विश्वकप छनोट : जर्मनीको फराकिलो जित

विश्वकप युरोपियन छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा घरेलु टोली जर्मनीले १० खेलाडीमा सीमित लिचेस्टाइनमाथि ९–० को फराकिलो जित हात पारेको छ ।

जर्मनीको शानदार जितमा लिरोए साने र थोमस मुलरले समान दुई गोल गर्दा इल्के गुन्डोगन, मार्काे रिउस र रिड्ले बाकुले समान एक गोल गरे । दुई गोल उपहारस्वरुप प्राप्त भएको थियो ।

भोक्सवागन एरिना वल्फ्सबर्गमा बिहीबारराति भएको खेलको नवौं मिनेटमा नै लिचेस्टाइन १० खेलाडीमा समेटिएको थियो ।  

पेनाल्टी क्षेत्रमा लिओन गोरेट्जालाई फउल गरेपछि जेन्स होफेर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसमै प्राप्त पेनाल्टीलाई सदुपायोग गर्दै गुन्डोगानले जर्मनीलाई अग्रता दिलाए ।

२०औं मिनेटमा ड्यानियल कोउफम्यानले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लियो । २२औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई ३–० ले अगाडि बढाए । 

२३औं मिनेटमा रिउसले गोल गरेपछि जर्मनीले पहिलो हाफमा नै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।



४९औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ७६औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलाई ६–० ले अघि बढाए । 

८०औं मिनेटमा बाकुले जर्मनीका लागि सातौं गोल गरे । ८६औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गरे ।



८९औं मिनेटमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल गरेपछि जर्मनीले ९–० को फराकिलो जित हात पार्यो । 

यो जितपछि समूह ‘जे’ को शीर्षस्थानमा रहेको जर्मनीले ९ खेलबाट २४ अंक जोड्दा पराजित लिचेस्टाइन १ अंकका साथ पुछारमा छ । 

यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले आर्मेनियालाई ५–० ले पराजित गरेको छ । 

छनोट अन्तर्गत बिहीबार नै भएका अन्य खेलमा रोमानिया र आइसल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
 
रुसले साइप्रसमाथि ६–० को सहज जित हात पार्दा जर्जियाले स्वीडेनलाई २–० ले हराएको छ । लक्जेम्बर्गले अजरबैजानमाथि ३–१ र स्पेनले ग्रिसमाथि १–० को जित दर्ता गरेका छन् । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ७:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया