[अन्तर्वार्ता] नेपाली चलचित्र प्राविधिक रुपमा कमजोर छन्ः दीपकराज गिरी

कलाकारिताको बाटो हुँदै निर्माता, निर्देशक बनेका दीपकराज गिरी अब हल सञ्चालक बन्ने ध्याउन्नमा छन् । उनको कलाकारितासँग सिनेप्रेमीहरु राम्रै परिचित छन् । विभिन्न सिनेमामार्फत् उनले दिँदै आएका सन्देशहरु मनोरन्जनात्मक मात्र नभएर चेतना जागृह गर्ने खालका पनि छन् । नेपाली सिनेमाले दर्शकलाई हलसम्म किन तान्न सकेन, सिनेमा उद्योगमा किन अस्वस्थ प्रतिस्पर्धा मौलायो, किन हिन्दी सिनेमाले दर्शकलाई आकर्षित गरिरहेको छ र नेपाली सिनेमा नेपाली दर्शककै रोजाइमा किन पर्दैनन् लगायत विषयमा गिरीसँग फरकधारकर्मी राधिकारी अधिकारीले गरेको कुराकानीको सारः

नेपाली सिनेमा किन हलमा प्रदर्शन गर्न किन डर ? 

नेपाली फिल्म हलमा जान अहिले मात्रै होइन, धेरै लामो समयदेखि डराइरहेको अवस्था छ । वर्षमा १ सय ५ देखि १ सय १५ वटासम्म फिल्म निर्माण हुने गरेका छन् । जसमध्ये २/३ वटा चलचित्रले मात्रै आफ्नो लगानी सुरक्षित गर्न सक्छन् । हाम्रो सक्सेस प्रतिशत दुई पनि छैन । वर्षमा मुस्किलले २ प्रतिशत चलचित्रले मात्रै राम्रो कारोबार गर्छन् । नेपाली सिनेमा हेर्न जान दर्शक पनि पहिलेदेखि नै डराइरहेको अवस्था छ । हामीले हाम्रा सिनेमामार्फत् दर्शकले खोजेको खुराक दिन नसकेको हो कि ! विदेशी चलचित्रमा त्यति नै पैसा तिर्दा आँखालाई लोभ्याउने दृश्य हेर्न पाइन्छ । नेपाली चलचित्र प्राविधिक रुपमा कमजोर छन् । प्रस्तुतीकरणमा पनि हाम्रो मौलिकता भेटिँदैन । हामीले चलचित्रलाई धेरै मेहनत नगरेको हो अथवा के कारण हो, हाम्रा फिल्म हेर्न हलमा जान दर्शक लामो समयदेखि डराइरहेका छन् । ​

दर्शक डराएका हुन् कि निर्माता–निर्देशक ?

वर्षमा तीनवटा चलचित्र हेर्न दर्शक आउने उद्योगलाई ‘स्टाब्लिस्ड’ भएको छ भन्नु बेकारको कुरा हो । सिनेमा हेर्न आउन दर्शक डराएका हुन् । दर्शक तान्न सक्ने फिल्म बनाउन नसकेपछि निर्माता–निर्देशक डराएका हुन् । अक्षय कुमारको फिल्म हेर्न दर्शक जसरी पनि आउने, हाम्रो सिनेमा हेर्न नआउने कारण के होला ? अक्षयको सिनेमा पनि कोरोनाको विषयवस्तुमा बनेको होइन । ‘सूर्यवंशी’ हेर्दा कोरोना नलाग्ने, हाम्रा फिल्म हेर्दा लाग्ने भन्ने होइन । ‘सूर्यवंशी’ हेर्न दर्शकले टिकट नपाएर जात्रा छ । हाम्रा फिल्ममा हल खाली छ । को डराएको भन्दा पनि नेपाली सिनेमाप्रति दर्शकहरुको त्यो खालको रुचि कायम गर्न हामीले अलि मेहनत गर्नुपर्छ जस्तो लाग्छ । यति भन्दै गर्दा दर्शकले पत्याएका केही ब्यानरचाहिँ डराएको अवस्था हो । 

यो अवस्थामा फिल्मलाई हलसम्म ल्याउनुमा हल सञ्चालकको भूमिका कस्तो हुन्छ ?



नेपाली सिनेमा चलाउन हल सञ्चालकहरुले भूमिका खेल्छन् वा खेल्नुपर्छ भन्ने कुरामा म आशा गर्दिनँ । हल एउटा पसल हो । त्यो पसलमा उनीहरु जुनजुन सामान आउछ सबै राख्दिन्छन् । जुन सामान खोज्न ग्राहक आउँछ, त्यो सामान बेच्छ । नबिकेका सामान गोदाममा थन्किन्छन् । हल सञ्चालकहरुले कहिल्यै पनि योचाहिँ सिनेमा तपार्इंले हेर्नुपर्छ भन्दैनन् । जुन सिनेमा हेर्न दर्शक आउँछन्, त्यसैको टिकट बेच्छन् र सिनेमा देखाउँछन् । नेपाली चलचित्रको संरक्षण तथा प्रवद्र्धन गर्ने जिम्मेवारी विकास बोर्डको हो । विदेशी चलचित्रभन्दा नेपाली चलचित्र दर्शकले हेरुन् भन्नेखालको नीति निर्माण गर्नुपर्ने बोर्डले हो । यो जिम्मेवारी हल सञ्चालकको होइन । हल सञ्चालकलाई नेपाली चलचित्र यति रुपैयाँमा देखाउने, निर्माताहरुलाई यसरी प्रोत्साहित गर्नु भनेर भन्ने काम चलचित्र विकास बोर्डको हो । 

चलचित्र विकास बोर्डका अधिकारीले हामीले नेपाली चलचित्र प्रदर्शनका लागि विभिन्नखाले स्किम सार्वजनिक गर्दा पनि निर्माता–निर्देशकले प्रदर्शनको आँट गरेनन् भनिरहेका छन् नि ?



अहिले फिल्म चलाउने कुरामा म सहमत छु । चलचित्र विकास बोर्डले विभिन्न सुविधा दिएको थियो । दसैं–तिहारमा हाम्रा सिनेमा रिलिज गर्न सकिन्थ्यो । हामीले दसैंलाई लक्षित गरेर चलचित्रको निर्माण घोषणा गरे पनि फ्लोरमा जानै सकेनौं । अहिले हामीसँग चलचित्र छैन । हामीले निर्माण घोषणा गर्दाताका नै हामीसँगै प्रदर्शन गर्ने भनेर निर्माण भएका चलचित्र छन् । उहाँहरुले ती चलचित्र प्रदर्शन नगर्दाचाहिँ अचम्म लागेको छ । दसैंका लागि रिलिज डेट लिएर फिल्म निर्माणको सम्पूर्ण काम सक्नुभएका साथीले किन फिल्म प्रदर्शन गर्न सक्नु भएन त्यो छुट्टै बहसको विषय होला । 

‘सूर्यवंशी’ चलेपछि धेरैले नेपाली फिल्म राम्रा नभएर निर्माता–निर्देशकले फिल्म चलाउने आँट नगरेका हुन् भनिरहेका छन्, अवस्था त्यस्तै हो ?  

‘सूर्यवंशी’ पनि राम्रो छ चाहिँ कसले भन्दियो ? यो फिल्मले पनि  इन्डियामा नै खासै राम्रो रेटिङ पाएको छैन । यति हो फिल्ममा ‘चटक’ छ । यो फिल्ममा चमत्कार देखाइन्छ । हरियो पर्दा प्रयोग गरेर, भिएफएक्स टन्न प्रयोग गरेर रोहित शेट्टीले दुई घण्टासम्म बोर नलाग्ने बनाएका छन् । राम्रो फिल्म भनेको के हो ? म आफैं कन्फ्युजमा पर्छु बेलाबेला । दर्शक आएनन् मात्रै भनिरहन्छौं ! ‘छक्का पन्जा’ले बाहुबलीको रेकर्ड ब्रेक गरेको हो । त्यतिबेला पनि यो फिल्मले राम्रो गर्यो भन्नेखालका​​ हेडलाइन कमै बने । हामी नेपाली एकले अर्कालाई प्रोत्साहित नै गर्दैनौं । हाम्रै क्षेत्रका मान्छेले ‘छक्का पन्जा’लाई जोक राखेर बनाएको हावा फिल्म भने र लेखे । तर कसैले पनि त्यति ठूलो बलिउड बजारमा ब्रान्ड बनेको ‘बाहुबली’को रेकर्ड तोड्यो भनेर प्रोत्साहित गरेको कति सुन्नुभयो ? बरु दीपकराज गिरीले यस्तो हावा फिल्म बनाएर पैसा कमायो, फिल्म कलात्मक चाहियो भन्ने कुरामा अलमलियौं । आज तिनै मानिस ‘सूर्यवंशी’ जस्तो फिल्म बनाए चल्छ भनिरहेका छन् । फिल्म भनेको मनोरन्जन हो । दर्शक आउँछन्, दुई घण्टा मनोरन्जन भयो भने हेर्छन् र जान्छन– सकियो । ‘सूर्यवंशी’ रमाइलो सिनेमा छ । ‘छक्कापन्जा’ पनि रमाइलो सिनेमा हो । अहिले दर्शक नआउँदाचाहिँ हामी छटपटिने, हिजो दर्शक आएका फिल्म पनि गम्भीर भएन भनेर प्रचार गर्ने ? दर्शका आउँदा झुर सिनेमा बनायो भनेर प्रचार गर्ने, नआउँदा नेपाली फिल्म हेर्न दर्शक आउँदैनन् भनेर निराशावादी कुरा गर्ने एउटा जमात छ । त्यो जमात न आफू काम गर्छ न अरुले गरेको कामलाई प्रोत्साहन गर्छ । यो हामी नेपालीको रोग हो । हामी हाम्रा प्रडक्टलाई भन्दा विदेशी प्रडक्टलाई राम्रो मान्छांै । हामी बरु विदेशीले पैसा कमाएको देख्न सक्छौं, आफ्नै देशका कलाकारको प्रगतिमा चिन्तित बन्छौं ! नेपाली सिनेमालाई सकारात्मक रुपमा लिदैनौं । हामीले बनाएका सिनेमामा समस्या होलान्, त्यो पछि खोजौंला । सबैभन्दा ठूलो समस्या हाम्रै सोचमा छ । सबै मिलेर नेपाली चलचित्रकर्मी एकजुट भएर यस्ता विकृतिसँग लड्नुपर्ने ठाउँमा हामी नै जताततै छताछुल्ल भएर एकले अर्कालाई गाली गरिरहेका हुन्छौं ! एकले अर्कालाई खसालिरहेका हुन्छौ ! इन्ड्रस्टीलाई पर्दा अगाडि कोही आउँदैन, पछाडि बसेर ठूलाठूला कुरा गर्छौं । ठूलाठूला सम्मान र पदवी लिन्छौं । अब विदेशी सिनेमा चल्यो भनेर टाउको दुखाउनुको अर्थ छैन । 

महामारीका कारण थुप्रै फिल्म रिलिजको पर्खाइमा छन् । एकैपटक हलमा जान खोज्दा अस्वस्थ्य प्रतिस्पर्धा होला नि ?

हामी नेपालीको अस्वस्थ प्रतिस्पर्धा त पहिलाबाटै चलेको हो । बलिउडमा कोरोनाकालमा निकै सिनेमा थुप्रिएर बसेका थिए । तर तिहारमा अक्षय कुमारको ‘सूर्यवंशी’ रिलिज हुने भयो । अर्को सिनेमा सिँगौरी खेल्न आएन । यो फिल्म लागेको दुई सातापछि मात्रै अर्को आयो । अर्को ठूलो सिनेमा लाग्दा पनि त्यस्तै हुन्छ । बलिउडमा रिलिज क्यालेन्डर मज्जाले मिलाएको हुन्छ । हाम्रोमा एउटाले दसैंमा रिलिज गर्ने भन्यो भने सबैलाई त्यही डेटमा चलचित्र प्रदर्शन गर्नुपर्छ । तिहारमा त्यस्तै हुन्छ । एकले अर्को साथीसँग आफ्ना चलचित्र भिडाउनै खोज्छ ! मेरो साथीको राम्रो फिल्म यो मितिमा आउँदै छ, सोही मितिमा मेरो फिल्म रिलिज नगरौं होला भन्ने चलन छैन हाम्रोमा । यसैले हाम्रोमा अस्वस्थ प्रतिस्पर्धाको सम्भावना अझै तीव्र छ । 

फिल्म उद्योगलाई चलायमान बनाउनका लागि तपाईं आफैंले चाहिँ केके गरिरहनुभएको छ ?

म आफैं निर्माणमा छु । कोरोनाकालमा थुप्रै हल बन्द भए । म जोखिम मोलेरै हल खोल्न लागेको छु । ‘हिजोआज मान्छे ओटिटीमा फिल्म हेर्न थालिसके, हलमा जाँदैनन्, किन हल खोल्न लाग्नु भएको’ भनेर मान्छेले प्रश्न गरिरहेका छन् । हलमा फिल्म हेरेको जस्तो मजा घरमा हेर्दा हुँदैन भनेर हल खोल्न लागेको छु । फिल्म स्टुडियोको प्लानिङमा छु । ‘छक्का पन्जा’कै सिरिजका लागि स्क्रिप्टमा बसिरहेको छु । म आफूलाई आफ्नो साइडबाट सकेको गरिरहेको छु भन्ने लाग्छ । यो गरिरहेको छु भनेर मैले भन्ने होइन । मेरा दर्शकले, नेपाली सिनेमालाई सूक्ष्म रुपमा अध्ययन गर्ने मान्छेले गरिरहनुभएको होला । इतिहासले मूल्यांकन गर्ला । 

तपाईंको टिमलाई दर्शकले अब कहिले हलमा हेर्न पाउँछन् ?

हामी यसै पनि संख्यात्मक रुपमा धेरै चलचित्रमा काम गर्ने मान्छे होइनौं । अब आउने दसैंमा हलमा आउने छौं । त्यो भन्दा अगाडिचाहिँ यसै भन्न सक्ने अवस्था छैन । कामका लागि अफर आइरहेको छ, तर के हुन्छ थाहा छैन । 

‘सूर्यवंशी’ हरेपछि तपाईं विदेशी सिनेमाप्रति सकारात्मक देखिनुभयो । यसअघि खासै त्यस्तो देखिएको थिएन । धेरैले यसलाई दीपक हल सञ्चालक भएपछि फेरियो भनेर विश्लेषण गरे नि ?

अहिले कतिपय ठाउँमा भारतसँग सीमा विवाद चलिरहेको छ । तर भारतीय सामग्री उपभोग गर्न हामीले छोडेका छैनौं । कतिपय अवस्थामा हामी ‘ब्लकेड’मा पनि पर्यौं । हामीले विभिन्न समस्या भोग्यौं । त्यस हिसाबले हेर्ने हो भने यहाँ हिन्दी सिनेमा चलाउनै नहुने हो । यी अति राष्ट्रवादका कुरा भए । मैले स्टाटसमा ‘यस्तो बेला हिन्दी चलचित्रले दर्शक ल्यायो, अब हामीले पनि सिनेमा रिलिजका लागि आँट गर्न सक्छौं, त्यसैले यसलाई सकारात्मक रुपमा लिनुपर्छ’ भन्ने हिसाबले लेखेको हुँ । मैले लेखेको यत्ति कुरालाई लिएर विरोध भयो । हिजो मैले एक्लै हिन्दी सिनेमासँग लड्दा, हिन्दी सिनेमाको विरोध गर्दा पनि मान्छेहरु मलाई नै गाली गरिरहेका थिए । योचाहिँ ‘मान्छे गधामा चढेर आउँदा पनि विरोध, गधा डोराएर आउँदा पनि विरोध, बोकेर आउँदा पनि विरोध’ गर्ने भनेको जस्तै हो । यस्ता मानिसलाई केही भन्नु छैन । सबैले आफ्नो सोचमा बाँच्न पाउनुपर्छ । सत्य के हो भन्ने कुरा सबैलाई थाहा छ । अहिले मेरो हल खुलिसकेको पनि छैन । अहिले मैले हिन्दी चलचित्रको प्रचार गर्नेबित्तिकै मेरो हलमा दर्शक भरिने पनि होइन । 

एउटा चलचित्र निर्माताको हैसियतले लामो समयदेखि सुनसान सिनेउद्योगमा चहलपहल सुरु हुँदा खुसी हुने कि नहुने ? नकारात्मक रुपले हेर्नेहरुले अर्को मान्छेले जति राम्रो गरे पनि राम्रो भन्न सक्दैन । म नेपाली चलचित्र निर्माता हुँ, यो अलग पाटो हो । मैले हिन्दी सिनेमा हेर्नु, हल खोल्नु अलग पाटो हो । अहिलेको अवस्थामा दर्शक हलमा ल्याउने कुरामा ‘सूर्यवंशी’ले खेलेको भूमिका सकारात्मक छ । यो चलचित्र नआएको भए हलमा मान्छे आउँछन् कि आउँदैनन् भन्ने कुरामा हामी कनफ्युजमा थियौं । हामीले किन आँट गर्न सकेनौं ? सधैं ‘कन्फोर्ट जोन’मा बस्न चाहने मानिसले यस्ता कुरा गर्ने हुन् । धेरै मान्छे जता हावा आउँछ त्यतै बग्न चाहन्छन । म उल्टो काम गर्छु । मलाई थाहा थियो, ‘सूर्यवंशी’को पोस्टरसहित स्टाटस राखेपछि मलाई गाली आउँछ । त्यसको लागि म मेन्टल्ली तयार थिएँ । कारण, सत्य कुरा बोल्दा सकारात्मक सन्देश जान्छ भने मैले गाली खान पनि तयार हुनुपर्छ । जे बोल्दा ताली आउँछ त्यहीमात्रै बोल्ने मान्छे एकदिन जता हावा बहेर जान्छ उतै बहेर जानुपर्छ । जो हावाको उल्टो दिशामा पनि बहन संघर्ष गर्छ ऊ नै रहिरहने हो कालान्तरमा । पोस्टर राखेर स्टाटस लेखेकोमा मलाई कुनै ग्लानि छैन । इन्डियाले नेपालीको हितमा राम्रो काम गर्दा पनि यो इन्डियाको काम हो भनेर प्रशंसा गर्न सक्नुभएन भने तपाईं राम्रो मान्छे होइन । 

नेपाली चलचित्र विकास बोर्डले, यहाँका नीति निर्माताहरु हिन्दी सिनेमालाई प्राथमिकतामा राखे, हाम्रा सिनेमालाई पाखा लगाए भने त्यहाँ विरोध गर्ने हो । 

फरकधारमार्फत् आफ्ना दर्शकलाई केही भन्न चाहनुहुन्छ ? 

सबै दर्शकलाई धन्यवाद । भाइरलको जमाना छ । भाइरल बन्न चाहनेहरुको एउटा समूह छ । उनीहरुले एकएकवटा चिजलाई विवादास्पद बनाउँदै जान्छन् । सकारात्मक चिजलाई पनि नकारात्मकतातर्फ धकेल्दै लैजान्छन्, जसले गर्दा दर्शक–पाठक दिग्भ्रमित हुन सक्छन् । भाइरल हुनेखालका समाचारहरु आउँछन् अनि हामी एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्ने अवस्थामा पुग्छौं । यो अवस्थाबाट पाठक पनि सचेत हुनु जरुरी छ । उहाँहरुले पनि वास्तविकता के हो ? यसलाई किन कन्ट्रोभर्सीमा तानिँदैछ, भाइरल हुने मान्छेहरुले किन सामाजिक सन्जाल फोहर गरिरहेका छन् भन्ने विषयमा दर्शक–पाठक पनि सचेत भैदिनुपर्छ । आएका सबै कुरा सत्य हुँदैनन् । त्यसलाई आफैंले पुनर्मूल्यांकन गर्नुपर्छ । हामी सबै नेपाली चलचित्रलाई माया गर्छौं । हामी सबै नेपाली सिने उद्योग माथि उक्लेको हेर्न चाहन्छौं । त्यसैले दुस्प्रचारहरुमा ध्यान नदिनुहोला भन्न चाहन्छ । 

 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १६:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया