति भएको थियो । तर, एमालेले भने उक्त कुरामा विमति जनाएको थियो ।

जसले गर्दा झडपको स्थिति बन्ने देखेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्न प्रजिअलाई सिफारिस गरेको थियो । सोही आधारमा आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ न्यौपानेले बताए । 



सिन्धुलीगढीमा भने विजयोत्सव समारोह भव्य रूपमा चलिरहेको तर उद्यानमा प्रतिमा अनावरण गराउने कार्यक्रम भने रोकिएको उनले बताए । 

नगरपालिकाले अर्को निर्णय गरेर उपयुक्त समयमा उद्यानमा प्रतिमा अनावरण गराउनेगरी तत्काल स्थगित गरिएको प्रजिअ न्यौपानेले बताए ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १२:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया