दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्वारा लिखित ‘दलित आन्दोलन र अनुभूतिहरू’ बिहीबार लोकार्पण गरिएको छ ।
कोभिडबाट ज्यान गुमाएका लेखक शंकरको उक्त पुस्तक उनको मरणोपरान्त लोकार्पण गरिएको हो ।
इलाम नगरपालिका दलित समन्वय समितिले प्रकाशन गरेको कृतिको एमाले नेता सुवासचन्द्र नेम्वाङले लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै नेम्वाङले विभेद र छुवाछुत अन्त्यको लागि संविधानमानै व्यवस्था भइसकेकाले त्यसलाई कानुन बनाएर व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
‘विभेद र छुवाछुत हाम्रो समाजको कालो धब्बा हो’, नेम्वाङले भने, ‘संविधानले गरेको छुवाछुत विभेदमुक्त कल्पनालाई व्यवहारमा उतार्नुपर्छ ।’
विभिन्न कमीकमजोरीका बाबजुद नेपाली समाज अहिलेको अवस्थामा आइपुगेको सम्झना गर्दै नेम्वाङले छुवाछुतलाई दण्डनीय व्यवस्था र विभेद भएमा क्षतिपूर्ति माग गर्न पाइने अधिकार संविधानमा राखिएको बताए ।
स्वर्गीय नवराज शंकरले लेखेको कृतिको साहित्यकार मुनाराज शर्माले समीक्षा गरेका थिए । उनले यो पुस्तक दलित आन्दोलन र अधिकार स्थापनाकोका लागि प्रेरणाको श्रोत भएको बताएका छन् । कार्यक्रमबीच ‘नवराज शंकर प्रतिष्ठान’ को समेत शुभारम्भ गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।