युट्युबमा अब ‘डिसलाइक’ संख्या नदेखिने

चर्चित सोसल मिडिया भिडियो प्लेटफर्म युट्युबले भिडियोमा डिसलाइकको संख्या देखाउन बन्द गरेको छ । भिडियो बनाउने व्यक्तिले भोग्नुपरेको विभिन्न खालका प्रताडना र हमलाबाट बचाउन यो निर्णय गरिएको कम्पनीले बताएको छ ।

अबदेखि युट्युबमा राखिएको भिडियोमा कतिजनाले डिसलाइक गरे, हेर्न पाइने छैन । भिडियो निर्माताहरुमाथि कतिपय अवस्थामा सांघातिक हमलासमेत भएको देखिएकाले डिसलाइक हटाइएको कम्पनीको भनाइ छ । 

भिडियोका साथै सोसल मिडियामा पोस्ट गरिएका सामग्रीमा लाइक र डिसलाइक गर्नेहरुबीच समर्थन–विरोध पहिलादेखि नै चल्दै आएको छ । 

यस्ता आलोचनाले मानव स्वास्थ्यमै असर पर्ने कम्पनी बताउँछ । यही कारण केही देशमा फेसबुक र इन्स्टाग्रामले पनि यस्तो फिचर बन्द गर्ने विकल्प प्रस्तुत गरिसकेका छन् ।

गुगलको भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा दर्शकले डिसलाइक त गर्न पाउँछन्, तर तिनले अन्य कतिजनाले डिसलाइक गरे भनेर हेर्न पाउने छैनन् । 

युट्युब भन्छ, ‘दर्शकहरुबीच स्वस्थ्य प्रतिस्पर्धा र संवादको उद्देश्यले हामीले डिसलाइक बटन प्रयोगमा ल्याएका थियौं, तर पछिल्लो समय यसका कारण अनेक विवाद र रचनाकारमाथि हमलाको समेत अवस्था आएका कारण यसलाई बन्द गर्नुपर्ने अवस्था आयो ।’



पछिल्लो समय डिसलाइकको हमलामा केही कमी आए पनि ससाना वा नयाँ रचनाकारमाथि जानीबुझी डिसलाइकको निशाना बनाउने चलन बढेको युट्युबको भनाइ छ । तर रचनाकार, मिडिया स्टार वा इन्फ्लुसएन्सरले भने डिसलाइकको संख्या हेर्न सक्ने कम्पनी बताउँछ ।  

अनलाइन यातनाको बढ्दो घटनाका सम्बन्धमा डिजिटल सुरक्षा सल्लाहकार कम्पनी ‘सिक्योरिटी’का अनुसार, अनलाइन हमला गर्ने तरिकामध्ये सबैभन्दा अधिक प्रयोग खराब टिप्पणीका माध्यमबाट गरिन्छ ।



एक अध्ययनले १८ वर्ष उमेर पुग्नुअघि नै ७० प्रतिशत मानिसले अनलाइन यातना झेलिसक्ने देखाएको छ । पाँच प्रतिशत प्रयोगकर्ताले यस्तो टिप्पणीमाथि चिन्ता प्रकट गर्दै उजुरी गरेका थिए । ३५ प्रतिशतले कुनै व्यक्तिको धज्जी उडाउने स्टाटसको स्क्रिनसट पठाएका थिए । तनाव दिइएका ६१ प्रतिशत टिनएजरले उजुरी गरेका थिए । ५६ प्रतिशतलाई भने फेसबुकमा तनाव दिइएको बताएका थिए ।

कम्पनीले डिसलाइक संख्या हेर्न नमिल्ने बनाउने निर्णय यस्तो समयमा गरेको छ, जतिखेर संसारभर सोसल मिडिया या इन्टरनेटका माध्यमबाट अनलाइन हरासमेन्ट मामिलामा तीव्र वृद्धि भएको छ । राजनीतिज्ञ, जिम्मेवार अधिकारी तथा सामाजिक कार्यकर्ताले यसबारे चिन्ता प्रकट गर्दै आएका छन् र सम्बद्ध कम्पनीले किन कुनै कदम चाल्दैन भनेर आवाज उठाइरहेका छन् ।

यिनै विवाद चलिरहेका बखत फेसबुकले हालै निकै ठूलो हमलाको सामना गर्नुपर्यो । कम्पनीका एक पूर्वकर्मचारीले कम्पनीको दस्तावेज सार्वजनिक गर्दै के दाबी गरेका थिए भने, फेसबुकलाई थाहा छ– यसको प्रभाव बालबालिकामा कस्तो परिरहेको छ । फेसबुकले थाहा पाउँदापाउँदै पनि घृणा फैलाउने सामग्रीलाई बढावा दिएको पनि उनले आरोप लगाएका थिए ।

फेसबुककी पूर्वकर्मचारी फ्रान्सिस हेगनले ठूला टेक कम्पनीहरुले मुनाफा कमाउनैका लागि मानसिक यातना र हेट स्पिचजस्ता सन्दर्भलाई नजरअन्दाज गर्दै आएको बताएकी छन् । कयौं अन्य सोसल भिडियो कम्पनी जस्तैः टिकटक, स्न्यापच्याटलगायतले पनि खतरनाक सामग्रीलाई बढावा दिइरहेको आरोप खप्दै आएका छन् । गत महिना यी कम्पनीहरुले अमेरिकी ससंद्मा आफ्ना सामग्री युवावर्गका लागि सुरक्षित रहेको विश्वास दिलाउने प्रयास गरेका थिए ।
(एजेन्सी)
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १२:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया