यी २४ अस्पतालमा लगाइनेछ फाइजर–बायोएनटेक खोप

सरकारले कोरोनाविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । 

यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरूमा उपलब्ध हुनेछ । खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिलाई लगाइनेछ । 

खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । यो खोप १२ वर्षभन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए । उनले यो खोप १२ वर्ष माथिका दीर्घरोगीलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए । प्रशासक दाहालले १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिइने बताए ।

‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसंख्यालाई दिन मिल्ने भएकोले १२–१७ वर्षका व्यक्तिहरुलाई खोप दिइन्छ, यसको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म तोकिएका दीर्घरोगीका लागि र खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखि १२–१७ उमेर समूहका व्यक्तिलाई लगाइनेछ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले भने, ‘खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइनेछ, खोप सेवा बिहान १० देखि ४ बजेसम्म दिइन्छ ।’

यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डाइलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि सेवन गरिरहेकालगायत व्यक्तिलाई लगाइने उनले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस खोपको माग धेरै भए पनि दीर्घरोगीहरूलाई नै दिइने बताए । उनले नेपालमा पनि अल्ट्रा पोल्ट खोप सञ्चालन गर्न सकिन्छ भनेर देखाउने अवसर भएको बताए ।



‘डिमाण्ड जति भए पनि दीर्घरोगीलाई नै दिइन्छ, हामीले अल्ट्रा पोल्ट नभएर मात्रै नेपालमा चलाउन नसकेको हो, हामीलाई हाम्रो प्रणालीले यो खोप पनि चलाउन सक्छ भनेर देखाउने परिक्षण हो यो हाम्रो प्रणाली र सिस्टमको,’ उनले भने । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोनाविरुद्धको खोप लगाएपछि मानिस एक किसिमले कवचधारी बन्ने बताए । उनले कोरोना भाइरसको जोखिम कायमै रहेकोले मास्क, सामाजिक दूरी र सरसफाइलाई ध्यान दिन आवश्यक रहेको पनि बताए । 



‘फस्ट डोज ५० प्रतिशत टार्गेटमा राखेर गरिरहेका छौँ, सबैभन्दा एक्टिभ जति पपुलेशन छ, उहाँहरु एक किसिमले कवचधारी हुनुहुनेछ खोप लगाइसकेपछि, मास्क लगाउनुपर्छ, सरसफाइ गर्नुपर्छ, दूरी मेन्टेन गर्नुपर्छ, बालबालिका र वृद्धवृद्धाहरू जो हुनुहुन्छ,’ महानिर्देशक सिंहले भने । 

सरकारले सञ्चालन गर्न लागेको कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान वीर अस्पताल, श्री वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, मेची प्रादेशिक अस्पताल, बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी प्रादेशिक अस्पताल, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जनकपुर प्रादेशीक अस्पताल, बि.पी. कोइराला स्मृति क्यान्सर​ अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा सञ्चालन हुनेछ । 

खोप दीर्घरोग भएको तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । यो खोप कोरोनाविरुद्धको अन्य खोप लगाएको, १२ वर्षभन्दा कम उमेरको, पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरूले लगाउन नहुने महाशाखाले जनाएको छ ।   

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १५:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया