शहीद स्मारक ए डिभिजन लिगमा लतिलपुरको प्रतिनिधित्व गर्दै खेल्ने क्लब हो, च्यासल । च्यासलले ए डिभिजन लिग खेल्न थालेको भने धेरै भएको छैन । २०१६ मा बी डिभिजन लिगको उपाधि विजेता बनेपछि च्यासलले ए डिभिजन खेल्न थालेको हो ।
च्यासल युथ क्लबले यस वर्षको ए डिभिजन लिगका लागि ल्याएको नेपाली मूलका विकास मेराग्लियाको चर्चा चुलिएको छ । च्यासलले हालसम्म ९ जना मात्र खेलाडी अनुबन्ध गरेको छ । जसमा आश लाग्दा नेपाली तथा विदेशी खेलाडी छन् ।
च्यासल युथ क्लब नेपाली क्लबहरुमध्ये स्रोत साधनका आधारमा केही सम्पन्न क्लब मानिन्छ । च्यासलको आफ्नै मैदान छ । आफ्नै मैदान भए पनि च्यासलले प्रशिक्षणका लागि भने यो मैदान प्रयोगमा ल्याएको छैन । टोलीले अहिले चर्च ग्राउन्ड, सातदोबाटोमा प्रशिक्षण गरिरहेको छ ।
च्यासलको घरेलु मैदान आफूले प्रयोग नगरे पनि ए डिभिजन लिगका केही खेलहरु च्यासलको मैदानमा पनि गर्ने अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ ।
टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल साहुखलले पाएका छन् ।
टोलीको प्रायोजकहरुको भने हालसम्म टुंगो नलागेको क्लबका म्यानेजर शंकर व्यञ्जनकारले बताए । त्यस्तै टोलीको किट प्रायोजकको रुपमा भने यु क्यान रहेको छ ।
टोलीले राम्रो प्रदर्शन गर्नेमा उनी ढुक्क देखिन्छन् । सबैभन्दा बलियो पक्ष भनेको नै टोलीमा रहेको समझदारी र खेलाडी रहेको उनले बताए । उनी भन्छन्, ‘हाम्रो टोलीमा अहिले युवा तथा अनुभवी खेलाडीको समिश्रण रहेको छ । जसले गर्दा टोलीको सहकार्य एकदमै राम्रो बनिरहेको छ ।’
टोलीमा रहेका अनुभवी खेलाडीले युवालाई गरेको उत्प्रेरणा टोलीका लागि ढाडस बनेको उनको भनाइ छ । त्यस्तै टोलीका युवा खेलाडीको जोस र जाँगरले टोलीमा उत्साह बढाएको उनले बताए ।
क्लबको लक्ष्य भनेको उपाधि उचाल्ने नै रहेको उनले बताए । उनी भन्छन्, ‘उपाधि नै जित्न नसके पनि शीर्ष तीनभित्र पर्ने लक्ष्य रहेको छ ।’
खेलाडीको तलब
च्यासल युथ क्लबले खेलाडीलाई ५० हजार देखि बढीमा ९० हजारसम्म तलब दिन्छ । ‘खेलाडी हेरेर हामी मूल्य तय गछौं’, टोलीका म्यानेजर व्यञ्जनकार भन्छन्, ‘नेपाली र विदशी खेलाडीमा त्यति धेरै फरक छैन । विदेशबाट आएका स्टार खेलाडीहरुलाई नेपाली खेलाडीलाई भन्दा १०÷१५ हजार बढी दिने गरेका छौं ।’
च्यासलको ‘ए’ डिभिजन यात्रा
च्यासल युथ क्लबले राष्ट्रिय लिगको यात्रा शहीद स्मारक सी डिभिजन लिगबाट सुरु गरेको हो । च्यासलले २००७ मा सी डिभिजन लिग खेल्न सुरु गरेको हो । २०११ मा बी डिभिजन लिग खेल्न थाल्यो । २०१६ मा बी डिभिजन लिगको उपाधि जितेर च्यासलले आफ्नो ए डिभिजनको यात्रा सुरु गरेको हो । च्यासलले बी डिभिजन जितेर ए डिभिजन खेल्न पाउने भए पनि सन् २०१६ देखि २०१८ सम्म ए डिभिजन लिग आयोजना भएन ।
२०१८/१९ मा आएर मात्र चयसलले ए डिभिजनको पहिलो संस्करण खेल्ने अवसर पायो । पहिलोपटक ए डिभिजन खेल्दा यो क्लब आठौं स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।
त्यस्तै च्यासलको ए डिभिजन दोस्रो संस्करण पनि खासै सुखद भने रहेन । यस क्लबले २०१९/२० मा भएको ए शहीद स्मारक ए डिभिजन लिगमा नवौं स्थानमा रहँदै त्यस वर्षको लिग अन्त्य गरेको थियो । यसपटक च्यासल युथ क्लबका लागि तेस्रो ए डिभिजन लिग हो ।
च्यासलका स्टार खेलाडी
विकास मेराग्लिया
विकास मेराग्लिया नेपाली मूलका इटालीयन खेलाडी हुन् । उनी नेपालमा नै जन्मिएका हुन् । ६ वर्षको उमेरमा इटाली गएका उनी १३ वर्षपछि नेपाल फर्किएका हुन् । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकासले इटालीको यू–१६ टोलीबाटसमेत खेलिसकेका छन् ।
युरोपेली फुटबलको प्रतिष्ठित क्लब एटलान्टाको जुनियर टोलीबाट खेलिसकेका विकासको चर्चा इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हुने गरेको छ । विकासले इटालीमा रहँदा एटलान्टा र भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् ।
विराज महर्जन
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनले यस वर्षको ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । नेपाली टोलीका चर्चित डिफेन्डर विराजले यस वर्ष च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । उनी नेपाली राष्ट्रिय टोलीका सर्वाधिक सफल कप्तानका रुपमा पनि चिनिन्छन् ।
सन् २००७ मा थ्रीस्टार, सन् २०१६ देखि २०१९ सम्म मनाङ मर्स्याङ्दी र २०१९/२० मा भएको ए डिभिजन लिगमा मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेलेका उनले यस संस्करणका लागि भने च्यासल युथ क्लबलाई छानेका हुन् ।
अर्पण कार्की
नेपाली यू–२३ टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले यस वर्ष च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेल्ने पक्का भएको हो । उनी नेपाली यू– २३ टोलीको पहिलो रोजाइका गोलरक्षक हुन् । उनले सन् २०१६ बाट नेपालको लागि यू–१६ टोलीकाट गोलरक्षकको भूमिकामा खेल्न थालेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।