[अन्तर्वार्ता] ‘ए’ डिभिजिन लिग खेल्ने/नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ

देशकै शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागिता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ । लिगको तालिका सार्वजनिक भइसकेको छ । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी क्लब सातदोबाटो युथ भिड्नेछन् । 

लिग नजिकिँदै गर्दा राष्ट्रिय टोलीका खेलाडीहरू अन्य क्लबमा अनुबन्धन हुँदा रोहित चन्द भने इन्डोनेसियाको लिग वान अन्तर्गत पर्सिजा जाकर्ताबाट खेल्न व्यस्त छन् । 

तर, नेपाली टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) भने क्बलविहीन भएका छन् । पछिल्लो दशक देश बाहिरका विभिन्न लिग खेल्दै आएका कप्तान किरण यस पटक भने बाहिरी क्लबसँग पनि अनुबन्धन भएका छैनन् । पछिल्लो समय भारतको आईलिग क्लब पञ्जाब एफसीसँग सम्झौता सकिएपछि किरण ‘ट्रान्सफर मार्केट’को बिक्रीमा छन् ।

किरणले सन् २०१५ यता शीर्ष डिभिजन लिग खेलेका छैनन् । पछिल्लो समय भने उसले पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग ९एनएसएल० मा उपविजेता टोली धनगढी एफसीबाट खेलेका थिए । मछिन्द्र फुटबल क्लब हुँदै ए डिभिजन यात्रा सुरू गरेका किरण थ्री स्टारबाट लामो समय लिग खेले । त्यसयता भने उनले कुनै क्लबबाट पनि लिग खेलेका छैनन् । 

 २८ वर्षपछि नेपाललाई पहिलो पटक क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनपसिपमा फाइनलमा पुर्‍याएका कप्तान किरण ३ मंसिरबाट सुरू हुने लिगमा कुन क्लबमा आवद्ध हुँदै छन् रु लिग खेल्ने या नखेल्ने के योजना बनाएका छन्? ‘ट्रान्सपर मार्केट’ मा मूल्यवृद्धिका कारण अन्य क्लबले वास्ता नगर्नुलगायत समसामयिक विषयमा नेपाली टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) सँग गरिएको कुराकानी :

३ मंसिरबाट देशकै शीर्ष डिभिजनको लिग हुँदैछ । तपाईं राष्ट्रिय टोलीको कप्तान,  कुन क्लबबाट खेल्ने योजना बनाउनु भएको छ?  कुनै क्लबसँग अनुबन्धन हुनुभयो? 



त्यस्तो अहिले केही भएको छैन । त्यसबारेमा केही सोचेकै छैन । त्यसो भए कप्तान किरणले लिग खेल्न मन नगरेको कि बाहिरी लिग खेल्ने तयारीमा हो? 

अहिले बाहिर पनि केही कुरा भएको छैन । अहिले त्यतिकै बसिरहेको छु । के हुन्छ भनेर कुरिरहेको छु । यस पटक नेपालको लिग हेर्छु, बस्छु । 



बाहिरको लागि पनि केही ‘प्रोसेस’ गर्नुभएको छ कि? 

मैले ‘प्रोसेस’ चालेर त हुने हैन, ‘अफर’ आउनु पर्छ । त्यो आएको छैन । यो भनेको कतै काम गर्न जाँदा भिषा हानेको जस्तो काम हैन । कहीँबाट ‘अफर’ आयो भने गर्ने हो । त्यो आएको छैन । अब, हेरौं चुप लागेर हेरेर बसिरहेको छु । मैले अहिलेसम्म नेपालको लिग खेल्ने निर्णय पनि लिएको छैन । ‘अफर’हरू पनि आएका छैनन् । त्यस्तो केही कुरा नै भएको छैन । 

पछिल्लो समय तपाईंले भारतीय आईलिगअन्तर्गत पञ्जाव एफसी, त्यसअघि माल्दिभ्सको लिगमा टिसी स्पोर्ट्समा रहेर खेल्नुभयो । यो पटक क्लबले ‘प्रि–सिजन’ खेलिरहेको छ । त्यसमा अनुबन्धन हुने सम्भावना छ? 

त्यता पनि अहिले केही छैन । इण्डियाका प्रयास सबै क्लबले विदेशी खेलाडी अनुबन्धन गरिसके । तर, एसियन कोटामा भने कतिले अनुबन्धन गरेका छैनन् । प्रिसिजन चलिरहेको छ । म नि यता अभ्यास गर्दै बसिरहेको छु । कुनै क्लबसँग कुरा भएको छैन । 

अघि नेपाली क्लबहरूबाट पनि ‘अफर’ आएको छैन भन्नुभयो । हाम्रो कप्तानको ‘ट्रान्सफर मार्केट’ मा मूल्यवृद्धि बढी नै भएर क्लबहरूले कतै अफर गर्न नसकेका हुन् कि?  

मलाई यो थाहा भएन । उहाँहरूले पनि सोच्नु भयो होला, बाहिरै खेल्न जान्छ भनेर । ‘ट्रान्सफर मार्केट’ पनि होला । तर, त्यो आफ्नो ठाउँमा छ । त्यो विषयमा मलाई थाहा भएन । म त पर्खाइमै छु । तर केही निर्णय लिएको छैन । साफ च्याम्पियनसिप पनि फाइनलमा हार्‍यौँ । त्यो आफ्नो ठाउँमा छ । म अहिले ‘फ्रेस’ पनि हुँदै छु । आफ्नो सेल्फ ट्रेनिङ गरिरहेको छु । 

कुनै क्लबले तपाईंलाई सम्झौता गर्न चाह्यो भने के गर्नुहुन्छ? कि अघि भनेझैँ यो पटक खेल हेरेर नै बिताउनुहुन्छ? 

अहिलेसम्म यो विषयमा कुनै निर्णय लिएको नै छैन । मात्र अहिले ‘रिफ्रेस’ लिरहेको छु । सेल्फ अभ्यास गरिरहेको छु । फिट भएर बसिरहेको छु । अहिलेसम्म खेल्ने नखेल्ने निर्णय लिएको छैन ।  ​

हामी २८ वर्षपछि साफको फाइनल खेल्यौं । त्यो बेला कप्तान तपाई ।  कतै त्यो बेलाको दबाबका कारण पनि बढी ‘रेस्ट​’ लिएको हो कि? 

त्यो होइन । यो फुटबल प्लेयर भएपछि तलमाथि त भई नै रहन्छ । मैले यत्रो वर्ष खेलिसकेँ । त्यो आफ्नो ठाउँमा छ । हारेर, धेरै खेलेर ‘रेस्ट’ लिएको भने हैन । म आफैँ पूर्ण रूपमा फिट भएर बसिरहेको छु । लिग खेलौँ भनेर निर्णय नलिएको हो । मेरो जापान जाने चाहना थियो । तर, कोरोना कारण त्यहाँ जान पाइन् । बसिरहेको छु । फाइनल हारेर रेस्ट​ लिएको भने हैन । त्यो एउटा ‘टास्क’ थियो । अहिले त्यो सकिसक्यो । अब नयाँ योजनासहित अगाडि बढ्नुपर्छ । म अहिले परिवारसँग रमाइ पनि रहेको छु । भोलि बाहिर गए भने धेरै समय त्यतै हुन्छु । त्यसैले नि घरपरिवारलाई समय दिएको छु । 

थ्री स्टारबाट लिग खेल्दाखेल्दै बाहिर जानुभयो । निकैपछि आएर नेपाल सुपर लिग (एनएसएल) खेल्नुभयो । तपाईंले २०१५ बाट लिग खेल्नु भएको छैन । घरेलु मैदानमा दर्शकलाई खेल देखाउन मन छैन?  

साच्चै नै मन छ । तर, अहिले सकेसम्म म बाहिर नै खेल्छु भन्ने मेरो इच्छा हो । अझै २/३ वर्ष बाहिर खेल्ने मन, लक्ष्य छ । अहिले राम्रो अवसर आए पनि बाहिर नै ‘फोकस’ गर्छु भन्ने मेरो लक्ष्य छ । यो भनेको नेपाली फुटबललाई अझ अर्को स्तरमा लैजानु हो । 

बाहिर गएर खेल्नु भनेको युवा पुस्ताका लागि समेत एउटा माध्यम हो । म जाँदा भावी पुस्तालाई बाहिर खेल्न सहज होस् भन्ने मेरो लक्ष्य हो । –न्युज कारखानाबाट 

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १७:१३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया