बाबुराम, विप्लव र किरणजीसँग अंकमाल गर्ने दिनको प्रतीक्षामा छु

‘एउटै युगमा थुप्रै प्रचण्ड हुँदैनन्, एउटा समयमा जनता, आन्दोलन र संघर्षले पैदा गर्ने हो ।’

क्रान्तिको बाटो बांगोटिंगो–टेडोमेडो हुन्छ । त्यो सीधा र सरल रेखामा हुँदैन । क्रान्ति असाध्यै महान् काम हो । त्यो एक–दुइको इच्छाले मात्रै पूरा हुने कुरा होइन । त्यसको आफ्नो नियम छ । समाज विकासका नियमजस्तै क्रान्तिको विकासका पनि आफ्ना केही सैद्धान्तिक मान्यता हुन्छ । केही मूलभूत नियमहरु हुन्छन्, त्यो अनुसार परिचालित हुन्छन् ।

नेपालमा पनि हामीले धेरै ठूलो संघर्षको संश्लेषण गरेर जनक्रान्ति अगाडि बढाउने संकल्प गर्यौं । नेपालको इतिहासको अध्ययन गर्यौं र एउटा संश्लेषण गर्यौं । अन्तर्राष्ट्रिय परिस्थितिको र विश्वभरिको कम्युनिस्ट आन्दोलनको पनि अध्ययन गर्यौं । एउटा निष्कर्ष निकाल्यौं ।

नेपाली समाजका विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदाय, आदिको इतिहास र संस्कृतिको अध्ययन गर्यौं । र, राष्ट्रिय एकताको नयाँ सूत्र हामीले निकाल्यौं अनिजनयुद्ध सुरु गर्यौं । १० वर्षको त्यो महान् जनयुद्धले नेपाली समाजमा निकै ठूलो तरंगसहित परिवर्तनको आधारशिला खडा गर्यो । त्यो त्यति सजिलै कसैको लहडमा भएको होइन । इतिहासको गहिरो अध्ययनबाट वैज्ञानिक निष्कर्षसहित सबै प्रतिभालाई केन्द्रित गर्दै अगाडि बढाइएको महान् विद्रोह थियो त्यो । 

नेपालको इतिहासमा पृथ्वीनारायण शाहले राज्य विस्तारको लागि गरेको लडाइँ भनौं र अहिले सामाजिक क्रान्तिका लागि जनयुद्धको रुपमा भएको विद्रोहमा सबैभन्दा बढी नेपाली जनताले त्याग र बलिदान गरे । लेनिन भन्नुहुन्थ्यो– क्रान्तिको सन्दर्भमा हामी अहिलेसम्म कसैले नचढेको उचाइ छुन चाहने, शिखरमा चढ्न चाहने, तर बीचमा कहीँ दायाँबायाँ गर्दैगर्दिनँ, विश्राम पनि लिँदैलिन्नँ, चौताराहरुमा विश्राम लिन्न भन्यो भने त्यसले त्यो शिखर छुन सक्दैन । जसले त्यसरी सोच्न खोज्छ तिनको स्थिति वास्तवमा नाजुक भएर जान्छ । हामीले देख्यौं, हामीले हेर्दाहेर्दै थुप्रै देशका क्रान्तिहरु प्रतिक्रान्तिमा बदलिए । क्रान्ति पूरा गर्दागर्दै पूरै विध्वंस भएका अनुभव पनि हामीले गर्यौं । 

नेपाली क्रान्तिले फेरि खराब नियति भोग्न नपरोस् । नेपाली क्रान्ति फेरि क्रान्ति गर्छु भन्दाभन्दै क्षतविक्षत हुने, त्यसले कुनै राजनीतिक परिवर्तन पनि ल्याउन नसक्ने, समाज र जनताका पक्षमा केही काम पनि गर्न नसक्ने गरी ध्वस्त हुन नपरोस् भनेर सबैभन्दा बढी चिन्ता क्रान्तिका विचार निर्माण गर्ने, क्रान्तिको नेतृत्व गर्ने, त्यसको कमान्ड गर्ने व्यक्तिलाई हुन्छ । त्यो पार्टीका सदस्यहरुलाई बढी हुन्छ । ती सदस्यहरुमध्ये पनि केन्द्रीय नेताको रुपमा जसले भूमिका खेलेको हुन्छ, सारा जनयुद्धको तयारीदेखि शान्ति प्रक्रियासम्म जसरी लिएर आएको हुन्छ, उनीहरुलाई नै बढी जिम्मेवारीबोध हुन्छ । 



कतिबेला अगाडि जानुपर्ने हो, कतिबेला पछाडि हट्नुपर्ने हो, कतिबेला दायाँतिर फर्कनुपर्ने हो, कतिबेला बायाँतिर । त्यो ज्ञान नभएको भए, त्यो क्षमता नभएको भए जनयुद्ध यहाँसम्म उपलब्धिसहित आउन सम्भव नै थिएन । हामीले युद्धको बेलामा पनि त सधैं एकैखाले आक्रमण गरेका त होइनौं । कहिले रक्षात्मक लडाइँ, कहिले आक्रामक त कहिले एम्बुस कहिले के भन्याजस्तै, अहिलेको राजनीतिक लडाइँ पनि त्यसरी नै दायाँबायाँ गर्दै अगाडि बढेको छ । 

आज जुन रुपमा तपाईंहरु यहाँ आउनुभएको छ, म खुसी छु । तपाईंहरुले बिलकुल सही निर्णय गर्नुभएको छ । र, तपाईंहरु मूलधार र मूलघरमै फर्कनुभएको छ । मैले सधैं भन्ने गरेको छु, आज म अलि बढी जोड दिएर भन्न चाहन्छु– विहान घरबाट निस्कँदा केही कुरामा अभिभावकसँग विवाद परेर छोराछोरी हिँडे भने दिनभरि आमा–बाबुलाई घर छोडेर गएको छोराछोरीबारे नै चिन्ता हुन्छ । किन गएको होला ? आओस्, छिटो आओस् भन्ने दिनभरि लागिरहन्छ । बेलुका टुप्लुक्क छोराछोरी आइपुग्यो भने आमा–बाबुलाई सबैभन्दा बढी खुसी लाग्छ । र, यो कुरा अहिले उखानजस्तै बनेको छ फर्किएर आउनेको हकमा । तपाईंहरु घरमा आउनुभएको छ, म खुसी छु । अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादीहरुले, प्रतिक्रान्तिकारी, षड्यन्त्रकारी दलालहरुले माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षड्यन्त्रमा त्यसरी नै लागेका छन्, जसरी हिजो लागेका थिए । 



अहिले पनि पार्टी त विभाजन भयो, थुप्र गुट बने, अहिले पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने, प्रचण्ड नसिद्धिँदासम्म माओवादी आन्दोलन सिद्धिने भएन भन्ने ठानेर घेराबन्दी भइरहेका छन् । सम्पूर्ण युवा कमरेड, तपाईंहरुले बुलेटप्रुफ ज्याकेट भएर आउने कुरा गर्नुभयो, म तपाईंहरुलाई धन्यवाद पनि भन्न चाहन्छु, साँच्चै यो चाहिएकै छ । प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रो आन्दोलनको उपलब्धि उल्ट्याउने सन्दर्भमा तारो, केन्द्रित रुपमा माओवादी आन्दोलन र त्यसको नेताको रुपमा प्रचण्डलाई नसिध्याई हुँदो रहेनछ भन्ने सोचेका छन् । 

अब किरणको अर्को पार्टी बन्यो चल्ने कुरा भएन । विप्लवको अर्को बन्यो, तपाईंहरु नै भुक्तभोगी भएर आउनुभएको छ । त्यो सफल हुने कुरा भएन, त्यो त्यति सहज भएन । कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । 

फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन । नेपाली जनताले जन्माएको, तपाईं–हामी सबै लडेर निर्माण गरेको हो नि, प्रचण्ड । व्यक्ति होइन प्रचण्ड । फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन् । थुपै्र माक्र्स हुने, थुप्रै लेनिन हुने हुँदैन । एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो । आन्दोलनले, संघर्षले, बलिदानले पैदा गर्ने हो । सही विचारले पैदा गर्ने हो । सही निर्णयले पैदा गर्ने हो । त्यो पैदा गरेको कुरालाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीले त्यसलाई सिध्याउन खोज्छन्, जनताले त्यसलाई बचाउन खोज्छन् ।

आज तपाईंहरु आउनुभएको छ, क्रान्तिको रक्षाको निम्ति, क्रान्तिको उपलब्धिको रक्षाको निम्ति, माओवादी आन्दोलनको रक्षाको निम्ति र त्यसको नेताको हैसियतले प्रचण्डको रक्षाको निम्ति आउनुभएको छ । म हृदयदेखि तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु । बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । 

म यो मञ्चबाट ढिलो–छिटो विप्लवजी पनि यसरी नै आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु । अब अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले, अझै अध्ययन–अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ । कुनै रोमान्स जस्तो गरी लान सकिँदैन । मलाई विश्वास छ, अहिले कुराकानी पनि चलिराखेको छ ।

किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ । अझ धेरै टाढासम्म जानु छ । त्यो यात्रा हामी सबैले हातेमालो गरेर मात्र पार गर्न सकिन्छ । एक्लै पार गर्छु भन्यो भने त्यसको नियति क्षतविक्षत हुनबाहेक अर्को हुँदैन । त्यसकारण तपाईंहरुले आज पार्टीमा एकीकृत भएर, ध्रुवीकृत भएर, क्रान्तिलाई मद्दत गर्नुभएकै छ । अरु बाँकी कमरेडहरुलाई एकताबद्ध हुने बलियो सन्देश तपाईंहरुले देशभित्र र बाहिर दिनुभएको छ । त्यसअर्थमा तपाईंहरु बधाईको पात्र हुनुुहुन्छ । म छिटै अरु साथीहरु, विप्लवजीहरुले पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने दिनको प्रतीक्षामा छु । 

(विप्लव  नेकपा परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश कार्यक्रममा प्रचण्डले राखेको विचार ।) 
 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १२:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया