एमाले महाधिवेशनः ओलीको रोजाइका महासचिव को ? विष्णु पौडेल कि शंकर पोखरेल र किन ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि अब धेरै दिन बाँकी छैन । दुई सातापछि चितवनको नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनको चटारोले अब एमालेका नेताहरुलाई छोइसकेको छ । यसको रौनक एमालेका विभिन्न तहका नेताहरुमा देखिन थालेको छ । 

अछाम पुगेर साँफेबगरको प्रथम नगर भेलामा एमाले उपाध्यक्ष भीम रावलले पनि यसको संकेत गरेका छन् । उनले त्यो कार्यक्रममा मंगलबार उनले खुलस्त त भनेनन् तर अबको महाधिवेशनमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीका रुपमा अध्यक्षमा उम्मेदवारी दिन सक्ने संकेत चाहिँ गरेका छन् ।

अध्यक्षमा यसअघि नै विधान महाधिवेशनले ओलीलाई एक्लो दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ । यो सन्दर्भमा ओलीसँग रावलले प्रतिस्पर्धा गर्दा पनि उनको पराजयको सम्भावना बढी छ । त्यसो त रावलले यो कुरा आफ्नो सम्बोधनमा पनि स्वीकार गरेका छन् । ‘पराजित हुन्छु भन्ने थाहा पाउँदा पाउँदै पनि पदमा उम्मेदवारी त दिन सकिन्छ,’ रावलले भनेका छन् ।
रावलबाहेक अहिलेसम्म एमालेमा अरु कसैले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीका रुपमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छैनन् ।

तर, पछिल्ला दिनमा अब एमालेको महासचिव को हुने हो भन्ने विषयमा चासो र चर्चा बढ्न थालेको छ । यसअघि महासचिव ईश्वर पोखरेलले अब आफूले महासचिवमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । उनलाई आफ्नो उत्तराधिकारीका रुपमा ओलीले वरिष्ठ उपाध्यक्ष बनाउन सक्ने अनुमान गरिएको छ । 

ईश्वर पोखरेलले आफू महासचिवमा नदोहोरिने बताएपछि एमालेको एउटा पंक्तिमा अब महासचिवमा दुई नामलाई लिएर चर्चा हुन थालेको छ ।

यी दुई नाम हुन्– शंकर पोखरेल र विष्णु पौडेल ।



लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको पद सम्हालिसकेका शंकर पोखरेल र लुम्बिनी प्रदेशको एमाले राजनीतिमा राम्रो पकड जमाएका विष्णु पौडेल दुवै महासचिव बन्ने होडबाजीमा पनि छन् । यी दुईलाई एउटै प्रदेशको भएकाले पनि पार्टीमा आफ्नो पकड राम्रो बनाउनका लागि पनि महासचिव बन्नु पर्ने बिफ्रिङ पनि गरिएको छ ।

प्रदेशमा पछिल्लो समय राम्रो होल्ड बनाएकाले र यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको नै महासचिव भएकाले विष्णु पौडेलले आफूलाई महासचिवको स्वभाविक उम्मेदवार ठानेका छन् । नेकपा एकताको समयमा अत्यन्त राम्रो भूमिका खेलेकाले पनि पार्टीमा आफ्नो बर्चश्व जमाउन उनी यसपटक महासचिव हुन चाहन्छन् । यसपटक महासचिव भएको खण्डमा उनले ११ औं महाधिवेशनमा आफूलाई पार्टी अध्यक्षका रुपमा अगाडि सार्न सहज हुने अनुमान गरेका छन् । उमेर हदका कारण ईश्वर पोखरेलको सक्रिय राजनीतिक यात्रा अर्को महाधिवेशनसम्म सकिने निश्चित छ । यस्तो अवस्थालाई पौडेल गुम्न दिन चाहँदैनन् ।



‘उहाँ निकै चतुर, तीक्ष्ण र पोलिटिकल मान्छे हो,’ नेकपा एमालेमा उनीनिकट एक नेता भन्छन्, ‘त्यसैले यो महाधिवेशनमा उहाँले सर्वसम्मतीमा नै आफूलाई महासचिव बनाउन सक्ने सम्भावना पनि छ । पछिल्लो समय नेपालको राजनीतिमा बर्चश्व राख्ने शीर्ष नेताहरुसँगको उहाँको सुमधुर सम्बन्धका कारण पनि उहाँ महासचिव बन्नु स्वभाविक लाग्न सक्छ ।’

प्रदेशको राजनीतिमा पछिल्ला महिना कमजोर हुँदै गएको मानिए पनि केन्द्रीय एमालेको राजनीतिमा प्रभाव कायम राखेका शंकर पोखरेल पनि यसपटक आफू नै महासचिव बन्नु पर्ने होडमा छन् । यसबारे उनले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेमा आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

‘अध्यक्ष ओलीले यसबारे अहिलेसम्म कसैसँग औपचारिक सल्लाह त गरेका छैनन्,’ नेकपा एमालेका एक नेताले फरकधारसँग भने, ‘तर, ओलीले छान्नु परेको खण्डमा शंकर पोखरेल नै पहिलो रोजाइ हुनसक्छन् ।’

किन ?

‘किनकि ओलीको बुझाइमा पौडेल समन्वयकारी भूमिकामा बढी निपूर्ण छन्, उनलाई अहिले महासचिव बनाउनुभन्दा अरु कुनै पदमा ल्याएर ओलीले अबको चुनावलाई टार्गेटमा राख्न सक्छन्,’ एमालेका ती नेता भन्छन्, ‘पार्टीका काममा चाहिँ विष्णु पौडेलभन्दा अगाडि पोखरेललाई नै ओलीले सार्ने गरेका छन् ।’

त्यसो त विधान महाधिवेशनमा पनि ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पढ्न शंकर पोखरेललाई नै दिएका थिए । ‘उहाँको स्वास्थ्यका कारण त्यो समारोहमा त्यति लामो राजनीतिक प्रस्ताव पढ्न सक्ने सम्भावना नै थिएन, उहाँले पोखरेललाई अगाडि सार्नु स्वभाविक नै हो,’ ती नेताले भने, ‘तर, यसको राजनीतिक अर्थ पनि छ, पोखरेललाई आफ्नो उत्तराधिकारीका रुपमा ओलीले प्रस्तुत गर्न खोजेको यसबाट बुझ्न सकिन्छ ।’

 

महासचिवमा घनश्याम भुसाल फ्याक्टर

​एमालेको राष्ट्रिय अधिवेशनमा महासचिव को बन्ने भन्ने कुरा टुंगो लाग्न अझै केही दिन पर्खिनु पर्ने हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो अधिवेशनमा पार्टीका पदाधिकारीहरु सबै सर्वसम्मत हुन् भन्ने चाहेका छन्, त्यसैले कुनै पनि नेताले उम्मेदवारी घोषणा नगरेसम्म यसको अन्तिम निक्र्योल निकाल्न अहिले हतार हुने देखिन्छ ।

अहिले केपी शर्मा ओली पक्षधर नेताहरुले महाधिवेशनमा महासचिवका यी दुई उम्मेदवार हुने निश्चित भएको बताउँदै आए पनि यसअघि माधवकुमार नेपाल समूहमा रहेका घनश्याम भुसाल पनि महासचिवका प्रबल दाबेदार हुन् ।

भुसालले यसपटक महासचिवमा नै उम्मेदवारी दिन्छन् वा उपाध्यक्षतिर जान्छन् भन्ने विषयमा अहिलेसम्म केही बोलेका छैनन् । त्यसैले उनको फ्याक्टरले पनि महासचिव को हुने भन्ने विषयमा प्रभाव पार्नेछ ।

आफूनिकटहरुसँगको भेलामा चाहिँ भुसालले शंकर पोखरेल महासचिवको उम्मेदवार भए आफू पछि हट्ने संकेत गरेका छन् । ‘एउटै ठाउँको भएर पनि होला, पौडेल उठेको खण्डमा आफूले पनि उम्मेदवारी दिने र पोखरेल महासचिव हुने विषयमा चर्चा भएमा यसबारे आफूले सोच्ने उहाँले बताउन थाल्नु भएको छ भन्ने चर्चा छ,’ नेकपा एमाले लुम्बिनी प्रदेशका एक नेताले फरकधारलाई बताए ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १४:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया