आइसिसी टि–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानले अस्ट्रेलियाको सामना गर्नेछ ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
पाकिस्तानले सुपर १२ बाट समूह ‘२’ को विजेता तथा अस्ट्रेलियाले समूह ‘१’को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
दोस्रो टि–२० विश्वकप उपाधि उचाल्ने लक्ष्यमा रहेको पाकिस्तान आज जित हात पार्दै तेस्रोपटक फाइनल पुग्ने सोचमा छ ।
सन् २००७ मा भारतसँग पराजित हुँदै उपविजेता बनेको पाकिस्तानले सन् २००९ मा श्रीलङ्कालाई हराउँदै उपाधि उचालेको थियो ।
पहिलो टि–२० विश्वकप उपाधिको खोजीमा रहेको अस्ट्रेलिया पनि जित हात पार्दै दोस्रोपटक फाइनल पुग्न चहान्छ । अस्ट्रेलिया सन् २०१० मा इङ्ल्यान्डसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
पाकिस्तान र अस्ट्रेलियाले टि–२० विश्वकपका ६ खेलमा एक अर्काको सामना गर्दा दुवै टोली ३–३ खेलमा विजयी भएका छन् ।
सन् २००७ को पहिलो भेटमा पाकिस्तान ६ विकेटले विजयी हुँदा सन् २०१६ को पछिल्लो भोटमा अस्ट्रेलियाले २१ रनको जित हात पारेको थियो ।
सन् २०१० मा समूह चरण तथा सेमिफाइनलमा अस्ट्रेलियाले जित हात पार्दा सन् २०१२ र २०१४ मा पाकिस्तान विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।