पुलिसको लक्ष्य लिगको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबको स्थापना सन् १९५२ मा महेन्द्र पुलिस क्लबको नामबाट भएको हो । पुलिसले ५ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । 

कुनै समय नेपाली फुटबलमा राज गरेको क्लब अहिले भने केही सुस्ताएको छ । यसपटक पुलिस फेरि आफ्नो लय फर्काउने प्रयासमा छ ।

‘ए’ डिभिजन लिगमा प्रदर्शन

सुरुवाती समयमा पुलिस फोर्सको नामले नेपालको शीर्ष लिग खेलेको यो क्लबले सन् १९५५–५६ र १९५६–५७ मा लगातार दुईपटक लिगको उपाधि उचालेको थियो ।

क्लबले सन् २००६–०७ मा महेन्द्र पुलिस क्लबको नामले लिग उपाधि उचाल्यो । सन् २०१० र २०११ मा भने नेपाल पुलिस क्लबको नाममा सहभागिता जनाउनँदै लिग विजेता बन्यो ।

सन् २०११–१२ को राष्ट्रिय लिग विजेता पुलिस २०१२–१३ को ‘ए’ डिभिजन लिगमा सातौं र २०१३–१४ मा चौथो स्थानमा रह्यो ।



सन् २०१५ को राष्ट्रिय लिगमा सातौं स्थान हासिल गरेको पुलिस लामो समयपछि सन् २०१८–१९ मा भएको ‘ए’ डिभिजन लिगमा छैटौं स्थानमा रह्यो भने २०१९–२० को पछिल्लो सिजनमा पुलिसले पाँचौ स्थानमा चित्त बुझायो । 

आफ्नै मैदानमा अभ्यास



क्लबले ‘ए’ डिभिजन लिगका लागि महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीको मैदानमा अभ्यास गरिरहेको छ ।

खेलाडीको फिटनेस लेभल, ड्युटी, स्तर, अन्य खेलका तालिका आदिलाई मध्यनजर गर्दै प्रशिक्षण गराउँदै आएको खेलकुद विभाग हेरिरहेका प्रहरी निरीक्षक भरत शाहले बताए ।

‘विभिन्न खेलको तालिका, खेलाडीको फिटनेस लेभल, ड्युटी, स्तर आदिलाई आधार मानेर प्रशिक्षकहरुले प्रशिक्षण गराउँदै आउनु भएको छ’, शाहले फरकधारसँगको कुराकानीमा भने ।

फुटबलको हकमा भने दैनिक २ देखि ३ घन्टा अभ्यास गरिँदै आइएको शाहले जनाकारी दिए । 

आन्तरिक स्रोत र एन्फाको सहयोगबाट लिगको तयारी

नेपाल प्रहरीले वार्षिक रुपमा खेलकुदका लागि भने छुट्टै रकम विनयोजन गरेको हुन्छ त्यसको केही प्रतिशत फुटबलको भागमा पर्छ । 

शाहले त्यो रकम खुलाउन नमिल्ने बताउँदै विभागको आन्तरिक स्रोत र एन्फाले दिएको सहयोगले लिग तयारी गरिरहेको बताए ।

‘हामीले आन्तरिक स्रोत तथा एन्फाबाट लिग तयारीका लागि भनेर दिने रकमबाट खर्च व्यवस्थापन गर्दै आएका छौं’,शाहले भने ।

पुलिसलाई नेपाल टेलिकमले मुख्य प्रायोजकका रुपमा साथ दिने भए पनि कोभिडका कारण नयाँ सम्झौताका लागि केहि ढिलाई भएको शाहले बताए । 

विदेशी खेलाडी भित्र्याउन झन्झटिलो प्रक्रिया

लिगको नियम अनुसार एउटा क्लबले ४ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् ।  

विभागीय टोलीले भने यसका लागि अन्य टोलीको तुलनामा झन्झटिलो प्रक्रिया अपनाउनु पर्ने हुँदा उनीहरुले विदेशी खेलाडी भित्र्याउने गरेका छैनन् । 

‘लिगको नियम अनुसार विभागीय टोलीले पनि विदेशी खेलाडी राख्न पाउँछन्’, शाह भन्छन्, ‘तर त्यसका लागि कानुनी लगायतका अन्य धेरै झन्झटिला प्रक्रिया अपनाउनु पर्ने हुँदा हामी स्वदेशी खेलाडीकै भरमा लिग खेलिरहेका छौं ।’

‘अन्य टोलीले राम्रा विदेशी खेलाडी भित्र्याउँदा उनीहरुको तुलनमा हाम्रो प्रदर्शन खस्किएको जस्तो देखिएको हो’, शाहले भने, ‘हामी स्वदेशी खेलाडीकै साथले लिगमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’

लिग जित्ने लक्ष्य 

पुलिसले यो वर्ष लिग उपाधि जित्ने लक्ष्य राख्दै त्यसका लागि मेहनत पनि गरिरहेको छ । 

‘हाम्रो मुख्य उदेश्य भनेकै लिग विजेता बन्ने हो त्यसका लागि हामीले मेहनत पनि गरिरहेका छौँ’, शाह थप्छन्, ‘तर आफ्ना तथा अन्य टोलीको प्रदर्शनले त्यसको निर्धारण गर्छ ।’

पुलिसका स्टार खेलाडी

जुमानु राई 

नेपाली फुटबलमा चर्चा कमाएका केही खेलाडीले नेपाल पुलिस क्लबाट ‘ए’ डिभिजन लिग खेल्छन् । तिमध्ये सबैभन्दा बढी चर्चामा आएका खेलाडी हुन्, जुमानु राई । 

राई नेपाली फुटबलका चर्चित नाममध्ये एक हो । नेपाल पुलिस क्लबको कप्तान समेत रहेका ३७ वर्षीय स्ट्राइकरले नेपालका लागि ५१ खेलमा ११ गोल गरेका छन् ।
सन् २००६ ब्रुनाईविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका राईले सन् २०१५ मा सन्यास लिएका थिए ।

तेज तामाङ

२३ वर्षीय तामाङ पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका लागि भरपर्दा मिडफिल्डरका रुपमा स्थापित भएका छन् । 

उनले नेपालका लागि १७ खेल खेल्दा १ गोल गरेका छन् । तामाङले काठमाडौं रेन्जर्सबाट नेपाल सुपर लिग खेलका थिए । 

यी बाहेक पुलिसलाई नेपाली फुटबलमा नाम कमाएका रवि पासवान, भोला सिलवाल जस्ता खेलाडीको पनि साथ रहेनछ । 

यो पनि पढ्नुहोस्

‘ए’ डिभिजन लिग : गत संस्करणभन्दा थप उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जावलाखेल

इतिहास रच्ने दाउमा मनाङ मर्स्याङ्दी

‘ए’ डिभिजन लिग : नयाँ चुनौतीका लागि तयार सातदोबाटो

ए डिभिजन लिग : मछिन्द्रको आँखा उपाधिमा

साख फर्काउने प्रयासमा एनआरटी

च्यासलको लिग जित्ने आधार : युवा र अनुभवी खेलाडी

सदावहार उपाधि दाबेदार थ्रीस्टार

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ९:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया