महाकाली चार लेन पुलको डिजाइन परिवर्तन गरिँदै

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माणाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । 

पुल निमार्ण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । 

पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुङ्गाको बाँध लगाउने भनिएको थियो । स्थानीयले ढुङ्गा व्यवस्थापनमा बिरोध गरेका कारण ढुङ्गाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सव-इञ्जिनियर दुर्गादत्त अवस्थीले जानकारी दिए । 

‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौँ । अब परिवर्तन भएर आएपछि मात्रै पुलको काम अघि बढ्नेछ,’ सव-इञ्जिनियर अवस्थीले भने । 

निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुङ्गा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षती गरेको जनायो । 



‘कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निमार्ण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाँध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ । हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौँ, त्यो भएन भने ५/७ महिना लाग्न सक्छ । यदी समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्न सक्छ,’  कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले भने ।

निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुङ्गा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुङ्गा आवश्यक पर्छन् । 



आयोजनाका अनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुङ्गा संकलन गर्ने भन्ने भएपनि स्थानीयका विरोधका बीच ढुङ्गा व्यवस्थापन गर्न नसकिएको हो । 

बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षती गरेको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौतामा निर्माण शुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो । 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १३:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया