प्रदीप ज्ञवालीको आरोप : एमालेविरुद्ध अदालतले नै मोर्चाबन्दी गर्‍यो

नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । एमाले भरतपुर महानगर कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्री पद र पदकका लागि अदालतले मोर्चाबन्दी गरेर एमालेलाई सरकारबाट हटाएको बताए । 

‘पापको घैँटो फुट्यो भने जस्तो हिजो सेटिङ भएको ठाउँमा आज एकअर्कालाई पोलापोल गर्नु भएको छ । अदालतले केही नेताको स्वार्थमा परमादेश जारी गर्दिने । त्यो परमादेश जारी गरिदिए बापत सरकारले उहाँका कसैलाई मन्त्री र कसैलाई पदक उपहार दिने गर्नु भएको छ​ । अपवित्र साँठगाँठ त्यहाँ भएको छ’, उनले भने ।

एमालेमाथि भइरहेको षड्यन्त्र र घेराबन्दीविरुद्ध महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्न लागिएको ज्ञवालीले बताए । महाधिवेशनमा जनताको महासागर उतारेर शक्ति प्रदर्शन गर्नुपर्ने उनले बताए ।

‘चितवनबाट मात्रै तपाइहरूले एक लाखभन्दा बढी कार्यकर्ता उतार्नुपर्ने छ । सुन्दा अस्वाभाविक जस्तो लाग्ला । तपाइका पार्टी सदस्यका हिसाबले एक जनाले पाँच जना ल्याइयो भने चितवनले एक लाख त सजिलै उतार्न सक्छ । बाँकी चार लाख हाम्रो जिम्मामा छाड्नुस्’, ज्ञवालीले भने । जनपरिचालनमा चितवनले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी र चक्रव्यूह निर्माण गरिएको पनि उनले बताए ।

‘संसारमा सत्तापक्षका विरुद्धमा प्रतिपक्षले मोर्चाबन्दी गर्छन्, स्वाभाविक मानिन्छ । तर, हामी कहाँ प्रतिपक्षका विरुद्धमा सत्तापक्षले मोर्चाबन्दी गरिरहेको छ’, ज्ञवालीले भने, ‘सत्ता गठबन्धनले गायत्री मन्त्र जस्तो यो गठबन्धन चुनावसम्मै जान्छ भन्ने गर्नुहुन्छ । एमालेसँग एक्लै लड्ने तागत गठबन्धनका कुनै शक्तिसँग पनि छैन ।’



एमालेविरुद्ध मोर्चाबन्दी गर्नकै लागि संघीयता र संविधान खारेज गर्नेदेखि ११ वटा प्रदेशको माग गर्ने पार्टी एक ठाउँमा आएको उनले बताए । ‘यो कुनै सिद्धान्तको गठबन्धन होइन । एमालेप्रतिको विरोध र प्रतिशोध र कुण्ठाले उहाँहरूलाई एक ठाउँमा ल्याएको छ’, ज्ञवालीले भने ।

एमाले भित्रका अवसरवादीलाई प्रयोग गरेर अध्यादेशको चरम दुरुपयोग गरिएको समेत उनले बताए । यी सबै षड्यन्त्रका विरुद्ध महाधिवेशनको उद्घाटन सत्रमा जनताको महासागर उतारेर एमालेको शक्ति देखाउनुपर्ने ज्ञवालीको भनाइ थियो । –न्युज कारखाना 



  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १८:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया