नायिका नटिक्ने बजार

सात वर्षअघि विकासराज आचार्यले चलचित्र ‘रिदम’ बनाए । चलचित्रले विकासको करिअरमा निकै राम्रो गर्यो । रिदमले पैसा मात्रै कमाएन, चलचित्र समीक्षकको राम्रो मार्क पनि पायो । यही चलचित्रबाट नेपाली रजतपटमा दुई अभिनेत्री निश्मा घिमिरे र श्वेता भट्टराई देखा परे । 

‘रिदम’पछि विकासराजले ‘नाइँ नभन्नू ल’का ५ सिरिज बनाए । रिदमबाटै रजतपटमा आएका बालकलाकार अनुभव रेग्मी अहिलेसम्म सिने उद्योगमा काम गरिरहेका छन् । विकासले नै बनाएका ‘नाइँ नभन्नू ल’का पाँचवटै सिरिजमा अनुभवले अभिनय गरे । तर, ‘रिदम’बाट सिने उद्योगमा देखिएका श्वेता र निश्मा यो उद्योगबाट पलायन भए । निश्मा कोरियोग्राफर गम्भीर विष्टसँग घरजम गरेर बसिन् । निर्माता मिलन सापकोटासँग विवाह गरेकी श्वेताले ‘ब्ल्याकमेल, प्रोड्यूसर’लगायत केही चलचित्रमा अभिनय त गरिन् । तर, उनी पनि यो उद्योगमा टिक्न सकिनन् । कोरोनाकालमा श्रीमान् गुमाएकी श्वेता अहिले सिनेउद्योगबाट गुमनाम छिन् । 

चलचित्र ‘होस्टल’मा अभिनेता अनमोल केसीको जोडी कलाकारका रुपमा देखा परिन्, प्रकृति श्रेष्ठ । फिल्मले नेपाली बक्स अफिसमा राम्रै कलेक्सन गर्यो । प्रकृति र अनमोलको जोडीको राम्रै चर्चा पनि भयो । प्रकृतिले ‘होस्टल’पछि ‘उत्सव’मा अभिनय गरिन् । केही म्युजिक भिडियोमा पनि अभिनय गरिन् । तथापि प्रकृति पनि यो उद्योगमा टिक्न सकिनन् । तर, प्रकृतिसँगै करिअर सुरु गरेका अनमोल नेपालकै सर्वाधिक महँगो अभिनेताका रुपमा स्थापित भएका छन् । अनमोल नेपाली फिल्म उद्योगमा अझै राज गरिरहेकै छन् । प्रकृति लामो समयको अन्तरालपछि म्युजिक भिडियोमा पुनः देखा परेकी छिन् । फेरि पनि उनी फिल्म उद्योगमा नै जीवन बिताउने सोचमा छैनन् ।
 
चलचित्र ‘सायद’ले अनिता दाहाललाई अभिनेत्रीका रुपमा सिने उद्योगमा भित्र्यायो । सायदले राम्रै चर्चा कमायो । पैसा पनि कमायो । तर, यो चलचित्रबाट करिअर सुरु गरेकी अनिता हिजोआज कता छन् कसैलाई थाहा छैन । 

चलचित्र ‘अन्तराल’बाट रंगीन दुनियाँमा होमिएकी अभिनेत्री हुन्– अशिष्मा नकर्मी । चलचित्र उद्योगमा औसत मानिएको ‘अन्तराल’बाट अशिष्माको राम्रै चर्चा भयो । त्यसपछि उनी केही समय व्यस्त नायिकाको सूचीमा पनि परिन् । म्युजिक भिडियो तथा ‘लभ यु बाबा, राघव, अधकट्टी, बाटोमुनिको फूल २, राधे’ लगायत चलचित्रमा अभिनय गरिन् । केही अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड समेत उचालिन् । तर, अहिले यी नायिकाको पनि सिने उद्योगमा चर्चा छैन । अमेरिकामा बस्ने नेपाली युवासँग लगनगाँठो कसेकी अशिष्मा अमेरिकामा नै रमाइरहेकी छिन् । उनी लगभग सिने उद्योगबाट पलायन भइसकेकी छिन् । 

नयाँ मात्रै होइन, पुराना अभिनेत्रीको पनि अवस्था उस्तै हो । राजेश हमालको सिने उद्योगमा चर्चा भइरहँदा उनीसँगै अभिनय गरेका निरुता सिंह, विपना थापा, जल शाह, कृष्टि मैनाली, उषा पौडेललगायत अभिनेत्रीलाई पछिल्लो पुस्ताले चिन्नै पाएन । हिजोदेखि आजसम्मलाई हेर्दा नेपाली फिल्म उद्योगमा नायिकाको आगमन खहरेजस्तै देखिन्छ । जो आउँदा उर्लिएर आउँछन् र छिट्टै हराएर जान्छन् । 

आखिर किन टिक्न सक्दैनन् त सिने उद्योगमा नायिका ? पछिल्लो समय सिने उद्योगमा लामो समय टिकेकी अभिनेत्री केकी अधिकारी भन्छिन्, ‘लगनशीलतालाई निरन्तरता दिन नसक्ने र दृढ इच्छाशक्ति नहुने हो भने पलायन हुनुको विकल्प हुँदैन । जो थोरै समय देखिएर किनारा लागे, सायद उहाँहरुमा यी गुण पो थिएनन् कि ! किनारा लागेका सबैको हकमा उल्लेखित कुरा लागू नहुन पनि सक्छ ।’ 



आज पनि नायकका नाममा फिल्म बिक्री हुन्छ । फिल्ममेकरहरु नायकमा लगानी गर्छन् । नायिकामा लगानी गर्न डराउँछन् । उनीहरु ग्ल्यामरका लागि नयाँ युवती फिल्म उद्योगमा भित्र्याउँछन् । त्यसैले पनि नायिकाहरु लामो समय फिल्म उद्योगमा टिक्न नसक्ने नायिकाहरुकै गुनासो छ । नायिकाहरुको यो गुनासो स्वीकार गदैनन्, निर्माता । निर्माता सुनील रावलचाहिँ अलि चल्नासाथ पारिश्रमिक धेरै खोज्ने, तर सोहीअनुरूप सहजतासाथ अब्बल काम नगर्ने भएकाले नयाँ अनुहार रोजाइमा पर्ने गरेको बताउँछन् । 

अभिनेत्रीको तुलनामा निकै कम अभिनेता सिने उद्योगमा भित्रन्छन् । भित्रिएकामध्ये धेरैले लामो समय काम गर्छन् । क्षमता नभएर उद्योगबाट किनारा लाग्नु एउटा कुरा । क्षमताका कारण किनारा लागेका अभिनेता पनि छन् । तर, नायिकाको तुलानामा निकै कम । थुप्रै नायिका क्षमता हुँदाहुँदै पनि किनारा लागेका छन् । कारण अझै पनि नेपाली फिल्म उद्योगमा नायिकालाई ‘सो–अप’का रुपमा प्रस्तुत गर्ने चलन छ । नायिकालाई ग्ल्यामरससँग जोडेर हेर्ने फिल्म उद्योगमा नयाँ नायिका भित्र्याउँदा दर्शकको ध्यान तान्न सकिन्छ भन्ने भ्रम निर्मातामा छ । एक–दुई फिल्ममा अभिनय गरेका अभिनेत्री नै यो उद्योगमा पुराना अभिनेत्रीभित्र पर्छन् । 



कतिपय अवस्थामा नायिका आफैँमा पनि दीर्घकालीन सोच देखिँदैन । एकैपटक चर्चा कमाउन खोज्दा उद्योगबाटै हात धुनुपरेका पनि थुप्रै उदाहरण छन् । चलचित्र ‘सिलसिला’मा नायिका सोनिया केसीले एकाएक चर्चा बटुलिन । छिट्टै चिनिने र स्थापित हुने लोभमा चलचित्रमा उनले नायक राज तिमल्सिनासँग ‘टङ किस’ गरिन् । फिल्म चल्यो । सोनियाको राम्रै चर्चा भयो । त्यसपछि पनि केही चलचित्रमा अभिनय गरिन् । छोटो समयमै सिने उद्योगबाट किनारा लागेकी सोनियालाई सम्झदा दर्शकले उनले चुमेको राजको अधर मात्रै सम्झना गर्छन् । उनले दर्शकले सम्झिरहने काम गर्न सकिनन् । छिट्टै चर्चित हुने लोभमा सोनियाले चम्कन नपाउँदै सेलाउनुपर्यो । स्टुपिड मनमा बिकिनी अवतारमा प्रस्तुत भएकी रिज्जु श्रेष्ठ, पुन्टे परेडकी अञ्जली दाहाल र होस्टेल रिटन्र्सकी शशि श्रेष्ठको करिअर पनि त्यहीँ सकियो । 

लामो समय सिने उद्योगमा बिताएका सफल कलाकारका छोरीहरु पनि यो उद्योगमा टिक्न नसकेका थुप्रै उदाहरण छन् । एक समयका चर्चित खलपात्र राजेन्द्र खड्गीले पनि आफ्नी छोरी रागिनी खड्गीलाई नायिका बनाए । ‘दुलही, सिसा, ब्रह्म र लफडा’लगायतका फिल्ममा अभिनय गरेकी रागिनी अहिले गुमनाम छिन् । निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी पनि ‘नथिङ इम्पोसिबल’मार्फत रंगीन पर्दामा उदाइन् । उनी आएको गएको दर्शकले थाहा पाएनन् । ‘सायद २’बाट फिल्ममा उदाएका स्यारोना श्रेष्ठ, निशा कार्कीको चर्चा सेलाइसकेको छ । करिअरको सुरुवातमै निखिल उप्रेतीसँग रोमान्स गरेकी सारा फिल्म क्षेत्रबाट बेखबर छिन् । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ सायाको भूमिका निर्वाह गरेकी रेवती क्षेत्री हिजोआज कतै देखिएकी छैनन् । पुराना नायक रमेश उप्रेतीसँग स्क्रिन सेयर गर्दै फिल्मी दुनियाँमा देखिएकी दीपिका प्रसाईं व्यवसायमा लागिसकिन् । 

सविना कार्की, जिया केसी र सोनिया शर्मा, अनिता आचार्य, सुष्मा अधिकारी, दिया पुन, खुश्बु खड्कालगायत नायिकाको हिजोआज चर्चा नै हुँदैन । ५–७ वर्षको अन्तरालमा यी नायिका पनि फिल्म उद्योगमा थिए र ? भन्ने भइसकेको छ । फिल्म उद्योगमा नव नायिका भित्र्याउनेमध्येका एक निर्देशक विकासराज आचार्य नायिका नटिक्नुको मुख्य कारण अभिनयलाई आफ्नो पेसा बनाउने उद्देश्यले भन्दा रहरले उद्योगमा आउनुलाई लिन्छन । वर्षा राउत, वर्षा शिवाकोटीलगायत नायिका यो उद्योगमा भित्र्याएका आचार्य करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, नम्रता श्रेष्ठलगायत नायिकाको उदाहरण दिँदै भन्छन्, ‘दक्षता छ भने नायिका पनि लामो समय टिक्न सक्छन् ।’

फिल्म उद्योगमा नायिका टिक्न नसक्नुको कारण असमान पारिश्रमिक पनि मुख्य कारण रहेको अभिनेत्रीहरु नै बताउँछन् । एकातिर हाम्रो फिल्म उद्योग बाहिरबाट हेर्दा जस्तो छैन । अर्कोतिर फिल्डमा समान समय खर्चिएका नायक र नायिकाको पारिश्रमिक समान छैन । उमेर छँदासम्म फिल्म उद्योगलाई दिए पनि उमेर ढल्किएपछि के गर्ने भन्ने चिन्ताले नायिकाहरु बेलैमा उद्योग छाडेर अन्यत्र लाग्ने गरेका छन् । 
 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १९:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया